______________पुरुषोत्तम पौडेल

आज देशको युवा पुस्ता पूर्ण रूपले असन्तुष्टि पोखी रहेका छन । अभाव र वेरोजगारीले अक्रान्त युवाहरूमा आक्रोश वढ्दैछ । स्वरोजगारीमा संलग्न युवाहरूको ठुलो पङ्ती सर्वत्र अभाव झेली रहेको छ । शिक्षित तथा वौध्दिक युवाहरू निती हिनताको शिकार भएका छन । रोजगारीको अभावमा विदेश पलायन हुन वाद्य युवाहरूको ठुलो पक्ती समस्या ग्रस्त भएर स्वदेश फर्किने तयारीमा छन । थोरे संगठित क्षेत्रका युवाहरू सरकारको भनाइ र गराइमा फरक देखी रहेका छन ।

आम युवाहरू सरकारले आम जनता र कार्यकर्ता विच विभेद गरेको देखी रहेका छन । गाऊ समाजमा व्याप्त अनियमितता, भ्रष्टाचार, विभेद र दण्डहिनतालाई पचाउन सकिरहेका छैनन ।" दरिद्रषे सभा विसम "अर्थात गरिव हुनुको अर्थ न्याय पाऊन पनि दुर्लभ हुन्छ भन्ने पुरानो उक्ती अहिले पनि चरितार्थ छ । यसले युवाहरूलाई नकारात्मक प्रभाव दिई रहेको छ । आधारभूत तहका युवाहरूलाई सम्वोधन गर्न "राष्ट्रीय युवा निती र युथभिजन २०२५" अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार संग सम्बन्धित काम सुरू भएकै छैन । युवाहरूका सवै खाले पिडा र असन्तुष्टिहरूलाई सुनेर समाधान गर्न अघि वढ्ने सोच पनि सरकारमा कतै पलाएको जस्तो देखिदैन ।

यसैगरी पटक पटक देशको परिवर्तनको आन्दोलनमा संलग्न वयस्क समुदाय निराश हुदैछ । कम्युनिष्ट आन्दोलनमा जीवन समर्पण गरेर आएको ठुलो पक्ती अहिले कम्युनिष्ट आदर्श माथी आक्रमण भएको ठान्दैछ । समाज परिवर्तनको आसमा क्रान्तिमा अग्रसर वौध्दीक समुदायलाई निराशाले गाजेको देखीन्छ । उनीहरू साठीको दशकमा नेकपा एमाले प्रती निकै आशावादी थिए । एमालेमा आएको विभाजनले उनीहरूको आशामा पानी खन्याई दियो । २०६२\०६३ को परिवर्तन पछि माओवादी र प्रचण्ड प्रति आशावादी भएको देखीन्थ्यो । माओवादी पार्टी टुक्रा टुक्रा भएपछि उताको आशा पनि चकनाचुर भयो ।


अहिले दुवै पार्टी एकता पछि नेकपाको नेतृत्वमा देशले काचुली फेर्ने र क्रान्तीको वाकी कार्यभार पुरा गर्ने आशा धेरैले गरेका थिए । हेर्दा हेर्दै नेकपाका तिन वर्ष वित्न लागी सक्यो । कहि कतै परिवर्तनको छाट छन्द देखीई रहेको छैन । वरू देश हाक्ने महान योद्धाहरू आफै परिवर्तित भएर कुर्सीमा टासिन लागेको महसुस सर्वत्र हुदैछ । यस्तो प्रभाव सचेत तथा संगठित राजनिती कर्मिहरूका लागी कदापि सकारात्मक हुन सक्दैन ।

नेपाली कम्युनिष्ट आन्दोलन मार्क्सवादी विश्व दृष्टिकोण र लेनीनवादी सङ्गठनात्मक सिद्धान्तवाट निर्देशित र संगठित आन्दोलन हो l यो सामुहिक नेतृत्वका आधारमा चल्ने विचार प्रवाह हो । यसका नेताहरू स्वभाविक ढंगले देश, जनता र पार्टी प्रती उत्तरदायी हुन्छन । कम्युनिष्ट पार्टीमा सवै नेताहरू आफ्नो कमिटीवाट निर्देशित हुने व्यवस्था छ । अर्थात कम्युनिष्ट पार्टीका सवै सदस्यहरू संगठित हुनै पर्ने व्यवस्था छ । पार्टी कमिटीमा संगठित सदस्यहरूको लागी कमिटी निर्णय सर्वोपरी हुन्छ ।

राष्ट्रीयता, जनजीविका र जनवाद नेपाली कम्युनिष्टहरूका मूल आदर्श हुन । यी आदर्शहररू पार्टीका सवै सदस्य र नेताहरूका लागी साझा आदर्श हुन । कम्युनिष्ट पार्टीको लक्ष समाजवाद हुन्छ र समाजवादी सोच अनुसार नेताहरूले दिन-दुखीहरूको पक्षमा काम गर्नु पर्दछ । अझ आफुलाई राजनेता वनाऊन चहानेले अन्त कतै अलमलिनु पर्ने आवस्यकता छैन । यसका लागी नेतृत्वले केवल सिद्धान्त र व्यवहारलाई मिलाई दिए पुग्छ । भनाई र गराइको विचमा तालमेल गरि दिए मात्र पुग्छ । पार्टीका घोषित नितीहरूलाई देश र जनताको पक्षमा लागु गरेर देखाई दिए हुन्छ । यति भयो भने नेपाली जनताले नेताहरूलाई माला लगाएर सम्मान गर्नेछन । अन्यथा समाजवाद ख्याल ख्यालको पुलाऊ मात्र हुन्छ ।

निती भन्दा नेता र नेता भन्दा नाता छनोट गर्ने सामन्तवादी सोच हो । सिद्धान्त र विचार भन्दा पनि सेवा, सुविधा र नगद-नारायण तिर प्रेम वस्नु पुँजीवादी मन्त्र हो । आम जनता भन्दा आफ्नो क्षेत्रका मतदाता खोज्ने, मतदाता भीत्र पनि निजी भोटरहरूलाई रोज्ने सङ्कीर्ण क्षेत्रीयतावादी सोच हो । अहिले आफ्नै मतदाता भीत्र पनि आफ्नै गुटका मान्छे छान्ने संकिर्णताले घर गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकाश कार्यक्रमलाई आफन्त पाल्ने श्रोत वनाईएको चर्चा छ । यो तरिकाले कोही पनि कम्युनिष्ट या अशल नेताको रूपमा रहन सक्दैन ? आम जनता प्रती समान हेराई र समान व्यवहार गर्नु कम्युनिष्ट अगुवाको सामान्य कर्तव्य हो ।


पार्टीमा पारदर्शी ढंगले विधी पूर्वक सवै प्रती समभाव राखेर कामको व्यवस्थापन गर्नु अशल नेताका प्राथमिक गुण हुन । हामी भने निजी निर्वाचन क्षेत्रबाट एक इन्च माथि उठ्न सकि रहेका छैनौ । नाता-कुटुम्ववादवाट अलीकती पर सर्न सक्दैनौ । गुटवाजी भन्दा आधाको आधा सेण्टी मिटर दाया वाया हुन सक्दैनौ । अहिले पनि हाम्रो काईदा यस्तो छ । यसले नेतालाई त माथी झनझन माथी उठाऊछ । तर जनतालाई भने त्यहीको त्यही राख्ने निस्चीत छ ।

आजकल हाम्रो देशमा फलाना राजनेता जिन्दावाद । फलाना राष्ट्रनायक संसार कै महान हुन । फलानो महाननेताको कसै संग तुलना हुनै सक्दैन । फलाना वरिष्ट नेता अती सुन्दर भन्दै गित गाएको सुनीन्छ । ति गायकहरूले राजनेता या राष्ट्रनायक भनेको के वुझेका छन ? मलाई थाहा छैन । मैले वुझे सम्म राज्य र जनताको समग्र हित रक्षाका लागी सवै किसीमका स्वार्थ भन्दा माथी, आफ्नो र आफ्ना पट्टी अनी पार्टीगत स्वार्थलाई समेत त्यागेर सम्पूर्ण देशको एकमुष्ट नेतृत्व गर्न सक्षम व्यक्तित्व राज नेता हुन सक्छ ।


अर्थात केवल राज्य र आम जनताको प्रतिनिधि भएर सेवा कार्यमा समर्पित भएको व्यक्ती नेता हुन्छ । सवै स्वार्थ र आफ्नै पार्टीको हितलाई गौण ठान्दै पक्ष प्रतीपक्षको लडाई भन्दा माथि उठे पछि नेतामा राजनेताको लक्षण आऊछ । राजनेता त्यो हो जसलाई राज्यका सवै पक्षहरू र अंगहरूले स्वभाविक ढंगले शिर झुकाएर सम्मान गरून । नेपालको शन्दर्भमा गणेशमान सिंह र जननेता मदन भण्डारी त्यो कोटीमा पर्ने नेता हुनु हुन्छ ।

 

नेलशन मण्डेला आजको दुनियाँका ताजा नमुना हुन । संसारको इतिहासलाई हेर्ने हो भने दक्षिण अफ्रिकाका स्वतंत्रता शेनानी, राष्ट्रवादी नेता नेल्शन मण्डेला राजनेता थिए । देशको स्वतन्त्रताको संग्रामको नेतृत्व गरेर विजय प्राप्त गरेपछि दुई पटक राष्ट्रपति भए । अफ्रिकी राष्ट्रीय कंग्रेसका नेता मण्डेला देशका सर्वाधिक लोकप्रिय नेता हुन । उनलाई त्यहाँका नागरिकहरू आफ्नो आदर्श मान्छन । उनीहरू मण्डेलालाई तेस्रो पटक पनि देशको सम्मानीत राष्ट्रपतिको रुपमा देख्न चहान्थे । स्वास्थ्य र उमेरको कारणले पनि मण्डेला ईच्छुक भएनन । आफ्नो दुई कार्यकाल देशमा न्याय, विकाश तथा राष्ट्रिय एकता लाई पहिलो प्राथमिकतामा राखेर देशको नेतृत्व गरेका नेल्शन मण्डेलाले आफ्नो उत्तराधिकारी हरूलाई नेतृत्व सुम्पेर विदा लिएका थिए । उनी अनन्त कालसम्म दक्षिण अफ्रिकी जनताको मनको नेता रहि रहनेछन ।

अली पुरानो इतिहास तिर नियालेर हेर्ने हो भने रूसी समाजवादी क्रान्तीका नायक भ्लादीमीर ईल्वीच लेनिनलाई लीन सकिन्छ । लेनीन रूसी सामाजीक जनवादी पार्टीका अध्यक्ष थिएनन । लेनीन आफ्नो पार्टीका घोषित सर्वोच्च नेता वा कुनै पदाधिकारी पनि थिएनन । उनी रूसी सामाजीक जनवादी पार्टीका अध्यक्ष मण्डलका सदस्य थिए । तर पनि उनी सोभियत क्रान्तीका नायक कहलीए । यस्तो कसरी सम्भव भयो । पद अनी पदका निम्ती मरिहत्ते गर्ने संस्कार देखाउने हाम्रा नेताहरूले एकपटक घोत्लीदा राम्रो हुन्छ । आफ्नो पार्टीको अध्यक्ष या महासचिव अथवा घोषित कुनै पदीय नेता नभए पनि लेनिनलाई सवैले क्रान्तीका नायकको रूपमा स्वीकार गरे ।

सोभियत समाजवादी क्रान्तीको योजना लेनीनले वनाएका थिए । उनले पार्टीको क्रान्तिकारी निती अघि सारेका थिए । उनले क्रान्तीको सफलताको लागी अधिक से अधिक मेहनत पनि गरेका थिए । उनको अगाडी साराले शिर झुकाउने परिस्थिति जीउदो थियो । अनी क्रान्तिको दौरान असहमति राखेर विभाजित भएका आफ्ना आलोचक र विरोधीहरू ( मेन्सेविकहरू ) लाई समेत साथमा लिएर क्रान्ती पछिको राज्य निर्माणको साझा योजना वनाउन अग्रसर भए । कमरेड लेनीनले जीनोएभ तथा वुखारिन जस्ता आफ्ना खरो आलोचकहरूलाई समेत साथमा राखे । उनका कट्टर विरोधी ट्रटस्कीलाई त परराष्ट्र मन्त्री वनाएर सम्मान गरे । यसैले लेनीन साचो अर्थमा राजनेता थिए । त्यही सोभियत संघमा लेनीनका उत्तराधिकारी जोसेफ स्टालीनले आफ्ना सवै आलोचकहरूलाई विरोधी भन्दै सफाया गर्दा संसारको आलोचनाको शिकार भए ।

राजनेता हुन चहानेले अफ्रिकी नेता नेलशन मण्डेलावाट सिक्दा हुन्छ । आफुलाई कम्युनिष्ट पार्टीको नेता भन्न रूचाऊने महामहिमहरूले कमरेड लेनीनलाई अनुकरण गर्दा पनि हुन्छ । छिमेकी भारतीय स्वतंन्त्रता संग्रामका नेता महात्मा गान्धीवाट शिक्षा लिन सकिन्छ । वैदिक युगकै युगान्तकारी राजा युधिष्ठिरको धर्म, सत्य र न्याय प्रतीको निष्ठावाट थोरै सिके पनि पुग्छ । कस्तो खालको त्याग तथा चरित्र निर्माण गरेपछि राजनेता हुन सकिन्छ । त्रेता युगमा यतै ठोरी-माडी तिर पुरै जनमुखी राज्य चलाएका राजा रामको चरित्रवाट केही सिके पनि हुन्छ । महामानव वन्नको लागी के के त्याग गर्नु पर्छ । के कस्ता कर्म गर्नु पर्दछ । माहात्मा वुध्दको " संघ गच्छध्वम, संघ वदध्वम " वाट केही सिकी दिए पनि नेपाली जनतालाई लाभैलाभ हुन्छ । अव गहिरो गरी सोचेर, आलोचना र सुझावहरूलाई ग्रहण गरेर, आफुलाई देश र जनता अनुकुल परिवर्तन गर्न तयार भए मात्र केही गर्न सकिन्छ ।

संकिर्ण स्वार्थ, काम- क्रोध, आग्रह-पूर्वाग्रह, लोभ र लाभको राजनितीले मानिसलाई तुच्छ मात्र वनाऊछ । यस्ता कुकर्म र दुर्व्यसनबाट टाढै वसेर नेतृत्वले कमसेकम निहित स्वार्थ र सानो घेरा तोडेर वाहिर निस्कने ऑट मात्र गरिदिए पनि देश र जनतालाई थोरै फलीफाप हुने थियो । आम जनताहरूलाई परमपिता परमेश्‍वरले जस्तो हात माथी उठाएर आशीर्वाद दिनुको सट्टा नेपाली संस्कार अनुसार दुई हात जोडेर नमस्कार गर्दै उनिहरूको मनछुने खालको केही काम गरिदिए पनि थोरै राहत हुने थियो । देखावटी तामझाम र फजुल खर्चलाई कटौती गरेर जन हितमा लगाई दिए मात्र पनि युवाहरूमा पलाएको आक्रोश मत्थर गर्न सकिन्थ्यो । चुनाव घोषणा पत्र र पार्टीको विधीलाई कार्यान्वयन गरेर अघि वढ्ने शंकल्प अनुसार काम गरिदिए पनि देशले थोरै प्रगति गर्ने थियो । राज्यको ताकत जनताको आशा र विश्वासमा टिकेको हुन्छ । जनताको आशा नेतृत्वको भूमिका र चरित्रमा आधारित हुन्छ । अन्यथा " फैरी उनै महान तिनै राज नेता " मात्र हुने सम्भावना हुन्छ । सवैलाई चेतना भया ।।।