नुवाकोट — बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार उक्त घरभित्रबाट २४ शव निकालिएको हो। घटनास्थलमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले शवको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

एसपी रेग्मीले घर कसको हो र किन एउटै घरमा यति धेरै शव भेटिए भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। प्रारम्भिक रूपमा उक्त भवन होटल वा गेस्ट हाउसजस्तो देखिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले बताए।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा खोजी, उद्धार तथा शव व्यवस्थापनमा खटिएका छन्।