रुपन्देही—गुल्मीको इस्मा गाउँपालिका–५ का ४१ वर्षीय यामबहादुर कुमालले केही वर्षको अन्तरालमा आफ्ना दुई श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। यस घटनापछि उनका चार जना सन्तानको भविष्य अन्योलमा परेको छ।
प्रहरीका अनुसार यामबहादुरले यसअघि पहिलो श्रीमतीको हत्या गरेका थिए। उक्त घटनामा जेल सजाय भोगिरहेका उनी संविधान दिवसको अवसरमा कैदमिनाह पाएर रिहा भएका थिए। तर रिहा भएको केही समयपछि उनले दोस्रो श्रीमती ३७ वर्षीया मुना कुमालको पनि हत्या गरेका छन्।
पहिलो श्रीमतीतर्फ दुई छोरी र एक छोरा तथा दोस्रो श्रीमतीतर्फ एक छोरा गरी उनका चार सन्तान छन्। दुवै आमाको हत्या भइसकेको र बुवा पुनः जेल जाने भएपछि बालबालिकाको भविष्यप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
वडा नम्बर ५ का अध्यक्ष झविन्द्र अर्यालका अनुसार मंगलबार दिउँसोदेखि नै यामबहादुरले श्रीमतीमाथि कुटपिट गरेको जानकारी स्थानीयले दिएका थिए। राति पुनः कुटपिट गरी हत्या गरेपछि शव छिमेकीको घर पछाडि फालिएको अवस्थामा बुधबार बिहान फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मी का अनुसार मादक पदार्थ सेवन गरेका यामबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा मुना कुमाल गम्भीर घाइते भएकी थिइन्। प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि यामबहादुरलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घले को नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यामबहादुरले पहिलो श्रीमतीको हत्या गरेर जेल सजाय भोगिसकेका थिए। कैदमिनाहपछि छुटेका उनले पुनः आफ्नै दोस्रो श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
स्थानीयका अनुसार हत्या गरेपछि उनले श्रीमतीको शव छिमेकी भोजराज भण्डारीको घर पछाडिको कुर्सुलोमा फालेर घटनालाई लुकाउने प्रयास गरेका थिए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।



















