काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी रहनेछन् ।

रास्वपा प्रवक्ता मनिष झा का अनुसार लामिछानेले जेठ १८ देखि २२ गतेसम्म (जुन १ देखि ५ तारिख) भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नयाँदिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुने जनाइएको छ ।

भ्रमणका क्रममा उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । त्यसपछि अयोध्या को भ्रमणसमेत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास ले समन्वय गरिरहेको पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार यस भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति रवि लामिछाने भारत जान लागेका हुन् ।