पुरुषोत्तम पौडेल


एक जना साथी नेताहरूसंग खुव रिसाउनु भएछ । वहा कुनै कामले नेताजी भेट्न जानु भएछ । नेताजीले काम त राम्रै रहेछ । तर " मलाई पनि भाग लाऊनु पर्छ नी " भनि हालेछन । चुनावको बेला सेवा गर्ने अवसर पाऊ भनेर उल्का दुख दिएर भोट लिएका नेताले त्यसो भनेपछि साथीलाई पुगी हाल्यो । रिसले भुटभुटिदै उनी म कहा आई पुगेर भन्न थाले । बुझ्नु भयो कमरेड " पदमा पुगेपछि भाग लाऊनु पर्ने " भनेर झोक्कीदै मलाई समेत खाऊला जस्तो गर्न लागे । उनी अझ भन्दै थिए " आजका नेता एक सय आश्वासन दिन्छन । पदमा पुगे पछि हातमा होईन सुटकेशमा हालेर नगद लिन्छन "। साथी यस्तै यस्तै अरू पनि के के भन्दै थिए ।

मैले निकै सम्झाए तर उनी मान्ने वाला थिएनन । अझ भनौ हामीले जति सुकै सेवाका कुरा गरेपनि व्यवहार ठिक गरेनौ भने निती, सिध्दान्तले काम गर्ने होईन । जती सुकै राम्रो विचार भएपनि हाम्रो सँस्कारमा सुधार गरेनौ भने केही काम लाग्दैन । पार्टीको पनि त्यही हो, नाम र निती सिद्धान्त अनुसार को काम गर्न सकेनौ भने कुनै अर्थ राख्दैन । हाम्रो सिद्धान्त अनुसार कामले परिणाम दिएन भने केही काम लाग्दैन । हाम्रो काम गराइले आधारभूत जनताको सेवा गरेन भने पार्टीको नाम र सुन्दर सिध्दान्त अनी नेताजीको व्यक्तित्व र भरभराउँदो भाषले कुनै अर्थ राख्दैन । मुल कुरा त हामी सेवा कस्को गरि रहेका छौ भन्ने नै हो ।

राजनितीक दल र राज्य वर्गीय हुन्छन । वर्गीय समाजमा जुनसुकै वर्गको सत्ता भएपनि राज्य मूलत: कमजोर वर्गका लागी हुनु पर्ने हो । राज्य विशेष गरि गरिव-गुरुवा तथा दुखी-असहाय जनताहरूको संरक्षणको लागी हो । राज्य दलीत तथा उत्पीडित वर्ग र गाऊ घरमा वस्ने पिछडिएका जनताहरूका लागी हो । राज्य दीन दु:खीहरू सम्म अती आवस्यक सेवा पुर्याऊनको लागी हो । राज्य पिछडिएको जाती, जनजाति र दुर्गम क्षेत्रका जनता सम्म न्युनतम सेवा पुर्याऊनको लागी संगठित संरचना हो । ति दीनदुखीहरू सम्म सेवा नै पुगेन भने आदर्शले केही काम गर्दैन । अहिले भ्रष्टाचारका कारण सेवा अवरुद्ध भएका छन । समाज वर्गीय हुन्छ । राजनिती वर्गीय हुन्छ तर भ्रस्टाचार वर्गीय हुदैन । हामी कहा भ्रष्टाचार पनि वर्गीय हुन थाल्यो ।

समाजमा हुनेखाने तथा ठुला ठालुहरूको लागी राज्य केवल सेवा लीने मेसिन हुन्छ । ठुलठुला दलाल पुजीपतिहरू, सामन्तहरू र जमिन्दार तथा राजनितीक ठालुहरूको लागी राज्य उनीहरूको कमाई सुरक्षित गर्न सेवा लीने निकाय मात्र हो । उनीहरूको नजरमा राज्य पैसा कमाई दिने र केवल कर वुझाऊने साधन मात्र हो । अर्थात वर्गीय समाजमा राज्य हुनेखाने तथा धनि-पुजीपतीहरूलाई आराम ले कमाउन दिएर कमाइको थोरै प्रतीशत रकम करको रूपमा असुल गरेर त्यही रकमवाट गरिव गुरुवा र पछि परेको समुदाय र आम जनता सम्म न्युनतम सेवा पुर्याऊने सार्वजनिक संरचना वा निकाय हो ।

जुन राज्यका सेवा मुलक निकायहरू आफै जनता ठग्न उदत्त हुन्छन । त्यस्तो राज्य आफै कमजोर हुन्छ । जुन राज्य का जिम्मेवार पदाधिकारीहरू देशका सामन्त तथा दलाल पुजीपतिहरू संग वस्न पाएर नतमस्तक हुन्छन र उनीहरूका अगाडी शिर झुकाएर देशलाई ठग्न लालायीत हुन्छन । त्यो देश आफै कमजोर हुन थाल्दछ । हाम्रो देशमा अहिले त्यस्तै त्यस्तै हुनलागेको छाटकाट देखिदैछ । राज्यको ढुकुटीमा आम्दानी गर्न राज्यको तर्फवाट कर उठाऊन खोलिएका प्राय सवै अड्डाहरू भ्रष्टाचारमा डुव्दै गएका समाचार आई रहेका छन ।

त्यस्ता खाले अड्डाका हाकीमहरू, कर्मचारीहरू आफुलाई सरकारको नोकर होईन मालीक ठानेर अख्तियार दुरुपयोग गर्दैछन । उनिहरू मध्ये कतिपय भ्रष्टाचारमा लिप्त भएर अकुत सम्पत्ति कमाएर लाल भएका छन । कति आरामले धन कमाऊनमा व्यस्त देखीन्छन । कतिपय न्याय, ईमान अनी देश निर्माणको सपना वाड्दै आएका राजनीतिक प्राणीहरू पनि देशको सेवालाई आफु र आफ्नाहरूको लागी मेवा वनाऊन लागेका अनेकौ कथाहरू सुनिन्छन । तिनले कतिपय भ्रष्टाचारीहरू पनि वर्गीय आधारमा संरक्षण गर्ने गरेका कथाहरू सुन्नमा आई रहेका छन ।

भ्रष्टाचार कहा छैन, खोज्नु पर्ने स्थीती आऊन लागी सकेको छ । धेरै स्थानीय तहमा हेरी साध्य छैन । प्रदेशमा खोजी साध्य छैन । केन्द्र सरकारका विभीन्न निकायमा भएका भ्रष्टाचारको समाचार र चर्चा पनि सुनेर साध्य छैन । सुशासन र भ्रष्टाचार प्रतीको सुन्य सहनशिलताको चीर हरण भएको छ । सरकारी नियुक्तिमा, पदोन्नतिमा, सरुवा र पदस्थापनमा पनि भ्रष्टाचार भएका खवर आऊछन । टेण्डर-कोटेशनमा भ्रष्टाचार, उपभोक्ता समितीमा भ्रष्टाचार छदै थियो अव त योजना समावेश गर्नमा पनि भ्रष्टाचार भैरहेका छन । औषधी खरिदमा, अनुदान सहयोगमा भ्रष्टाचार, हुदा हुदा लोगो र तक्मा निर्माण र वितरणमा पनि गडवडीको कुरा आयो । अव वाकी के रह्यो र ? हाम्रो देशमा कति सम्म लापरबाही र वेहाल छ, अलीकती विचार गरौ त । नगद देखेपछि महादेवका तिन नेत्र भन्थे । आजकल त अनुमान गर्न पनि कठिन हुन थाली सक्यो । कतै ईमान भन्ने चिज पनि हुन्छ ?

केही सामान्य दृष्टान्त हेरौ । वालुटारको जग्गा हिनामिना प्रकरणमा मुछिएका एक जना साना कर्मचारीले आत्म हत्या गरे । ठुला खालका दलाल र विचौलियाहरू छाती खोलेर हिड्दैछन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रश्नपत्र सम्वन्धी भ्रष्टाचार प्रकरणमा नाम मुछिएका अर्का एकजना निसहाय कर्मचारी लाजले आत्म हत्या गर्न पुगे । त्यही सेवा आयोगका राजनितीक नियुक्ती पाएका ठालुहरू जुगा मसारेर हिडी रहेका छन । अख्तियारले आफ्नै घुसपैठीया लाई लगाएर घुसको लोभमा पारिकन पक्राउ परेका केही व्यक्तिहरू वाहेक खास भ्रष्टाचारीलाई पक्राउ गरेर कार्वाही गर्न कुनै सफलता प्राप्त गरेको छैन । अख्तियार प्रमुख लोकमान र नविन घिमीरे दुवैको कार्यकालमा एक रत्ती फरक भएन । सवै भ्रष्टाचारी ठालुहरू आफ्ना एजेण्ट र कामदारहरूलाई निर्धक्क भएर हिम्मतका साथ अख्तियारको चिन्ता नगर भन्दै काम लगाई रहेका हुन्छन । आफ्नो लुटको वजार चलाई रहेका छन ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर-५ कटुन्जे निवासी रामहरी सुवेदी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटीए । उनी कलंकी स्थीत मालपोत कार्यालयमा सेवाग्राही संग रू.एक हजार घुस लीएको आरोपमा पक्राउ परि ४२ दिन सम्म थुनामा राखिए । थुनामा चरम यातना पाएका उनलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले तारिखमा छोडेको थियो । छुटेको सातौ दिनमा ऊनले आत्म हत्या गरे । यती मात्र होईन अख्तियारको आफ्नै नोट थमिएर झिना मसिना कर्मचारीलाई जेल पठाऊने गलत नितीले कुनै राम्रो नतिजा आएको छैन । अझ यस्ता अनगिन्ती खुद्रा खाले घट्नाहरू ठुलठुला माछाहरू जोगाऊन र आम नागरिकको ऑखामा छारो हाल्न गरिएको कार्वाही त होइन भन्ने आशङ्का आम जनतामा व्याप्त छ ।

त्यती मात्र होईन जील्ला जील्लामा साधारण आधारभूत विद्यालयको एउटा राहत शिक्षक नियुक्ति गरेको केसमा हुलका हुल गाऊलेहरूलाई वोलाएर वर्षौ सम्म तारेख दिएर हैरान वनाऊने काम गरिएको अवस्था छ । एकातीर निम्न वैतनिक कर्मचारीहरूलाई आत्म हत्या गर्न वाद्य वनाऊने अर्को तीर लाटा सोझा जनतालाई तारेख धाउन लगाएर ठालुहरूको सेवा गर्ने अख्तियार प्रमुखलाई सरकारले पुरस्कार स्वरूप ठुलै तक्मा ओढाएको सुनियो । अझ गज्जवको कुरा त के देखीयो भने मानव सेवा र आविस्कारको कारण संसारमा नेपालको शिर ठाडो पार्ने डा.सन्दुक रूईत र उनलाई एकै खाले तक्मा दिएर सम्मान गरियो रे । सुन्दा पनि लाज मर्नु ।

कहानी यतिमा मात्र सिमीत रहेन । देशमा अहिले भएका चर्चित भ्रष्टाचार सम्वन्धी स्क्याण्डलहरूमा देशका अख्तियार प्रमुख आरामले भ्रष्टाचारी कै पक्षमा उभिएका थिए । अहिले सम्म सवभन्दा वढि चर्चामा रहेको आयल निगमको जग्गा सम्वन्धी भ्रष्टाचार मुद्दालाई उनले आरामले तामेलीमा राखी दिए । विवादीत ओम्नी कम्पनी संग भएको औषधी खरिद सम्बन्धी अवैध ठेक्का र नक्कली सामान सम्वन्धी छानविन प्रकरणलाई उसै वागमतीमा सेलाई दिए । वालुवाटार जग्गा प्रकरणका ठुला माछा हरूलाई मज्जाले उम्काई दिए । पुरै मिलेमतो गरेर भएको रेलवेको ३३ अरवको ठेक्का-पट्टामा योजनावध्द ढंगले राज्यलाई गरिएको ठगीमा दुधको साछी विरालो मात्र भैदिए ।

वाईडवडी प्रकरणमा अल्मल्याउन सफल भए । किसानको अनुदानमा भएको अरवौ भ्रष्टाचार कता हराई दिए । चिनी को कोटा निर्धारणमा भएको अनियमितता र खेलकुदमा भएको भ्रष्टाचारको उजुरीमा छानविन गर्न पनि जरूरी ठानेनन या तामेलीमा राखी दिए । नेपाल दुर संचार संस्थानको ३ अरवको सामाग्रि खरिदमा भएको अनियमितता सम्वन्धी केस सित्तैँमा पचाऊन मदत गरे । "!ठुला ठुला भ्रष्टाचारीहरूलाई खुल्लम खुल्ला माफी । खुद्रा-खाद्रीलाई ठोक्दै हिड्छ, वाह ! अख्तियार क्या ईन्साफी " भन्ने उखान स्थापीत गरेको छ । यस्ता अख्तियार प्रमुखलाई त नेपाल रत्नले भिभुषित गर्नु पर्ने थियो । खुद्रा खुद्रि पदक मात्र भिराएछन ।

आजको देशको राजनीतिक नेतृत्व अर्थात कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वलियो सरकार भ्रष्टाचारको चंगुलबाट मुक्त हुनु आवस्यक थियो । यसले देशका तिनै तहका सरकार र प्रशासनलाई भ्रष्टाचार मुक्त वनाएर जनताको सेवा गर्ने वातावरण वनाउनु पर्दथ्यो । त्यसको लागी कुनै पनि भ्रष्टाचारका घटनालाई पारदर्शी ढंगले छानबिन गरेर दोषीहरूलाई निसंकोच कार्यवाही गर्दै जनतामा ल्याउन सक्नु पर्दथ्यो । तर खोई ? ऑट्नै सकेनन । ऑटुन पनि कसरी ? सरकार विगतमा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख वनाउन ज्यान छोडेर लाग्नेहरूको प्रभावमा पर्यो । त्यतीखेर ईमान देखाउने नेताहरू पनि भ्रष्टाचार विरूध्द खुल्न सकेका छैनन । हिजो लोकमानले अती गरेपछि संसदमा महाभियोग दर्ता भएकै हो । उक्त महाभियोगको प्रस्ताव पारीत गर्ने ऑट गरेनन किन ? सर्वोच्च अदालतले विदा गरेपछि उस माथि कुनै किसीमको छानविन पनि भएन किन ? सवै प्रश्नहरू अनुत्तरित छन ।

ईमान्दारहरूको सत्ता भएको वेला लोकमान सिंह जस्तो अधर्मी-पापी सकुशल फुत्किन सफल भयो । एउटा साधारण सुब्बा १०\२० करोड रकम भ्रष्टाचार गरेर लुकाएको आरोपमा कार्वाही भएको सुनिन्छ । पाच पाच वर्ष सम्म देशव्यापी रूपमा नेटवर्क वनाएर समानान्तर सत्ता चलाएको लोकमानले कती खायो होला ? भनिन्छ उसले देशभरीका भ्रष्टाचारी हरूलाई परिचालन गरेर लुटको साम्राज्य खडागरेको थियो । अलीकती पनि ईमान भएका कर्मचारी तथा कार्यालय प्रमुखहरूलाई गरि खान मुस्किल वनाई दिएको थियो । १३ पाने आतंक खडा गरेर दुनियाँलाई रूवाएको थियो । त्यो लोकमान सिंह र उसको कम्पनीले देशमा व्रह्मलुट मच्चाएर कति लुटेको थियो होला । छानविन गर्ने ऑट सम्म कसैले गरेनन । के उसमाथी छानविन गरिनु पर्दैनथ्यो ? त्यस्ता खालका व्यक्तीहरू माथी अझै पनि छानविन गर्न सकिन्छ । अख्तियारमा त्यस्तो खालको ऑट र सहास भएको व्यक्तीत्व आवस्यक छ ।

अहिले सरकारी अड्डाहरूमा " म भ्रष्टाचार गर्दिन । भ्रष्टाचार गरेको पनि सहन्न " भनेर लेखेको वोर्ड देख्न पाईन्छ । म भ्रष्टाचार गर्दीन र सहन्न भनेको वोर्ड मुनी वसेर योजनाको मोलमोलाई भैरहेको हुन्छ । ठेका पट्टाबाट प्राप्त कमिसनको हिसाब किताव पनि भैरहेको हुन्छ । अनी ठुलठुला कमिसनका कारोबारको योजना वनिरहेको हुन्छ । खवर्दार भन्ने सहास भएको ऑटी शासक देखा परेको अनुभूती भएको छैन । मान्छेहरूलाई अख्तियार या कसैको डर लाग्न छोडी सकेको छ । हिजो संगै वसेर खाएको नौकरशाही हो । चिन्ता लिनु पर्दैन भाई कमाऊ खाऊ भन्ने परिरहेको छ । हिजो कथित " शिष्टाचारको कल्की लगाएर भ्रष्टाचार संग मित लाउने अनी चिन्ता फिक्री मुक्त भएर सरकारी नोकरी वजाऊने " मान्छे संग को डराउँथ्यो ? निस्फीक्री काम चली रहेको छ ।

यसर्थ स्थीती गम्मीर हुदै गैरहेको छ । समय अझै वाकी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वलीयो र प्रभावकारी वनाऊनु पर्दछ । त्यसको लागी अख्तियारमा पूर्व कर्मचारी होईन । हिम्मत, सहास र ऑटका साथ भ्रष्टाचार र भ्रष्टाचारी माथी निर्मम आक्रमण गर्न सक्ने व्यक्तित्व खोजेर नियुक्त गरिनु पर्दछ । नागरिक समाज तथा वौध्दीक क्षेत्र जता खोजे पनि सहासी र ऑटी व्यक्तित्व पाईन्छ । जागिरे मनोवृत्तिलाई तोडेर दरिलो ईच्छा शक्तिका साथ भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने " भ्रष्टमेव जयते " हुने खतरा छ ।" भ्रष्टमेव जयते "ले देश डुवाऊने निस्चीत छ । देश डुबे पछि कोही वाकी रहदैन । आऔ भ्रष्टाचार रूपी महारोगलाई नियन्त्रण गर्न कम्मर कसेर लागौ । अव पनि मोलाहिजा गरेर भ्रष्टाचार माथी निर्मम प्रहार गर्ने ऑट गरिएन भने देश वनाऊने सपना केवल सपना मात्र हुन्छ । चेतना भया ।।।