इटहरी — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा र आसपासका क्षेत्रमा पुगेका सुनसरीका १५ जना अझै सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक रूपमा १९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये चार जना भने परिवार तथा आफन्तको सम्पर्कमा फर्किएका छन्।
प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सम्पर्कमा आएका व्यक्तिहरू रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण हुन्।
हालसम्म सम्पर्कविहीन रहनेमा दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्याम नारायण साह, कोशी गाउँपालिका–९ की मिना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११ का छवि केशर काफ्ले र मणि करण राई, इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दंगाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेश कुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ र रविना कुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का र मनमाया खड्का, तथा बराहक्षेत्र नगरपालिका–४ का मोहन माझी रहेका छन्।
प्रहरीका अनुसार उनीहरू रसुवा, त्रिशूली जलविद्युत आयोजना, गोसाइँकुण्डलगायत क्षेत्रमा कामका सिलसिलामा पुगेका बेला बुधबार आएको बाढीपछि परिवारसँग सम्पर्कविहीन भएका हुन्।
प्रहरीले सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य सम्बन्धित निकायसँग समन्वय गरेर जारी रहेको जनाएको छ।


