लक्ष्मी गौली

केही दिन अगाडि मैले एउटा आर्टिकल लेखेको थिए फाँसीको सजाय कति ठिक कति बेठिक । मैले बलात्कार कै लागि उठेको मागसँग सम्बन्धित रहेर त्यो लेख लेखेको त हैन तर एक पक्ष त्यो पनि हो । आज बिहानै एउटा समाचार आयो आफ्नै बाबुद्वारा छोरी बलात्कार ।समाचार पुरानै रहेछ ,करिब एक बर्स अगाडि को ।

यस समाचार मलाइ नै पठाएर धेरै जनाले प्रश्न गर्नुभयो यस्तालाइ फाँसी नदिएर के गर्ने त? मेरो उत्तर हो के यो फाँसीले चै साच्चिकै बलात्कार को घटना रोक्छ त? विभिन्न देश मा बलात्कारीलाई फाँसीको सजाय छ, ती देशहरुमा किन रोकिएन बलात्कार? अफगानिस्तान मा के भयो? बलात्कारि लाई फाँसीको सजायले बलात्कार कम हुने हैन ,बरु यस्ले "बलात्कार पछि हत्या" को घटना लाई चै अझै बढी बढाउछ । यस्को मतलब बलात्कारीलाई सजाय नै नदिने,छोड्दिने भनेको भने हैन तर बलात्कारी लाई फाँसी मा चढाऔ ,बलात्कारीको लिंग छेदन गरौ ,नुनचुक हालेर तड्पाउ भन्ने कुराहरु आइरहदा यो सब टर्चर दिने तरकिब हरु आक्रोश मा निस्किएको आवाज होकि साच्चिकै यो समस्यालाई कम गराउने उपायहरु हो यस बारेमा छलफल गरौ ।

Screenshot_20201002-193527_YouTube

आजसम्म जति यी नाराहरु सडकमा निस्किए यी सबै आक्रोशमा निस्किएका नाराहरु हुन नकि बलात्कार घटाउन सहयोय गर्ने उपायहरु । आज बलात्कारीहरु निर्धक्क बलात्कार यस कारण गर्छन कि उनिहरुले निर्मला बलात्कार देखि नै अपराधी सजिलै उम्किन सक्ने रहेछ भन्ने दृष्टान्त देखेका छन न कि कम सजाय पाइन्छ भनेर ।यस्को अझै गहिराइ मा जाने प्रयास गरौं ।

कुनै पनि समस्यालाई समाधान गर्न सुरुमा के गर्ने? यस्को सिधासाधा उत्तर हो स्वीकार गर्ने कि यो समस्या हो ,त्यस पछि समस्या कहाँ बाट आउदैछ यस्को उत्तर खोज्ने ।प्रत्येक बलात्कार पछि हामिले दुई कुरा छलफल गर्छौ ,बलात्कारीलाई के सजाय दिने?यस्को अनेकौ तरिका निस्किन्छ । हामी बलात्कारि लाई तड्पाइ तड्पाइ कसरी मार्ने भनेर एक पेज लेख्न पनि सक्छौ ।लिंग कसरी छेदन गर्ने,छेदन गरेको लिंग मा कसरी अमिलो हाल्ने?यो बिसयमा हाम्रो अन्त्यहिन ज्ञान छ ।

Screenshot_20201002-193527_YouTube
छलफल हुने अर्को बिषय हो बलात्कार बाट बच्न महिलाले के के सतर्कता अपनाउने? एकपटक एक नेताले महिला ले घर बाट हिड्दा खुर्सानी को धुलो बोकेर हिड्ने भनेर आइडिया दिएका थिए। नेताको नाम बिर्सिए । यी दुई बिसय बाहेक बलात्कार को सम्बन्ध मा खासै छलफल हुदैन ।बलात्कार को कारक तत्व बलात्कारि नै हो तर हामी यस्को बारेमा त कतै छलफल गरिरहेकै छैनौ । केही ले छोटो कपडा लाएर पुरुष उत्तेजित बनाएर बलात्कार हुन्छ पनि भन्लान् फेरि बुर्का लाउने हरु किन असुरक्षित छन ?किन बलात्कृत भैरहेका छन् ?फेरि 4 महिना को नानिलाइ देखेर पुरुष उत्तेजित हुन्छ भने अब स-साना नानिहरु कसरी जोगाउन सकिन्छ ?महिलाहरु बाहिर धेरै घुमफिर गरेको कारण पुरुष लाई सहज भएर बलात्कार बढेको भनेर पनि केही रुढीबादीहरु चिच्याउलान आफ्नै बुबाबाट बलात्कार भएका छोरी हरु बुबासँग कति मिटर को सोसियल डिस्टेन्स गर्नुपर्थ्यो? त्यसैले ,बलात्कार को जरा न त महिलाले लाउने कपडा ,न महिला को ज्यादा घुमफिर ,स्वतन्त्रतासँग सम्बन्धित छ न नै महिला ले राखेको दुरिसँग, यो त सिर्फ बलात्कारि को मनोबिज्ञान सँग सम्बन्धित छ ।

Screenshot_20201002-193527_YouTube (1)
त्यसोभए बलात्कार को समस्या नै बलात्कारी को मनोबिज्ञान हो भने हामिले बलात्कारी को मनोबिज्ञान बुझ्ने प्रयास कति गर्यौ? यदि समस्या नै बलात्कारिको मनोबिज्ञानमा छ भने बलात्कारिको मनोबिज्ञान नबुझी यो समस्या कसरी बुझिन्छ? समस्या नै बुझिएन भने कसरी समाधान हुन्छ? फाँसी दे फाँसी दे मात्र भनेर मात्र यो समस्या कहिल्यै समाधान हुदैन ।यस्को मनोबैज्ञानिक तबरमा अध्ययन हुनुपर्छ ।

बलात्कार लाई जतिसुकै ब्याख्या गरेपनी एउटा पुरुस ले बलात्कार गर्नुमा दुइटा कारण हुन्छ
१) जैविक र बिकासवादी
२) सामाजिक र सांस्कृतिक
केही मानिस हरुको बुझाइ छ कि मान्छेमा जन्मजातै sexually violent हुन्छन ।उनिहरु मान्छन कि मान्छे आफ्नो वंस फैलाउन सधैँ उद्दत रहेको कारण मानिस मा sexual violence क्षमता हुन्छ । तर देशै पिछे ,देश भित्र पनि जिल्ला जिल्लामा हेर्दा Rape Rate नै फरक फरक देखिएकाले यो कारण मा त्यस्तो ठूलो दम देखिदैन । एउटा पुरुष को दिमाग मा संवेदनहिनता ,महिला माथी गरिने अत्याचार को सामान्यिकरण यी सबै हाम्रो सामाजिक र सांस्कृतिक कारण ले हुन्छन्। मान्छेले कस्तो सोच्ने, महिलालाई कुन नजरले हेर्ने, सबै कुरा सामाजिक संरचना र सिकाइमा भर पर्छ ।त्यसैले बलात्कार नितान्त सामाजिक र सांस्कृतिक कारणले हुन्छ ।बलात्कारी को किसिम हरुको अधययन गरौ ।के सबै बलात्कारी एकै किसिमका हुन्छन् ?हुदैनन । यिनिहरुको मनोबिज्ञान पनि एकै किसिमको हुदैन । फरक फरक बलात्कारको घटनामा फरक फरक किसिम का बलात्कारि भेटिन्छन । कुनै बलात्कार साच्चिकै हिंश्रक पुरुष द्वारा हुन्छ भने कुनै बलात्कार सामान्य देखिने ,सामान्य ब्यक्तीहरु बाट नै हुन्छ ।

Screenshot_20201002-193527_YouTube (1)

बलात्कारी सबै एकै प्रकारका हुदैनन् । उनिहरुलाई भिन्नभिन्न समयमा भिन्न भिन्न माहोलले बलात्कारको लागि प्रेरित गर्छ । केही बलात्कारी अवसरवादी हुन्छन ,कोहि प्रतिसोध लिन पनि यस्तो अपराध गर्छन ,केही बलात्कारिहरु सहमतिय यौनसम्पर्क भन्दा बलात्कार लाई नै आनन्ददायी ठानेर पनि बलात्कार गर्ने गरेको पाइन्छ ।अवसरवादी बलात्कारीहरु आफैमा यौनकुन्ठा पालेर बसेका हुन्छन् तर योजना नै बनाएर बलात्कार भने गर्दैनन् । जब उनिहरुले स्विटेबल वातावरण पाउँछन् उनिहरुले अपराध गर्छन् ।
कहिले जंगलमा घाँस, दाउरा गर्दा भेटिएका महिला ,कहिले घरमा एक्लै बसेकी सानी नानी हरु यस किसिमका बलात्कारीका सिकार बन्छन्। नेपालको सन्दर्भ मा प्राय बलात्कारहरु यस किसिमका अपराधी बाट हुनेगरेको पाइन्छ । केही बलात्कार नारिमाथिको प्रतिसोधले पनि हुन्छ । बिगतमा आफ्नो प्रेम प्रस्ताव अस्विकार हुदाँ त्यस्को प्रतिसोधमा अथवा कुनै कारण एक महिलामाथी प्रतिसोध लिन पनि बलात्कार हुनेगरेको पाइन्छ ।प्राय एकतर्फी प्रेम मा यो खाल्को घटना घट्नेगरेको देखिन्छ ।
बलात्कारीहरु को यति प्रकार छुट्याएपनी यी सबै बलात्कारी हरुमा केही साझा चरित्र भने हुन्छ ।

यी चरित्रहरु तिब्र यौनतृष्णा मात्र हैनन । विशेष ३ प्रकारका चरित्र प्रायः सबै बलात्कारीहरुमा हुन्छ ।
१) संवेदनहिनता
२) उग्र पुरुस अहंकार
३) महिलालाई बस्तुको रुप मा हेर्ने प्रवृत्ति

बलात्कारीहरुमा पाइने एउटा साझा चरित्र भनेको संवेदनहिनता हो । यिनिहरु कठोर हुन्छन र यिनिहरुमा संवेदना हुदैन ।भलै यो कुनै रोग भने हैन । यिनिहरु बलात्कृत महिलाहरुको पीडा लाई महसुस नै गर्दैनन् । बलात्कृत महिलाहरु के बाट गुजृनुपर्छ भनेर यिनिहरु सोच्दैनन् र सामान्य घटनाको रुपमा लिन्छन् ।भारत मा एक जना ४१ वर्षिय पुरुष ले ५ वर्षिय बच्चिको बलात्कार गरे र सजाय काटिरहेका छन् तर एक जना रिसर्चर मधुमिता पान्डेसँगको अन्तरवार्तामा उनी भन्छन् "अब ती बच्चिलाइ कसैले बिबाह गर्नेछैन ,यो दुखद हो तर म जेलबाट छुटेपछी उनिसँग बिहे गर्न तयार छु ।" यहाँ बाट के थाहा हुन्छ भने ती ब्यक्तीलाई बलात्कारको ठिक बुझाई नै थाहा छैन । उस्लाई ती नानिको इज्जतको बारेमा मात्रै चिन्ता छ उस्को दुखाई ,टर्चरको बारेमा वास्ता नै छैन अथवा थाहा नै छैन ।

यिनिहरुको अर्को साझा चरित्र भनेको अहंकारवाद हो ।
बलात्कारीहरु महिला माथी शोषण गर्नुलाई आफ्नो अधिकार सम्म ठान्छन् ।मधुमिता पान्डेले गरेको एक रिसर्च अनुसार बलात्कार पछि पनि प्राय बलात्कारीहरु आफ्नो गल्ती स्विकार गर्दैनन् । उनिहरु यस्लाई आफ्नो हकको रुपमा लिन्छन र उनिहरुमा कुनै पस्चाताप नै हुदैन । उनिहरु मान्छन् कि महिलाको जिन्दगी भन्दा बढी आवश्यक एउटा पुरुषको यौनइच्छा हुन्छ,महिलाहरु यौनखेलौना हुन् र पुरुषको यौनइच्छा अनियन्त्रित हुन्छ ।

महिलामाथिको बलात्कारको सबै अपराधीको सबैभन्दा साझा र सबैबाट खतरनाक साझा चरित्र भनेको महिला लाई वस्तुको रुपमा हेर्ने दृष्टिकोण हो । उनिहरु महिला लाई कमजोर मात्र हैन असाध्यै निरीह पनि मान्छन् । त्यसैले जबसम्म समाजले प्रत्येक बच्चालाई महिलालाई वस्तुको रुपमा पनि नहेर्ने र कमजोर प्राणिको रुपमा पनि नहेर्ने दृष्टिकोणको सृजना गरेर हुर्काउदैन, तबसम्म प्रत्येक बच्चा हुर्कदैगर्दा आफुभित्र बलात्कारिको एउटा साझा चरित्र बोकेर हुर्किन्छ।हामिले चलचित्र हेर्न थालेदेखी आजसम्म पनि प्रायः चलचित्रहरुमा महिलालाई लड्न भिड्न सक्ने नभई निरीह भएर भाग्ने ,बलात्कृत भएपछी आत्महत्या गरिदिने,सडक मै पनि कसैले यौनदुर्ब्यबहार गर्छ भने पनि त्यस्को प्रतिरोध नगर्ने पात्रको रुपमा देखाइएको हुन्छ । सबै चलचित्र,म्युजिक भिडियोहरुमा उनिहरु आफै केही गर्न नसक्ने निरीह ,आत्मसमपर्णवादी हुन्छन् भनेर देखाइन्छ । केही दिन अगाडि निकै चर्चित गित "बदला बरिलै" यसैको बिम्बात्मक अभिव्यक्ति हो । त्यहाँ महिलाले बिद्रोह गर्दिनन् ,हरेक पटक भाग्ने कोसिस मात्र गर्छिन् । हाम्रो संस्कृतिमा पनि महिलालाई पुरुषले रक्षा गर्दिनुपर्ने भनेको देखिन्छ ।यस्ले प्रत्येक बच्चाको दिमाग मा महिला कमजोर प्रजाती हो भन्ने परिरहन्छ । यहि कुरालाइ थप स्पष्ट पार्दै अमेरिकी मनोबैज्ञानिक sherry hanbly भन्छिन् " बलात्कार एक पुरुषको तिब्र यौन इच्छाको मात्र नतिजा नभई त्यत्तिनै लेवलको नारी माथी अत्याचार गर्ने ,डोमिनेट गर्ने इच्छा पनि हो "

अमेरिकी रिसर्चरहरुले गरेको सर्भेमा के कुरा अगाडि आयो भने उनिहरु महिलालाई यौनबस्तुको रुप मा हेर्छन् । उनिहरुसँग केही धारणाहरु साझा पाइयो जस्का अनुसार उनिहरु मान्छन् कि कुनै पनि महिलाले यौनसम्पर्क को प्रस्ताब लाई "हुदैन" भनिन भनेपनी त्यस्को मतलब " हुन्छ " नै हुन्छ । ती महिलाहरु "हुदैन" भनेर चुनौती मात्र दिइरहेकी हुन् ।
अपवादका घटनाहरुलाई छाडेर प्रायः सबै बलात्कारहरु नितान्त सांस्कृतिक र सामाजिक समस्या हुन् ।जब सम्म महिलाहरु लाई बस्तुको रुपमा हेरिइरहिन्छ बलात्कारका घटनाहरु रोकिने छैनन् । महिलालाई हरेक ठाउँमा क्षमतावान् बनाउने ,पुरुस अहंकार भन्दा माथि उठाउदै लान सकियो साथसाथै दोसि ले अपराध गरेपछी उम्कन सक्दैन भन्ने ग्यारेन्टी पनि गर्न सकेर दन्डहिनता अन्त्य गर्न सकियो भने यस्ता समस्याहरु हराउदै जानेछन्।