बैतडी : बैतडीका स्थानीय तहले बालविवाहमा कमी र घरमा हुने सुत्केरीलाई शून्य बनाउन अभियान सुरु गरेको छ। दशरथचन्द नगरपालिकाले सुत्केरीको पोषण स्थितिमा सुधार ल्याउन हजार दिने आमाको घरमा रातो झण्डा राख्ने अभियान चलाएको छ। यस्तै, शिवनाथ गाउँपालिकाले पनि यही अभियान गरेको छ। पुर्चौडी नगरपालिकाले बालविवाह कम गर्न २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ। दशरथचन्द नगरपालिका–९ मा हजार दिने आमाको घरमा रातो झण्डा राखिएको छ।
वडाभरीका १घरमा रातो झण्डा राखिसकिएको वडा अध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए। हजार दिनका आमाको पोषण स्थितिमा सुधार ल्याउन, उनीहरुलाई समयमै स्वास्थ्य सेवा प्रदान गर्न र घरपरिवारलाई पनि हजार दिने आमाको स्वास्थ्यबारे सजग गराउन झण्डा राखिएको वडाध्यक्ष जोशीको भनाइ छ। झण्डमा ‘वडास्तरीय पोषण सुधार, राष्ट्र निर्माणको आधार’ लेखिएको जोशीबुंगा स्वास्थ्य चौकीका इन्चाज शिवकुमार कठरियाले जानकारी दिए। अन्य अवस्थाभन्दा गर्भवती र सुत्केरी भएको बेला थप पोषिलो खानेकुरा आवश्यकता पर्ने भएकाले हजार दिने आमाको घरमा झण्डा राखिएको बताइएको छ। झण्डा राखेका घरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुले घरभेट समेत गर्ने गरेको छ। हजार दिने आमाको घरमा प्रत्येक साता जाने र उनीहरुलाई पोषिलो खानेकुराबारे जानकारी दिने गरेको पोषणको क्षेत्रमा काम गरिरहेको संस्था सुआहाराका फिल्ड सुपरभाइजर जन्तरा भट्टले बताइन्। घरमा रातो झण्डा राखेपछि नियमित रुपमा घरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र पोषण सहजकर्ता आउने गरेका छन्।
यस्तै, शिवनाथ गाउँपालिका वडा नं ३ का अधिकांश घर झण्डा राखिएको छ। गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयको घरमा झण्डा राखेका अहेव मोहन कलौनीले बताए। गर्भवती र दुई वर्षमुनिका बालबालिकाहरुको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस भनेर झण्डा गाडिएको हो । गर्भवतीका घरमा पहेँलो र दुई वर्षमुनिका बालबालिकाहरु भएका घरमा हरियो झण्डा राखिएको छ। किशोरीको घरमा पनि झण्डा पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ। बालविवाहलाई निरुत्साहित गर्न झण्डा राखिएको नगरकी उपप्रमुख जानकी ऐर बमले बताइन्। बालविवाह कम गर्न विभिन्न प्रयास भए पनि नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडाका घरमा झण्डा राख्ने काम भएको हो । ‘बिहेवारी २० वर्षपारि’ नारालाई व्यवहारमा उतार्न झण्डा अभियान थालिएको उपप्रमुख बमले बताइन्।
प्रत्येक वडामा २५ देखि ३० जना किशोरी सम्मिलित किशोरीवृत गठन गरेर झण्डा राख्ने कार्य भइरहेको छ। बालविवाहले पार्ने असरबारे किशोरी स्वयं चनाखो नभई समस्या समाधान नहुने भएकाले किशोरीहरुकै सक्रियतामा पहिलो चरणमा एक हजार घरमा हरियो झण्डा राखिएको किशोरीवृतमा आवद्ध हरिना साउदले बताइन्।


