काठमाडौँ — नेकपा एमालेका सचिव महेश बस्नेतले प्रहरी प्रशासन निरंकुश बन्दै गएको भन्दै सरकार र प्रशासनको कडा आलोचना गरेका छन्। सुकुम्बासीहरूको पक्षमा बोल्दा 'जेन्जी' आन्दोलनका वास्तविक अभियन्ताहरू माजिद अन्सारी, सरिष्मा थापालगायतका युवाहरूलाई पक्राउ गरिएको र उनीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको घटनाप्रति उनले गम्भीर आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै सचिव बस्नेतले वर्तमान गृहमन्त्री सुधन गुरुङलाई 'जेन्जी' आन्दोलन हाइज्याक गरेर मन्त्री बनेको आरोप लगाएका छन्। लोकतन्त्रमा फरक विचार र आवाजलाई दमन गरेर नभई संवादको माध्यमबाट सम्बोधन गरिनुपर्ने भन्दै उनले पक्राउ परेका सबै युवाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले दोहोरो मापदण्ड लागू भएको भन्दै रोष प्रकट गरेका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लेखेका छन्, "बालेन र उनको टिमको पक्षमा बोल्दा सुविधा, अवसर र पुरस्कार। विरोध गर्दा आक्रमण र गिरफ्तारी, यही हो तिम्रो लोकतन्त्र ?"




















