मिना अ‌ाचार्य

काठमाडौं । सरकारले अहिले सुशासनका लागि विशेष कदम चाल्दै आएको छ । सुशासन कायम हुन सकेमात्र मुलुक विकासको बाटोमा जाने भएकाले पनि सरकारले यसमा ध्यान दिएकाे बताइरहेकाे छ ।

सरकारको यो काम सकारात्मक दिशामा गएकाे देखिएको छ,  ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) को प्रतिवेदनले ।

टीआईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार घटेको देखिएको छ । टीआईको पछिल्लो एक दशकको आँकडा तुलना गर्दा यो वर्ष नेपालमा सबैभन्दा कम भ्रष्टाचार भएको उल्लेख छ । 

टीआईले १ सय ८० मुलुकमा हुने भ्रष्टाचारको आधारमा वरियता निर्धारण गर्ने गरेको छ । वरियताकाे सबैभन्दा अगाडि रहेको मुलुकमा कम भ्रष्टाचार हुने र सबैभन्दा पछि रहेका मुलुक बढी भ्रष्टाचार हुने बुझिन्छ । 

सन् २००९ मा नेपाल १ सय ४३ औं स्थानमा थियो । सो स्थानबाट खस्किएकाे नेपाल नेपालमा सन् २०११ मा  नेपाल १ सय ५४ औं स्थानमा पुग्याे । तर, यो वर्ष नेपाल १ सय १३ औं स्थानमा आइपुगेको छ । यो वर्ष भने नेपालमा दशककै कम भ्रष्टाचार भएको टीआईको प्रतिवेदनले देखाएको छ । 

टीआईले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का लागि विभिन्‍न स्रोत, व्यवसायिक व्यक्ति र विशेषज्ञबाट सूचना लिने गरेको छ । यसरी लिइने सूचनाले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको स्तर मापन हुन्छ ।

सीपीआईका लागि टीआईले राजनीति, पैसा र भ्रष्टाचारको सम्बन्धलाई मापन गर्ने गरेको छ । अवैधानिक पैसाको प्रवाह राजनीतिमा भएमा यसले सार्वजनिक नीतिलाई प्रभाव पार्छ । यस्ता पैसाको प्रभावलाई नियन्त्रण गर्ने देशमा सार्वजनिक हितमा नीति बन्‍ने टीआईको निष्कर्ष छ ।  

अहिले नेपालमा भ्रष्टाचार घट्नुमा सरकारी नीति नै प्रमुख रहेको छ । विशेषगरी आर्थिक अनियमितता कम गर्न चालिएका सरकारी कदमले नै भ्रष्टाचार घटेको हो ।  

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीका अनुसार भ्रष्टाचारविरुद्ध पछिल्लो समय बढेको क्रियाशीलताले भ्रष्टाचार घट्न सहयोग गरेको छ । सार्वजिनक शक्तिकाे दुरुपयाेगबाट व्यक्तिगत फाइदा लिने विरुद्धकाे कामले नै नेपालमा भ्रष्टाचार घटेकाे हाे । उनले भने– ‘प्रशासनिक तहमा हुने भ्रष्टाचारमा कमी देखिएको छ । जसको प्रभाव सूचकांकमा परेको हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, नेपाली सेनाले आर्थिक पारदर्शितामा गरेको कामको प्रभाव टीआईको प्रतिवेदनमा प्रतिबिम्बित भएको रेग्मीले बताए ।

उनले भने – ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । सर्वोच्च अदालतको काममा पनि सुधार आएको छ ।’ 

सर्वोच्च अदालतले पछिल्लो समय जारी गरेको निर्णयले भ्रष्टाचार कम गर्न मद्दत गरेको छ । विशेषगरी सर्वोच्चले एनसेललाई २७ अर्ब लाभकर तिर्न लगाउनु, नक्कली भ्याट बिल प्रयोग गरेर अर्बौं भ्रष्टचार गर्नेलाई कानुनी कारबाही गर्नुले भ्रष्टाचारको गतिविधि नियन्त्रण गर्न साथ दिएको हो । 

त्यस्तै, नेपाली सेनाले आर्थिक पारदर्शितामा ध्यान दिन सुरु गर्नु पनि नेपालमा भ्रष्टाचार घट्नुको कारण भएको रेग्मीले बताए । सेनाका नयाँ प्रधानसेनापतिको भूमिका यसमा महत्वपूर्ण देखिएको छ । उनले भने– ‘नेपाली सेनामा हुने गलत काम सुधार हुन थालेको छ । सेना भर्ना गर्दा हुने चलखेलमा केही हदसम्म नियन्त्रण भएको छ । सेना भर्नामा हुने आर्थिक अनियमितता कम हुन थालेको छ ।’ 

यस्तै प्रधानसेनापतिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । यसले अन्यलाई पनि नैतिक दबाब परेको छ । यसले सेनामा हुने आर्थिक अनियमित कम गर्न सहयोग गरेको उनले बताए । 

नेपालमा भ्रष्टाचार हुनुको अर्को कारण हो, सुशासन । लोकतान्त्रिक अभ्यास भएका मुलुकमा सुशासनको अवस्था कस्तो छ भन्‍नेबाट मूल्याङ्कन गरिन्छ । उनले भने– ‘नेपालमा सुशासनमा सुधार हुँदै आएको छ ।’ 

नेपालको सुधार प्रशंसायोग्य भएपनि नीतिगत भ्रष्टाचारमा सुधार आउन सके नेपालले यो वरियतामा अझै उक्लने सक्ने रेग्मीको भनाइ छ ।  तर, दशकौं देखि मौलाएको भ्रष्टाचार यो वर्ष देखि सुधार हुनु राम्रो संकेत भएको बताइएको छ । 

अहिले डेनमार्क, न्युजिल्याण्ड र फिनल्याण्ड विश्वकै कम भ्रष्टाचार हुने मुलुक बनेको छ । त्यहाँ पनि भ्रष्टाचार भने हुने गरेको टीआईले जनाएको छ । डेनमार्कले १ सय पूर्णाङ्कमा ८७ अंक ल्याएको छ । 

तर, ती मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि चालिएका कदम अन्य देशको तुलनामा बढी प्रभावकारी छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणको कामले सकारात्मक बाटो लिएको छ । यसले निरन्तरता पाउन सकेमा नेपालले छिट्टै नै टीआईको ‘रेड जोन’ बाट बाहिरिने विश्लेषण भइरहेको छ । सनराइज खबरबाट