काठमाडौं—आत्मदाहको प्रयास गरेका व्यवसायी तथा राउत क्षेत्री सेवा समाजका अध्यक्ष अश्विनकुमार राउतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ। घटनापछि उनलाई उपचारका लागि महाबौद्धस्थित ट्रमा सेन्टरमा लगिएकोमा हाल उनको आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ।
राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार, उनको अहिलेसम्म होस खुल्न सकेको छैन। स्वास्थ्य स्थिति निकै जटिल रहेकाले परिवारले थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाने माग गरिरहेको छ। तर, बिरामीको अवस्थालाई मध्यनजर गर्दा स्थानान्तरणमा उच्च जोखिम रहेको भन्दै चिकित्सकहरूले भारत लैजान अनुमति दिएका छैनन्।
केही समय अगाडि मात्रै नशासम्बन्धी समस्याको उपचार गराएर राउत भारतबाट फर्किएका थिए। उक्त उपचारपश्चात् उनी खुट्टा खोच्याउँदै हिँड्ने गरेको बुझिएको छ।
यसैबीच, पारिवारिक विवादका कारण उनले आत्मदाहको बाटो रोजेको भन्ने बाहिर आएका हल्लाहरूलाई समाजका सचिव रोशन राउतले खण्डन गरेका छन्। उनले उक्त हल्लामा कुनै सत्यता नरहेको प्रस्ट पार्दै पारिवारिक कलहको कुरालाई अस्वीकार गरेका छन्। अहिले राउतको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरूको टोली प्रयासरत रहेको छ।




















