राजनितिको वैचारिक दर्शन हुन्छ।त्यहि बैचारिक धरातलमा उभिएर राजनितिक दलहरुले आफ्ना कार्यनिति बनाएका हुन्छन्। देशको आर्थिक र सामाजिक रुपान्तरण सम्बन्धि रोडम्याप अघि सारेका हुन्छन् जस्को अनुमोदन जनताले मत मार्फत गर्दिए पछि कार्यान्वयनको दिशा समात्छ।
मुलत: नेपालमा दशकौ देखि राजनितिक दर्शनको रुपमा समाजवाद र मार्क्सवाद देखिन्छ। यिनै दर्शनका एरोफेरोमा हाम्रो देशको राजनिति कम्तिमा सैद्वान्तिक रुपमा घुमेको छ।भलै यि दर्शनहरु केहि शताब्दी अघिको वस्तुस्थिति र परिवेशका अनुभवको आधारमा केहि भविष्यत सम्मको आँकलनका साथ प्रस्तुत गरिएको थियो।यस्को विश्व प्रयोग भए। परिमार्जन र संशोधन पनि गरिए। बदलिदो बिश्व परिवर्तन जुन बैचारिक भन्दा पनि प्रविधि हावी छ।कृतिम र एकदमै भौतिकी छ। विशेषतः द्वितीय महायुद्व पछि जुन किसिमबाट प्रविधि विकासको रफ्तारले गति समात्यो। पुराना सामाजिक र सांस्कृतिक संरचना, अर्थशास्त्र र राजनीति अनि मानविय सोच र ब्यवहार मा नै नसोचिएका परिवर्तन ल्यायो।जस्ले गर्दा यी दर्शनहरु पनि स्थायीरुपमा कहि पनि टिकेनन्। कालखण्डमा केहि हदसम्मको परिमार्जित अवसान र पुर्ण अवसान नै पनि धेरै देशहरुमा भयो।
बदलिदो बिश्व संगै राजनितिक सिद्धान्त हरु पनि बदलिन्छन्। राजनिति आफैमा गतिशील हुन्छ।समयको दौडाइ संगै यसले गति समात्नुपर्छ। हामीलाई अझै पनि समाजवाद र मार्क्सवादका कथाहरू सुनाइन्छ।आखै अगाडि कतिपय देशले नविनतम र आफ्नै मौलिक प्रयोग मार्फत आर्थिक र सामाजिक समृद्धिको छलाङ मारेको देख्दा नि हाम्रा मार्क्सवाद र समाजवादका गुरुहरु तेहि कथा सुनाएर अल्मलाउने प्रयास मै देखिन्छन। उहि रुमानी कथा अनि चर्का सैद्वान्तिक बोल बोल्ने यी गुरुहरुले ब्यवहारिक रुपमा समाजवाद र मार्क्सवाद न आफुमा लागु गरे न देशमा नै। जो आए नि देश नवउदारवाद र उपभोक्तामुखी पुँजीवाद कै वरिपरी चलिरहेको छ। सिद्वान्त र व्यवहारिकताको यो विरोधाभाषपूर्ण खिचडीले देश बदल्दैन।
नयाँ विश्व परिवर्तनशिल छ, बिगत ५० वर्ष एता यो दुनियामा जुन रफ्तारको परिवर्तन भयो त्यो विगत १० हजार वर्ष एताको मानव इतिहासमा सबैभन्दा तेज हो। यो क्रम समयसंगै अझ तेज हुने देखिन्छ। बिचारको निर्माण डिजिटलाइज्ड भएको छ। युट्युब र संजालहरुले परिस्थिति लाइ डोर्याउन थालेका छन।तिब्र र प्रतिस्पर्धात्मक आर्थिक विकास अनि प्रबिधिको उच्चतम प्रयोगमा आजको दुनियाँ छ। यस्तो परिस्थितिमा हामीले नि हाम्रा परम्परागत वाद र बिचारहरुको परिवर्तन र परिमार्जन नितान्त जरुरी देखिन्छ। पुरातन वाद र सैद्वान्तिक अवधारणाहरुको महान आदर्श र पट्यारलाग्दो बिष्लेषणलाइ अहिलेको पुस्ता र पछिका पुस्ताले झिंजोको रुपमा मात्र लिन्छ।
हुर्कदै गरेको पुस्तामा राजनैतिक विकर्षणको महत्वपूर्ण कारण पनि यहि हो।यस्तो अवस्थामा कम्तिमा हाम्रो जस्तो देशको परिप्रेक्ष्यमा समानतामुलक सामाजिक न्याय र तिब्र आर्थिक विकास सम्बन्धी अवधारणा हरुको सरल र मौलिक प्रयोग उपर्युक्त हुनसक्छ। लोककल्याण र आदर्शवादको लगातार घोटाइ पनि आजको यान्त्रिक समयमा कुनै हदमा गएर प्रत्युत्पादक बन्न सक्छ। तत्कालको परिस्थिति र निकट भविष्यसम्मको आंकलन सहितको परिस्थितिजन्य परिवर्तनशिल राजनैतिक अवधारणा अहिलेको अवस्थामा उपर्युक्त हुनसक्छ।सरलिकृत, वस्तुनिष्ठ र वैज्ञानिक यस्का अन्य पक्ष हुनसक्छन।बिषेशत: तात्कालिनतालाइ जोड र निकट भविष्य सम्मको लेखाजोखा सहितको राजनैतिक अवधारणा नै उपयोगी हुन्छ।दसकौ सम्मको एउटै रटाइ अनि आयातित सिद्धान्तको सट्टामा मौलिक र परिवर्तनशिल मोडल आजको आवश्यकता हो।केहि मुलभुत बिषयहरु यथावत राखि अन्य पछहरुको समयानुकूल परिवर्तनले नै गतिशिल राज्य ब्यवस्था कायम गर्न सक्छ।
सामाजिक र आर्थिक पाटाहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन्।बिश्व परिवेशलाइ आर्थिक र सामाजिक मानचित्रबाट हेर्ने हो भने यस्को लगातार परिवर्तन र परिवर्तनका धारहरु देख्न सकिन्छ। एउटा देशको प्रमुख पाटो नि त्यहाको सामाजिक र आर्थिक अबस्था नै हो। जस्को प्रभाव बिश्व परिवेश र परिवर्तनसँगै जोडिएको हुन्छ। राजनैतिक प्रणाली ले यस्लाइ नियमन,व्यवस्थापन, नियन्त्रण र सन्तुलन गर्ने हो भने अवधारणा पनि परिवर्तनशिल र समय सापेक्ष हुनु जरुरी हुन्छ। इतिहास र विगत भनेको तुलनात्मक अध्ययन र अनुभवका लागि हुन।विगतको समिक्षा हुन्छ सदैब प्रयोग हुदैन।




















