काठमाडौं—रगतको नाता साँच्चिकै अनौठो हुँदो रहेछ। दशकौँसम्म साथीका रूपमा रहेका नेदरल्यान्ड्सका दुई महिलाले डीएनए परीक्षणपछि आफूहरू साख्खै दिदी–बहिनी भएको पत्ता लगाएका छन्।
मुम्बईमा जन्मिएका ४३ वर्षीया मिना गेल्टिङ्क र ४४ वर्षीया मिनल तिजेन सन् १९८० को दशकको सुरुतिर फरक–फरक अनाथालयबाट धर्मपुत्रीका रूपमा नेदरल्यान्ड्स पुगेका थिए। किशोरी अवस्थामा पहिलोपटक भेट्दा नै उनीहरूको अनुहार, नाक र हाँसोमा अनौठो समानता देखिएको थियो।
समयसँगै उनीहरूबीच गहिरो मित्रता बने पनि पछि सम्पर्क टुट्यो। सन् २०१७ मा मिना आफ्नो जैविक परिवार खोज्ने क्रममा डीएनए परीक्षणमा गइन्, तर त्यतिबेला कुनै मिलान भेटिएन।
तर यसै वर्ष मिनलले डीएनए परीक्षण गराएर नतिजा मिनालाई पठाएपछि वर्षौँ पुरानो रहस्य खुल्यो—उनीहरू एउटै आमाबुबाका सन्तान रहेछन्।
अगस्टमा भएको पुनर्मिलनलाई दुवैले ‘घर फर्किएको’ अनुभूति भएको बताएका छन्। अहिले उनीहरू एकअर्काको परिवारसँग घुलमिल भइरहेका छन्।
अब उनीहरूको एउटै सपना छ—सँगै मुम्बई पुगेर आफ्नो जन्मभूमि र जैविक परिवारको जरा खोज्ने।


