सुनसरी, १५ मंसिर । सुनसरीमा एम्बुलेन्स र ट्रक जुध्दा ६ जनाले ज्यान गुमाएका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च १३६४ एम्बुलेन्स र वीरगञ्जबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२  नम्बरको ट्रक आपसमा जुध्दा एम्बुलेन्समा रहेको ६ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

एम्बुलेन्समा अस्पतालबाट ल्याइएको एक शव पनि थियो । उक्त शवसहित एम्बुलेन्समा सात जना सवार थिए । जसमा जीवित ६ जनाकै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माकाअनुसार एम्बुलेन्समा एक महिला (शिवमाया राई) र ६ पुरुष सवार थिए ।

उनका अनुसार मृत्यु हुनेमा ३४ वर्षका दुर्गधन राई, वर्ष २८ का टेकेन्द्र राई, ५० वर्षीय सतलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राई छन् । उनीहरु सबै एम्बुलेन्समा सवार थिए ।

अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो । ट्रक चालक भने फरार छन् । तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताएका छन् ।