सिन्धुपाल्चोक, ३२ साउन । खेती–किसानी र गोठालो जाने लेकका बासिन्दा बिहान चार बजे नै उठिसक्छन् । तर, अघिल्लो दिन गोठ पुगेर आएका निराज दोङ थकित थिए, चाँडो उठ्न सकेनन् ।

घामको झुल्को आँगनमा परेको थियो, तर उनी मस्त निद्रामा थिए । अचानक गड्याङगुडुङको आवाज आयो, झसंग ब्युँझिए । एकछिनमा गाउँ नै छोप्ने ठूलो पहिरो आयो । पहिरो सपना हो कि विपना एकछिन त उनी अलमलमै परे ।

अघिल्लो दिन बेलुका मात्रै भेटघाट गरेका गाउँले र बस्तीको तस्बिर निराजको आँखाअगाडि घुम्न थाल्यो । रिँगटा लाग्यो, पिँढीमै लडे उनी । तर, फेरि जुरुक्क उठे । अनि हतारहतार परिवारका सदस्य लिएर ज्यान बचाउन भागे ।

‘पहिरोले गाउँ सबै छोपेको थाहा पाएपछि घर परिवारलाई हतारहतार बाहिर निकालेर डाँडातर्फ भागें । गाउँमा छिनभरमै रुवाबासी चल्यो । छिमेकी सबै भाग्न थाले,’ पहिरो जाँदाको परिदृष्य निराजले सुनाए । उनका अनुसार पहिरो धेरैबेरसम्म गइरह्यो । गाउँमा रुवाबासी चलिरह्यो । घर पुरिए ।

बुढाबुढी, महिला, बालबालिका पहिरोमै बगे । भागेकाहरूले सबै दृष्य चलचित्रमा जस्तो हेरिरहे । गत वर्षको पहिरो पचाएका गाउँलेले यसपालि केही गर्न सकेनन् । हार खाए । ‘लिदीवासीको पीडाको बयान म कसरी गरौं ? यहाँभन्दा पीडा र दुःख कसैलाई पर्दैन होला,’ जुगल गाउँपालिका– २ का वडाध्यक्ष प्रताप लामाले भने ।

बिहान सबेरैको घटना भएकाले गोठबाट गाउँ झर्नेहरू जंगलमै रोकिए । गोठबाट घर आउँदै गरेका केही पहिरोमा परेको निराजले सुनाए । घरको छेउमा पहिरो आएर बसेकोले कान्छी दोङ बिहानै गाउँ छोडेर स्कुलडाँडातर्फ भागेकी थिइन् । तर, पहिरो जाँदाको अवस्था उनले सबै देखिन् ।

‘सम्झँदा मुटु काँप्छ,’ उनले भनिन्, ‘भयानक पहिरो आयो । सबै उजाड बनाई दियो ।’ घर–परिवार मात्रै होइन पहिरोले गाउँलाई नै उजाड बनाई दियो । ‘सुन्दर गाउँ डरलाग्दो बनेको छ,’ २५ वर्षीया कान्छी दोङले भनिन् ।

सातकन्या आधारभूत विद्यालयमा कक्षा २ मा पढ्ने नौ वर्षीया बालिका नानु दोङ पहिरोको आवाजले यसरी तर्सिइन्, अझै बेहोस जस्तै छिन् । ‘गाउँका बालबच्चा सबै तर्सिएका छन्, निकै डराएका छन् । बा–आमालाई बालबच्चालाई सम्झाउनै कठिन भएको छ,’ गाउँले सुनाउँछन् ।

उद्धारका लागि वारि गाउँबाट पहिरोस्थल पुगेका नेकपा नेता गोल्चेनिवासी रेशम स्याङ्बो लिदीको अवस्था देखेर आत्तिए । ‘लिदी गाउँ अब बस्नलायक रहेन,’ उनले भने, ‘गाउँको दर्दनाक अवस्था म व्याख्या गर्न सक्दिनँ । गाउँमा डर–त्रास छ । महिला र बालबालिकाको मनोविज्ञानमा असर गरेको छ । अब लिदीलाई पुरानै ठाउँमा फर्काउन सकिन्न ।’

हिमाली गाउँपालिका जुगलको दुर्गम बस्ती हो– लिदी । जहाँ शुक्रबारको भीषण पहिरोले ठूलो जनधनको क्षति गर्‍यो । गाउँ जोखिममा छ भन्ने पहिला नै थाहा थियो । तर, सुतेको राज्यलाई गुहार्दागुदार्दै गाउँले अकल्पनीय क्षति भोग्यो । मानवीय क्षति रोक्न स्थानीयले गरेको प्रयास असफल भयो । परिणाम– लेकाली खर्कमा मिहिनेत गरेर जीवन गुजार्दै आएका गोठाला र किसानको जीवन तहसनहस भयो ।

‘जिल्लाका सबै निकायलाई जानकारी गराइयो । कसैले सुनेनन् । आखिर दुर्दशा निम्तिएरै छाड्यो,’ वडाध्यक्ष प्रताप लामाले भने । उनका अनुसार बस्ती स्थानान्तरण नगरे अझै ठूलो दुर्घटना निम्तिन सक्छ ।

पाँच वर्षअघि पनि गाउँले यस्तै पीडा भोगेको थियो । लिदीवासीले भूकम्पले चिराचिरा पारेको भूगोलमा पाँच वर्ष बडो सकसले बिताए । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै बस्ती स्थानान्तरणको दिन कहिल्यै आएन । बरु, कुर्दाकुर्दै पहिरो आयो, सिंगो गाउँलाई तहसनहस पार्‍यो । पहिरोले ३७ घर पुर्‍यो । ११ घरका सदस्यको जीवनलीला समाप्त गरिदियो । सात सय ५० जनसंख्या रहेको लिदीगाउँमा एक सय ७२ घरधुरी छन् ।

२६ घरका मानिस त्यस दिन गोठमा गएकाले बाँच्न सफल भए । अरू केही घरमा आंशिक क्षति पुगेको छ । राम्रोसँग नेपाली पनि बोल्न नजान्ने लिदीका तामाङ समुदायमा परेको बज्रपात पीडितले मात्रै महसुस गरेका छन् ।

गाविस हुँदा होस् वा गाउँपालिका, लिदीका नाममा बजेट विनियोजन भयो । तर, लिदीवासीले सरकारलाई कर मात्रै तिरे । राज्यबाट पाउने आधारभूत सेवा–सुविधाबाट समेत वञ्चित रहे । टुकी बत्तीमै उनीहरूको जीवन बित्यो । यसै वर्ष केही जलविद्युत् कम्पनीले बनाई दिएको सडक पहिरोले पुर्‍यो । हिउँदभर गाउँबाट वारिपारि जान उति कठिन पर्दैन । तर, बर्खामा गाउँबाट कतै चल्न सक्ने अवस्था हुँदैन । पारि पर्ने गुम्बा, बोल्दे, नाम्फा, सुञ्चगाउँ र गोन्डेगाउँ पुग्न ब्रह्मायणी नदी र अरू साना खोला तर्नुपर्छ ।

लिदीगाउँमा सात कक्षासम्म पढ्ने स्कुल छ । तर, सबै बालबालिका विद्यालय गएका छैनन् । यहाँका कोही पनि सरकारी सेवामा छैनन् । एक–दुई युवा घर बाहिर गएर मजदुरी गर्छन् । गाउँमाथि रहेको थार्पालिङ, आजिगाङ र कोगाङमा गाईभैँसीको गोठ छन् । हिउँद–बर्खा गोठालोमै बित्छ दिन ।

गाउँबाट एक दिनको बाटो हिँडेर पुगिने विकट साङलुङ र दुस्कुलमा भोडाबाख्राको खर्क छ । कतिपय स्थानीयको जीवन लेकाली खर्कको गोठालोमै बित्छ । लिदीमा आलु उत्पादन राम्रो हुन्छ । यसबाहेक पुरुष कहालीलाग्दो भिरमा मह काढ्न जान्छन् । कतिपय सिलाजित, विभिन्न प्रकारका जडीबुटी र सिजनमा यार्सागुम्बा टिप्न जुगल हिमालछेउ पुग्छन् ।

बेपत्ता ३९ मध्ये १८ जनाको शव फेला परेको छ । सबै शवको पहिचान भएको छ । पहिरोले आठ वर्षीय मिलन दोङ, ११ वर्षीय च्यामा दोङ, पाँच वर्षीया प्रीति दोङ, ११ वर्षीया लक्ष्मी दोङ, सात वर्षीया विमला दोङ र पाँच वर्षका सानु दोङको मात्र होइन सातमहिने शिशु कवीर दोङ, पाँचमहिने शिशु तारल्हामु दोङ र चारमहिने शिशु रोनिस दोङको जिन्दगी पनि लिएर गयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी माधवप्रसाद काफ्लेका अनुसार ३६ वर्षीया टीकमाई दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीया बिताई झाँक्री दोङ, ७० वर्षीय जयबहादुर दोङ, २४ वर्षीया धनमाई दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ३० वर्षीय मनबहादुर दोङ, ३७ वर्षीया मेगमाई दोङको जीवन पहिरोमा पुरियो ।

पहिरोले पुरिएका वाङ्चिल्हामो दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ, सिरमाई दोङ, बिबिरानी दोङ, सानोकान्छा दोङ, साङ्लामु दोङ, सोनाम दोङ, सानोकान्छी दोङ (आठमहिने गर्भवती), सुरज दोङ, सुमन दोङ, करेशमाई दोङ, ललिता दोङ, पराङ दोङ, अजय दोङ, हिन्तोष दोङ र हिरा झाँक्री अझै हराइरहेका छन् । हराएको खोजी कार्य जारी छ । उद्धार र खोजीमा ८० सुरक्षाकर्मी खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाहिर रहेका आफन्तलाई डाकेर शव जिम्मा दिने काम भएको बताए । उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आइतबार बेलुकासम्म पहिरो पन्छाउन एक्स्काभेटर पुर्‍याउन लागेको उनले बताए ।

गम्भीर लापरबाहीले ठूलो मानवीय क्षति हुँदा पनि सरकार अझै जवाफदेही बनेको छैन । शुक्रबार राहत लिएर हेलिकोप्टर चढेर पहिरोग्रस्त क्षेत्रमा पुगेका गृहमन्त्री भन्दै थिए, ‘उहाँहरू अर्कै ठाउँमा वास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकाले क्षति हुन पुग्यो ।’

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएकोसमेत भन्न भ्याए । उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया सुरु गरिने गृहमन्त्री थापाको आश्वासन थियो । उनले स्थानान्तरणमा भएको ढिलाइको गल्तीप्रति कुनै अपसोच जनाएनन् । लिदी पुगेका गृहमन्त्री थापाले जनही १५ हजारका दरले नगद र त्रिपाल दिएका छन् ।

शुक्रबार नै राहत सामग्रीसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल घटनास्थल अवलोकन गर्न गएका थिए । क्षति भएका र अन्य गरी एक सय ७२ घरधुरीलाई अहिले अस्थायी रूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । दीर्घकालीन रूपमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनको भनाइ थियो ।

नेपाल रेडक्रसले पनि लिदीमा पहिरो प्रभावितलाई घटनाको दोस्रो दिन १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत घटनास्थलमा दाल, चामल, तेल, नुन, गरम मसला पठाइएको रेडक्रसले जनाएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवारमध्ये तत्काल ३० परिवारका लागि पुग्ने गरी आवश्यक पर्ने गैरखाद्य सामग्री पूर्ण सेट पठाइएको रेकक्रसले जनाएको छ । पहिरोबाट पूर्ण क्षति भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याम्पमा बसेका छन् ।

शनिबार कांग्रेस प्रवक्ताले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोबारे विज्ञप्ति निकालेर भने, ‘प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न, तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो ।’

तर, विज्ञप्ति निकाल्दै गर्दा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिरो नजाँदै आफ्नो पार्टीले यो मुद्दामा सरकारलाई झकझकाउन नसकेकोचाहिँ आफै बिर्से । जनतालाई सुरक्षित स्थानमा सारेर तिनीहरूलाई जोगाउने दायित्व निर्वाह नगर्नु अक्षम्य गल्ती भएको कांग्रेसको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रहेको विभागका अधिकारीको भनाइ छ । आशा गरौँ तीन दिनमा कुनै अर्को गाउँले लिदीको नियति नभोगोस् ।

जुगल गाउँपालिका–२ का वडाध्यक्ष प्रताप लामा भन्छन्– लिदीवासीको पीडाको बयान कसरी गरौं ?

पहिरो नजाँदा लिदी गाउँ रमणीय ठाउँ हो । यहाँबाट जुगल हिमाल र ब्रह्मायणी नदीको तटीय क्षेत्र बलेफीसम्म देखिन्छ । भूकम्पले गाउँ थिलथिलो पारेकाले पहिरोको जोखिम छ भन्ने सबैलाई थाहा थियो । गत साल पनि पहिरो गयो । पहिरो पचाएर गाउँमा बस्न बाध्य भए ।
तर, यसपालि धेरै नै वर्षा भएकाले लिदीवासी जेठको अन्तिमदेखि नै घरमा सुत्दैनथे । मसँग धेरैपटक गुनासो पोखेका थिए । मेरै सल्लाहमा जिल्लाका सबै निकायलाई जानकारी पनि गराइयो, तर कसैले सुनेनन् ।

आखिर दुर्दशा निम्तिएरै छाड्यो । अहिले लिदीवासीको पीडाको बयान कसरी गरौं ? यहाँभन्दा पीडा र दुःख कसैलाई पर्दैन होला । घर छोडेर गाउँमुनि डाँडामा त्रिपाल हालेर बसेका छन् । कतिपय मानिस जंगलको गोठमा छन् । बस्ती स्थानान्तरण नगरे अझै ठूलो दुर्घटना निम्तिन सक्छ । आलु, कोदो र मकै उत्पादन गरेर जीविका चलाउने यहाँका बासिन्दा यसपालि भने डरले निराश बनेका छन् । नयाँ पत्रिका दैनिकबाट