असोज १५, लेटाङ । संसार भरी नै अक्टोबर १ का दिन मनाउने अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा लेटाङ ५ को जनसेवा युवा क्लबले बिहीबार क्लब प्राङ्गणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
विगत ६ वर्षबाट निरन्तर कार्यक्रम गरेको क्लबले सेवा क्षेत्रका ५० जना जेष्ठ नागरिकहरुलाई सो अवसरमा सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित हुन नसक्नु भएका जेष्ठ नागरिकहरुलाई घर-घरमा पुगेर समेत सम्मान गरिएको हो ।
जेष्ठ नागरिक समाजका धरोहर र इतिहासका साक्षी भएका र अहिलेको समयमा घर परिवारबाटै उपेक्षित हुने समस्या रहेकाले यसलाई निराकरण गर्न क्लबले सचेत गराउन कार्यक्रम आयोजना भएको हो । क्लबले जेष्ठ नागरिकका विविध समस्याको समाधानमा समेत सदैब प्रतिवद्ध हुने जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधिहरु, जेष्ठ नागरिक एकता समाज लेटाङ नगर तथा वडा ५ कमिटी पदाधिकारीहरु, टोल विकास तथा विद्यालय प्रतिनिधिहरु तथा समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।




















