ताप्लेजुङ, २४ साउन । दाजुको छोरी आफ्नै छोरी सरह हुन् । तर, ताप्लेजुङका एक व्यक्तिले छोरी सरहकी भतिजीसँग लामो समय अनैतिक सम्बन्ध मात्र बनाएनन्, आफ्नो कुकर्म लुकाउन दाजुको समेत हत्या गरेका छन् ।

भतिजीसँगको अनैतिक सम्बन्ध खुल्ने डरले उनले दाजुको हत्या गरेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेका हुन् । पेम्बालाक्पाले भतिजी पाशाङ ल्हामुसँग मिलेर दाजुको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

दुवैलाई साउन १९ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । घरबाट ६ घण्टा टाढा रहेको गाइगोठमा बस्दै आएका फुर्वाग्यावेलाई साउन ८ गते हत्या गरेको खुलेको श्रेष्ठले बताएका छन् ।

‘मृतकको भाइ र भतिजीबीच पहिलेदेखि अवैध सम्बन्ध पाइयो’ श्रेष्ठले भने, ‘सोहि विषयमा विवाद हुँदा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेर गोठको अगेनामाथि राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आगो लगाएको अभियुक्तले स्वीकारेका छन् ।’

मृतक फुर्वाग्यावे साउन ८ गते रासन लिएर घरबाट गोठ गएका थिए । साउन १२ गते उनका काइली बुहारी थप रासन लिएर गोठमा पुगेर हेर्दा मृत अवस्थामा देखेपछि वडाध्यक्ष जयबहादुर खड्कालाई खबर गरेका थिइन् । खड्काले प्रहरीमा खबर गरेपछि प्रहरी निरीक्षक मोहन पोख्रेलको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।

दाजुभाइको गोठ पाँच सय मिटरको दूरीमा पर्छ । तीनै जना गोठमा बस्ने गरेको र उक्त क्षेत्रमा अन्य कुनै गोठरबस्ती नरहेको तथा अन्य व्यक्तिसमेत त्यहाँ नगएको खुलेपछि साउन १९ गते पेम्बालाक्पा र पाशाङल्हामु प्रक्राउ परेका थिए ।