काठमाडाैँ/प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अबैध कल बाईपासमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-३ स्थित काटा गाउँमा भारतीय नागरिकले अबैधरुपमा सञ्चालन गरेकाे अन्तर्राष्ट्रिय कल बाईपासमा छापा मारेर स्थानीय मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतकाे महराजगन्ज नौतनवा सोनौली ग्राम घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गरेकाे छ।
उनकाे साथबाट कल बाईपास गर्न प्रयाेग गरिएका विभिन्न सामानहरुसमेत बरामद गरिएकाे छ।
बरामद सामानहरुमा एसीसीईआर लेखिएको ल्यापटप थान-१, एसीसीईआर ल्यापटपको चार्जर थान-१, जेएससी लेखिएको एरियल थान- ३२, राउटर थान-१, एयरटेल ४ जी लेखिएको डिभाईस थान -२, टीपी लिंक लेखिएको थान -१, यूपीएस थान -१,चार्जर थान -२, तेह्र वटा सिम फिट भएको सोह्र सिम पोट थान -१, सिम नभएको सोह्र सिम पोट थान -१, केबल तार थान-२ रहेका छन्।
यस्तै, सिम मध्य आईडीया कम्पनीको समीर लेखिएको सिम थान ४, सोहि कम्पनीको अकरम लेखिएको सिम थान ५, सोहि कम्पनीको साही लेखिएको सिम थान २ र सोहि कम्पनीको निरज लेखिएको सिम थान २ गरी जम्मा सिम फेला परेको थान- १३ थान फेला परेकाे छ।
आरोपितको जिउ तलाशी लिँदा लाभा कम्पनीको सादा सेट थान १ र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम थान १ समेत फेला परेको प्रहरीले जनाएकाे छ।
अवैध कल बाईपास बिरुद्द ब्यूरो स्थापनकालदेखि हालसम्म १०८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३७ गरी १६७ जनालाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएकाे छ। पक्राउ परेकाहरु बिरुद्ध रु.११ अर्ब ९१ कराेड १लाख १६ हजार १६३रुपैयाँ ६५ पैसा बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ।




















