काठमाडौं —सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहनासहित व्यापारी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ स्थित राजाचोक नजिक रहेको ‘शिव ईम्पोरिय’ पसलबाट अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार अग्रवालबाट नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्न प्रयोग हुने मेसिन एक थान तथा विभिन्न प्रकारका सुनचाँदीका गरगहना बरामद गरिएको छ ।

प्रहरीले १८५ थान बट्टा, पोका तथा डिब्बामा राखिएका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।