“देशद्रोही” म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश गरेर युट्युबमा अपलोड गर्ने एक जना पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता ईश्वर कार्कीले झण्डा जलाउनेमध्येका एकजनालाई पक्राउ गरिएको जानकारी दिए। भिडियोमा नेपाली झण्डा र ढाका टोपी जलाएको दृश्य छ।

उक्त दृश्य मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको बताइएको छ। केहिले देशको गौरव राष्ट्रिय झन्डा जलाउनेलाई कडा कारबाहीको माग गर्दै कमेन्ट गरेका थिए । भिडियो ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको हो।

कार्कीले झण्डा जलाउने कार्य राष्ट्र हितविरुद्धको गम्भीर अपराध भएकाले कारबाही हुने बताए। उनले झण्डा जलाउने कार्यमा संलग्न अरुको पनि खोजीकार्य भइरहेको जानकारी दिए।

मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ। औजार दैनिकबाट