भूमिप्रसाद पाठक,
पथरी, २२बैसाख । पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे नगरपालिका, मोरङले संघआबद्ध कोरोना पीडित उद्योगी, व्यापारी–व्यावसायी लक्षित बिना कुनै ब्याज रूपैयाँ १० हजारसम्म ऋणसापटी रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

विभिन्न कारणले लक डाउनको असर हामी सबैलाई परेको छ । लक डाउन खुलेपछि बजार कारोबारको अवस्था सहज भएसँगै तिरोभरो र फरफरार हुने गरि हामीले यो निर्णय गरेका हौं । उद्योग वाणिज्य संघको व्यानरमा उठ्ने विषयवस्तुमध्ये सम्भवः यो पहिलो निर्णय हो, जो हामीले कार्यान्वयन गर्न थालेका छौं ।
२०७७ बैसाख २२ गते सोमबार बसेको पथरी उद्योग वाणिज्य संघको सचिवालय बैठकले यस्तो निर्णय सार्वजनिक गर्दै संघका वरिष्ठ उपाध्यक्ष विजय डाँगीले यो कुरा बताउनुभयो ।
संघका अध्यक्ष दीपक बस्नेत र महासचिव अशोककुमार राई हस्ताक्षरित विज्ञप्तिमार्फत बैठकले आफ्नो कार्यक्षेत्रभित्र कोरोनाको कुनै पनि असर अहिलेसम्म देखा नपरेको अवस्थालाई सुखद् पक्षको रूपमा लिएको र यस क्षेत्रभित्र रहनुहुने सम्पूर्ण उद्योगी, व्यापारी–व्यवसायी वर्गले अहिलेसम्म कुनै अनियमितता नगरी सरकार, प्रशासन र पथरी उद्योग वाणिज्य संघको आह्वानमा आर्थिक, भौतिक र नैतिक हिसावले समेत सहयोग गर्नुहुने महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरेको विषय विज्ञप्तिमा उल्लेख भएको छ ।
सम्पूर्ण उद्योग–व्यवसाय, कलकारखाना र पेशा आवद्ध दैनिक ज्यालादारीमा छाकबास र घरगुजारा चलाउने मजदुरहरूको जीवनमा प्रत्यक्ष पारेको असरप्रति गम्भीर चासो व्यक्त गर्दै यसलाई यथोचित् सम्बोधन गर्न सम्पन्न बैठकले ‘कोरोना भाइरस जोखिम न्युनीकरण एवं आपतकालीन व्यापारिक सहयोग समिति’ निर्माण गरेको र यस मातहत रहने सहयोग कोषबाट संघमा आवद्ध व्यापारी–व्यवसायी लक्षित ऋणसापटी सहयोगस्वरुप रूपैयाँ १० हजारसम्म रकम उपलब्ध गराउने निर्णय भएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
महासचिव अशोककुमार राईको स्रयोजकत्वमा बनेको यो समितिमा राजेन्द्र बस्नेत, खेमनाथ ढुङ्गेल, मोहनकुमार श्रेष्ठ र जयनारायण अधिकारी हुनुहुन्छ ।
उक्त सहयोग–कोषमा उवासंघ रूपैयाँ १ लाख १ हजार, मोरङ व्यापार संघ रूपैयाँ ३५ हजार, जयनारायण अधिकारी रूपैयाँ २१ हजार, राजेन्द्र बस्नेत रूपैयाँ ११ हजार, प्रदीप फुयाँल रूपैयाँ ५ हजार बैठक कक्षमै जम्मा भएको छ ।
बैठकको यो निर्णयले संघको कार्यक्षेत्र बिस्तार र व्यापक हुने विश्वास व्यक्त गर्नुहुँदै उपाध्यक्ष यादवचन्द्र दुलाल भन्नुहुन्छ– वास्तवमा अभाव सबैखाले मानिसमा थोपरिन लागेको थियो । यो ऋणसापट सहयोगले पनि केही हदसम्म मल्हमपट्टिको काम गर्ने छ । हामी उद्योगी, व्यापारी–व्यवसायी नेतृत्वले गर्ने काम बल्ल चाहिँ गरेका छौं ।
समाजको एउटा सचेत, जिम्मेवार र अगुवा नागरिकका हैसियतले सबैले आ–आफ्नो ठाउँबाट यथासक्य सहयोग पुर्याइदिनुहुन अपील गर्दै विज्ञप्तिमा भनिएको छ– कोरोना भाइरस संक्रमणको असरलाई नियन्त्रणमा लिन अवलम्बन गरिएको लक डाउनले आम नागरिक मात्र होइन, सिंगो मुलुकको अर्थतन्त्र धरासायी हुनसक्ने खतरा बढेको छ ।
विद्यमान समयको यो जटिल परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले लागू गरेको निर्देशन एवम् सूचनाका विषयवस्तुलाई पूर्ण रूपमा कार्यान्वयन र पालना गरिएको छ ।
यहि सन्दर्भमा वित्तीय क्षेत्रमा भएको ऋणको कारोबारमा समेत नेपाल सरकारको विशेष ध्यान जान वाञ्छनीय हुँदाहुँदै पनि मुलुकको यो विषम परिस्थितिमा खासगरी भाडामा बस्ने पेशाकर्मी, श्रमजीवी र व्यवसायीहरू र निज आश्रित घरपरिवारलाई घरबहाल शुल्कमा स्वेच्छिक रूपमा छुट गरिदिनुहुन र बैंक तथा बित्तीय क्षेत्रले लिने ब्याज तथा किस्तालाई सरकारले गरेको निर्णयानुसार अनिवार्य कार्यान्वयनमा ल्याइदिनुहुन अनुरोधको विषय आफैमा थप सहयोग हुने छ ।


