______योगेश राजभण्डारी 

क ) वैज्ञानिक समाजवादको सैद्धान्तिक आधार

मार्क्सवाद-लेनिनवादका ३ वटा संघटक अंगहरू मध्य तेस्रो संघटक अंगलाई वैज्ञानिक समाजवादको सिद्धान्त भनिन्छ । यस सिद्धान्तले कसरी उन्मूलन गरेर समाजवाद र पछि वैज्ञानिक साम्यवादको निर्माण र बिकास हुन्छ भन्ने अध्ययन गर्दछ । वैज्ञानिक साम्यवादको मुख्य प्रेरक शक्ति तथा नेता भनेको मजदुर वर्ग तथा सर्वहारा श्रमजीवी वर्ग हो । यसले आफ्ना बारिपरि सम्पूर्ण शोषित उत्पीडित जनतालाई गोलबन्द गरेर पूरै मानव जातिको मुक्तिका लागि संघर्ष गर्दछ ।


बैज्ञानिक समाजवादको स्थापना सर्वहारा श्रमजीवी बर्गको राज्यसत्ताबाट मात्र सम्भव हुन्छ । समाजवादी क्रान्ति र सर्वहारा वर्गको राज्यसत्ताको सवाल बैज्ञानिक समाजवादको निर्माण गर्ने एकमात्र हतियार हो । यसले मानिसद्वारा मानिसको शोषण र उत्पीडनलाई समाप्त पार्ने र वैज्ञानिक समाजवादी समाजका स्वरूपको निर्माण गर्ने बाटो देखाउँछ ।


वैज्ञानिक समाजवाद मार्क्सवादको तेस्रो संघटक अंग भए तापनि यसले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र राजनैतिक अर्थशास्त्रलाई आफ्नो आधार बनाएको छ । वर्ग संघर्षको सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तसँग वैज्ञानिक समाजवादको विशेष सम्बन्ध रहेको छ । बैज्ञानिक समाजवादी सिद्धान्तले समाजको पुनर्गठनमा उत्पन्न हुने समस्याहरू हल गर्दछ र ऐतिहासिक भौतिकवादको आधारमा नयाँ नियमहरूको अध्ययन गर्दछ ।

बैज्ञानिक समाजवादी समाजको अर्थशास्त्रीय पक्षको उच्चतम विकासको अवस्था भनेको “योग्यताअनुसारको काम, आवश्यकता अनुसार दाम” को अवस्थासम्म पुग्ने आर्थिक नियमहरूको विश्लेषण गर्छ । बैज्ञानिक समाजवादले आफ्नो विश्वदृष्टिकोण र राजनीतिक विचारधाराका रूपमा जुन बर्गले समाजलाई कान्तिकारी पुनर्गठन गर्न सक्दछ त्यसको हितको प्रतिनिधित्व गर्ने काम गर्नु हो । अर्थात्‌ बैज्ञानिक समाजवादको राजनैतिक दिशा भनेको सर्बहारा वर्गीय पक्षधरमा आधारित राज्यसत्ता प्राप्त गर्ने दिशा हो ।

समाजको यो पुनर्गठन-सम्बन्धी मूल दायित्व भनेको वर्तमान अन्तर्विरोधी समाजमा सबभन्दा विपन्न सर्वहारा बर्गको दायित्व हो । यसले सर्वहारा समाजवादी क्रान्तिलाई मात्र प्रतिनिधित्व नगरी, जनवादी आन्दोलनहरू र राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई पनि नेतृत्व प्रदान गर्न सक्छ । दुनियाँभरिका कम्युनिष्ट पार्टीहरू र मजदुर वर्गीय आन्दोलनहरू यही बैज्ञानिक समाजवादको स्थापनाका निम्ति अभिप्रेरित भएर अगाडि बढेका छन्‌ ।

बैज्ञानिक समाजवादको सिद्धान्तलाई प्रत्येक देशका कम्युनिष्ट पार्टीहरूले आ-आफ्नो परिस्थितिमा सृजनात्सक रूपले लाग्‌ गर्दै यसको सैद्धान्तिक पक्षमा आफ्नो तर्फबाट योगदान गरेका छन्‌ । यो सिद्धान्त आम हो भने आफ्नो देशको विशिष्ट अवस्था अनुरूप त्यहाँका कम्युनिष्टहरूले लाग्‌ गर्ने कुरा उनीहरूका कार्यक्रमको ठोस  पक्ष हो । वैज्ञानिक समाजवादको सिद्धान्तले आ-आफ्नो देशको परिस्थितिमा सैद्धान्तिक विकास गर्दै अगाडि बढ्छ र त्यसका निम्ति अनुकूल परिस्थितिहरूको पनि निर्माण गर्दछ !

ख ) वैज्ञानिक समाजवाद र काल्पनिक समाजवाद
सबैको संयुक्त सम्पत्ति, सबैले श्रम गरेर जम्मा भएको उत्पादनको समान वितरण, यस्तो समाजको परिकल्पना जहाँ मानिस-मानिसका बीचमा कुनै होच्याई वा अर्घेलो प्रकारको नहोस्‌ भन्ने समाज व्यवस्थाको पूर्वपरिकल्पनालाई “काल्पनिक समाजवाद” भनियो । समाजमा शोषणको आधार भनेको निजी सम्पत्तिको हो । यसको उन्मूलन गरेर मात्र समानताको समाज कायम गर्न सकिन्छ भन्ने अवधारणाको विकास १५ औं शताब्दीमा जर्मनीका थामस मोर (१४७८-१५३५) ले गरे । उनले यस्तो समाजलाई यूटोपियन समाज भन्ने नाम राखे । त्यही चिन्तनको विकास क्रममा इटालीका काम्पानोल्ला (१५६८-१६३९) त्यसलाई अझै विकसित पारे । यी काल्पनिक समाजवादीहरूको पछिल्लो लहर मा फ्रान्सका सेन्ट साइमन (१७६०-१८२५) चार्ल्स फूरिए (१७७२-१८३७) र रोवर्ट ओवेन (१७७१-१०५८) पनि यस्तै प्रकारको सुखी समाजको परिकल्पना गरे । तर उनीहरूले इतिहासको भौतिकवादी चिन्तनको विकासलाई बुभ्न सकेनन्‌ र समाजवादी रूपान्तरण गर्ने शक्तिलाई चिन्न सकेनन्‌ ।


काल्पनिक समाजवादीहरूको चिन्तन जतिसुकै पवित्र तथा मानवीय भए तापनि उनीहरूमा विद्यमान पूँजीवादी समाजका अन्तर्विरोध हल गर्ने कुनै ज्ञान थिएन । सामाजिक सम्बन्ध र तिनीहरुको विकासको गतिलाई अगाडि बढाउने बैज्ञानिक समाजवादी क्रान्ति एक उपाय हो भन्ने पनि थाहा थिएन । उनिहरूको विश्वास थियो -“यस्तो समाजको निर्माण समाजवादी विचारहरूको प्रचार-प्रसारबाट गर्न सकिन्छ भन्ने विश्वासको आधारमा त्यस्तो यूटोपियाई समाजको निर्माण पनि गरे । त्यो समाज-विज्ञानको वास्तविक नियमसँग मेल नखाने हुँदा असफल भयो ।

यूटोपियाई समाजवादी परिकल्पनामा रहेका मूल्यावान्‌ कुराहरूलाई विश्लेषण गरेर मार्क्स एगेल्सले बैज्ञानिक समाजवादका आधारको निर्माण गर्नुभयो । विभिन्न देशहरूमा यिनै काल्पनिक समाजवादी विचारधाराको आधारमा जनताले जनवादी आन्दोलनको पनि विकास गरे । अन्तमा ती सबै आन्दोलनहरू मार्क्सवादसँग सम्बृद्ध भएर मात्र विकास गर्न सके । किनभने, मार्क्सवादले मात्र सामाजिक परिवर्तनको क्रान्तिकारी आन्दोलनलाई मार्गदर्शन गर्न सक्थ्यो ।

ग) वैज्ञानिक समाजवाद पूर्वका संगठित मजदुर आन्दोलनहरुको विकास

युरोपमा पूँजीवादको विकास तीव्रगतिका साथ भइरहेको अवस्थामा मजदुर वर्गको स्थिति ज्यादै दयनीय रहेको थियो । मजदुरहरूले पूँजीपति वर्गको शोषण र उत्पीडनका विरुद्ध मेसिन तोड्ने आन्दोलनहरू पनि गरे । त्यसबाट आफ्नै वर्गको हानि नोक्सानी हुने र रोजगारीका अवसरहरूबाट पनि वञ्चित हुनुपर्ने स्थिति रहेकोले आफ्नो काममा सुधार र श्रमका अवस्थाहरूमा सुधार गर्ने माग गर्दै सन्‌ १८३० मा ब्रिटेनका मजदुरहरूले एउटा लामो कागजमा हस्ताक्षर गरेर तत्कालीन सरकार प्रमुख छेउ मागहरू राखे । यो आन्दोलन १० वर्षसम्म चल्यो जो चर्टिष्ट आन्दोलनका नामबाट प्रख्यात भयो । पूँजीवादी उद्योगको विकाससँगै ब्रिटेनमा नै एड्म स्मिथ र डेविट रिकार्डो जस्ता महान्‌ अर्थशास्त्रीहरूले श्रम-मूल्यको सिद्धान्त प्रतिपादन गरे । तर पनि मजदुर वर्गको अवस्थामा कुनै सुधार आउन सकेन ।

त्यसैको पृष्ठभूमिमा सन्‌ १८४४ मा कार्ल मार्क्स र एँगेल्स समेतको सहभागितामा अन्तर्राष्ट्रिय कम्युनिष्ट लिगको स्थापना भयो । यसका तर्फबाट सन्‌ १८४८ मा उनीहरूले मजदुर वर्गको संघर्षलाई सही मार्गदिशा प्रदान गर्न र तत्कालीन वर्ग संघर्षको निचोडका रूपमा सर्वहारा वर्गको मुक्तिको सिद्धान्त अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणा-पत्रको प्रकाशन गरे । तत्कालीन अवस्थामा सबभन्दा विकसित देशहरू इङ्गलैण्ड, फ्रान्स र जर्मनीहरू थिए । त्यहाँको विकासले पूँजीवादी समाजको अन्तर्विरोधलाई अझै तीव्र परिरहेको थियो। त्यसको परिणामस्वरूप सर्वहारा वर्गको राज्यसत्ताको सिद्धान्त पूँजीपति वर्गका बिरुद्ध गरिने संघर्षको महान्‌तम उद्घोष थियो ।

घ) वैज्ञानिक कम्युनिज्मको पहिलो दस्तावेज कम्युनिष्ट घोषणा-पत्र

वैज्ञानिक समाजवादको पहिलो कार्यमुलुक दस्तावेज कम्युनिष्ट घोषणापत्र सन्‌ १८४८ मा प्रकाशित भयो । त्यो प्रकाशन भएको १७२ वर्ष बितिसक्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा त्यसको महत्व कायमै रहेको छ । कम्युनिष्ट घोषणा-पत्रमा मार्क्सवादका मूल सिद्वान्तहरूको विवेचना गरिएको छ । पूँजीपति वर्ग र सर्वहारा बर्गको विकास कुन ऐतिहासिक परिस्थितिमा भयो र एउटा उत्पादन पद्धतिका ठाउँमा अर्को उत्पादन पद्दती आउनु किन अनिवार्य छ ? त्यसका नियमहरूको बैज्ञानिक व्याख्या प्रस्तुत गरिएको छ ।

यसमा “आदिम साम्यवादी समाज बाहेक आजसम्म विकसित भएका समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । वर्तमान सामाजिक संघर्षको अवस्थामा पूँजीवादको पतन अनिवार्य किन छ ? नयाँ सामाजिक प्रणालीको स्थापना किन अनिवार्य छ” भन्ने कुरा सिद्ध गरेका छन्‌ । यो नयाँ आर्थिक, राजनैतिक र सामाजिक प्रणाली अथवा वैज्ञानिक समाजवादको स्थापना गर्न मजदुर बर्गको अग्रिम दस्तावेजका रूपमा कम्युनिष्ट पार्टीको ऐतिहासिक भूमिकाको विवेचना गरिएको छ । कम्युनिष्ट पार्टीको तात्कालिक लक्ष्य भनेको सर्वहारा वर्गलाई संगठित गर्नु र पूँजीवादी प्रभृत्व भएको राज्यसत्तालाई ध्वस्त गरेर सर्वहारा वर्गको राज्यसत्ता कायम गर्नु हो भन्ने रहेको छ दीर्घकालीन लक्ष्यमा बैज्ञानिक समाजवादको निर्माण गर्नु रहेको छ ।

यसमा कम्युनिष्ट पार्टीले सम्पत्ति, परिवार र मातृभूमिप्रति कस्तो नीति अपनाउनुपर्छ भन्ने कुरा पनि स्पष्ट पारिएको छ । तत्कालीन रूपमा मजदुर वर्गको संघर्षलाई अनेकौं निहुँ र तरिकाले बंगयाउने अवैज्ञानिक किसिमका विचार, नीति र सिद्धान्तहरूको खण्डन गरेर बैज्ञानिक समाजवादको ओनववार्यताबारे स्पष्ट पारिएको छ । कम्युनिष्ट घोषणपत्रको महत्व दर्शाउँदै महान्‌ लेनिनले भन्नु भनेको थिए -“यो सानो पुस्तक पूरापूर ग्रन्थहरूको बरावरी छ । यसको मूल सार वस्तु भनेको संसारभरिका सर्वहारा वर्गलाई संगठित रूपमा संघर्ष गर्ने प्रेरणा प्रदान गर्नु हो । यसले उनीहरूलाई सामाजिक क्रान्तिका निम्ति बाटो देखाउने काम गर्दछ । यो दस्तावेज बैज्ञानिक समाजवादको कार्यक्रममूलक दस्तावेज भएको हुनाले यसमा मार्क्सवादका नवीनतम मान्यताहरू, सुसंगत भौतिकवादी दर्शन र द्वन्द्ववादका आधारमा इतिहासको भौतिकवादी व्याख्या प्रस्तुत भएको छ । संसारभरिका कम्युनिष्टहरूले वैज्ञानिक समाजवादका निम्ति प्रस्तुत गरिएको यो दस्तवेजलाई आधार बनाएर आ-आफ्नो देशको सामाजिक क्रान्तिको कार्यक्रम बनाएका छन्‌ ।” यो वैज्ञानिक समाजवादको दस्तावेजले नेपाली भाषामा आउन एक सय वर्ष पर्खनु पर्‍यो । सन्‌ १९४८ मा ने.क.पा.का संस्थापक क.पुष्पलालले यसको अनुवाद गर्नुभयो र अबको नेपाली क्रान्ति सर्वहारा श्रमजीवी वर्गको नेतृत्व हुने कुराको उल्लेख गरे ।

ङ) वैज्ञानिक समाजवादका निम्ति विश्वव्यापी आन्दोलन

सन्‌ १८४६ मा बैज्ञानिक समाजवादको कार्यक्रमका रूपमा कम्युनिष्ट पार्टीको घोषणा-पत्रको प्रकाशनपछि संसारभरिका मजदुर वर्गीय सर्वहारा श्रमजीवी वर्गको आन्दोलनका निम्ति एउटा सशक्त वैज्ञानिक विचारधाराको हतियार प्राप्त भयो ।
यसका विरुद्ध सवै देशको पुजिपती वर्गका प्रतिनिधिहरुले घोर आलोचना गरे आफ्नो स्वार्थका बिरुद्द मजदूरहरूले संगठित रूपमा संघर्षको बिकास गर्ने भएपछी यसका विरुद्ध अनेकौ प्रकारले दमन उत्पीडनमा उत्रिए जुन काम गरे कुरा अहिले सम्म कायम छ । तर पनि मजदुर तथा सर्वहारा बर्गीय आन्दोलनहरू रोकिएनन्‌ ।

कम्युनिष्ट घोषणा-पत्र प्रकाशित भएको छौटो समयमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका रूपमा सन्‌ १५६४ मा प्रथम इन्टरनेशनलको स्थापना भयो । यसले कम्युनिष्ट आन्दोलनलाई विश्वव्यापी रूपमा विस्तार गरायो | सन्‌ १८७१ मा पेरिसको सर्वहारा वर्गले ७२ दिनसम्म राज्य कब्जा गन्यो । त्यसको घोर दमन भयो । पेरिस कम्युनपछि त्यसको मूल्याँकन गर्दै मार्क्स एँगेल्सले सर्वहारा वर्गले राज्यसत्तामा कब्जा गर्नु मात्र ठूलो कुरो होइन, त्यसको रक्षा गर्न आफ्नै सेना र राज्यको निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निकाले ।

सन्‌ १८५३ मा कार्ल मार्क्सको निधनपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र वैज्ञानिक समाजवादका विकासको सम्पूर्ण अभिभारा फ्रेडरिक एँगेल्सको जिम्मामा आइपर्‍यो । उनले सन्‌ १८५९ मा दोस्रौ इन्टरनेशनलको स्थापना गरे । तर त्यसमा एडवर्ड बर्नस्टीन, कार्ल काउत्स्की जस्ता संशोधनवादी नेताहरूले कम्युनिष्ट आन्दोलनको धारलाई बंग्याउने काम गरे । सन्‌ १९०३ मा लेनिनको नेतृत्वमा रुसमा कम्युनिष्ट पार्टीका रूपमा सामाजिक जनवादी पार्टीको स्थापना भयो । त्यसले सर्वहारा वर्गको आन्दोलनको दिशा र वैज्ञानिक समाजवादको बाटोको निरूपण गर्ने काम गर्‍यो । लेनिनको नेतृत्वमा गठित भएको कम्युनिष्ट पार्टीको नेतृत्वमा सन्‌ १९१७ मा महान्‌ अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिको विजयले पूँजीवादको विकासित रूप साम्राज्यवादमाथि पहिलो पटक सशक्त प्रहार गर्‍यो । यसले विश्वभरिका सर्वहारा श्रमजीवी वर्गलाई पूँजीवादमाथि वैज्ञानिक समाजवादको विजय हुन्छ भन्ने कुराको बलियो आधार प्रदान गर्‍यो । सन्‌ १९१७ मा अम्दुबर समाजवादी क्रान्ति सम्पन्न भएपछि विश्वभरिका सर्वहारा श्रमजीवी वर्गले आफ्नो राजनैतिक प्रतिनिधिका रूपमा धमाधम कम्युनिष्ट पार्टीहरूको स्थापना गरे । सबै देशहरूमा क्रान्तिकारी संघर्षकोविकास हुन थाल्यो ।

सन्‌ १९२१ मा चीनको कम्युनिष्ट पार्टी र सन्‌ १९२२ मा भारतको कम्युनिष्ट पार्टीको स्थापना भयो । सोही समयकै सेरोफेरो यूरोप र एशियाका अन्य मुलुकहरूमा पनि वैज्ञानिक समाजवादको अधिकतम लक्ष्यलाई अगाडि राखेर आ-आफ्नो देशको परिप्रेक्षमा जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनका कार्यक्रमहरूको निर्माण गरेर बर्गीय तथा राष्ट्रिय स्वाधीनता र मुक्ति आन्दोलनहरू अगाडि बढ्न थाले । सोही परिप्रेक्ष्यमा नेपालमा सामन्ती जहानियाँ राणा शासनका विरुद्ध राजनैतिक संघर्ष गर्दै जनवादी नेपालको स्थापना गर्ने उद्देश्य राखेर सन्‌ १९४९ मा क.पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । यसको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद नै थियो भने न्यूनतम लक्ष्य जनवादको स्थापना गर्नु भन्ने रहयो ।


वर्तमान युग सर्वहारा क्रान्तिको युग हो । साम्राज्यवादका विरुद्ध समाजवादको स्थापनाको संसारव्यापी संघर्ष जारी छ । जुनसुकै देशको क्रान्ति सोही लक्ष्यप्रति समर्पित भएर अगाडि बढेको छ । हाम्रो देशको कम्युनिष्ट आन्दोलनको । मूल लक्ष्यबारे समग्र रूपमा भन्नुपर्दा यही वैज्ञानिक समाजवादको लक्ष्य तर्फ अभिप्रेरित रहेको छ । नेपाली क्रान्तिका सन्दर्भमा भन्नुपर्दा बैज्ञानिकसमाजवाद हाम्रो क्रान्तिको अधिकतम लक्ष्य हो भने जनताको बहुदलीय जनवाद न्यूनतम लक्ष्य हो ।

च) वैज्ञानिक समाजवादको पूर्वाधार झै समाजवादी क्रान्ति 
साम्राज्यवादविरोधी सर्वहारा समाजवादी क्रान्तिको युग हो भन्ने कुराले चर्चा माथि नै भइसक्यो । सर्वहारा समाजवादी क्रान्तिको प्रमुख ध्येय अधिकतम रुपमा वैज्ञानिक समाजवाद हो भने न्यूनतम लक्ष्य समाजवादी क्रान्ति हो । यसै कुरालाई प्रत्येक देशका सर्वहारा श्रमजीवी वर्गले समाजवाद र बैज्ञानिक समाजवादलाई अधिकतम लक्ष्यका रूपमा स्वीकार गर्दै आ-आफ्नो देशको परिस्थिति र समाज विकासको चरण अनुसार क्रान्तिका कार्यक्रमहरू निर्धारित गरेका हुन्छन्‌ ।

नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी नेकपाले पनि आफ्नो देशको विशिष्ट परिस्थितिको आधारमा वैज्ञानिक समाजवादको अधिकतम लक्ष्यलाई स्वीकार गर्दै न्यूनतम रुपमा जनताको बहुदलीय जनवादी कार्यक्रमलाई अगाडि सारेको छ । यो देशीय सामन्तवाद तथा दलाल नोकरशाही पूँजीवाद र अन्तर्राष्ट्रिय रूपमा बिश्वसाम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवाद भारतीय एकाधिकार पूँजीवाद एवं प्रभुत्वका विरुद्ध लक्षित भएको जनवादी क्रान्तिको कार्यक्रम हो । हामीहरू एकैचोटि समाजवादी क्रान्ति सम्पन्न गर्ने परिस्थितिमा छैनौं । किनभने, त्यसको आधार तयार पार्न नेपालको जनवादी क्रान्तिलाई चरणबद्ध रुपमा बिकसित गर्नुपर्छ र समाजवादमा प्रवेश गर्न सकिन्छ । त्यो नै वैज्ञानिक समाजवादको पूर्वाधार हो । यो क्रान्ति सम्पन्न नभई वैज्ञानिक समाजवाद आउने कुरो हुँदैन ।

बीसौं शताब्दीको पूर्वा्धमा वैज्ञानिक समाजवादको ढोका खोल्ने महान्‌ अक्टुबर समाजवादी क्रान्ति भयो । यसले सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै साम्राज्यवादलाई गंभीर चुनौती दियो । यो क्रान्तिले वर्तमान युगमा मानवजातिमाथिको वर्गीय शोषण र औपनिवेशिक शोषणका विरुद्ध संघर्ष गर्ने बैज्ञानिक क्रान्तिको आधार प्रदान गर्‍यो । साम्राज्यवाद र समाजवादका बीचको अन्तर्विरोधमा कहिले साम्राज्यवादले धक्का खानुपच्यो भने वर्तमान अवस्थामा विश्वका केही देशरुमा समाजवादले पनि धक्का खानु पप्यो र यो अस्थायी किसिमको धक्काबाट पुनः शिक्षा प्राप्त गरेर फेरि विश्वक्रान्ति अनिवार्य रूपले समाजवादी क्रान्तिकै दिशातर्फ उन्मुख भइरहेको छ ।

मार्क्सबादका संस्थापकहरूले समाज विकासका नियमहरू पत्ता लगाएर त्यसको विकासको दिशा निर्देश गर्दै विशेष गरी पुजीवादी समाजका आर्थिक नियमहरू पत्ता लगाए । यस अन्तर्गत पूँजीवादले आफ्नै गर्भबाट सर्वहारा श्रमजीवी मजदुर वर्गलाई जन्माउँछ जसले पूँजीवादलाई समाप्त पारेर समाजवादको दिशामा अगाडि बढ्छ भन्ने सिद्धान्त प्रस्तुत भयो ।
विकसित पूँजीवादी समाजमा मजदुर वर्गको स्थितिले गर्दा पनि उसलाई समाजवादी क्रान्तिको सबभन्दा भरपर्दो नेतृत्वकारी शक्तिका रूपमा स्थापित गर्दछ भन्ने निष्कर्ष आयो । किनभने समाजका सबै प्रकारका श्रमजीवी वर्गहरूमध्ये मजदुर वर्ग नै सबभन्दा चेतनशील राजनीतिक हिसाबले सवभन्दा संगठित हुने वर्ग हो । वर्गीय राजनीतिक हिसाबले पनि यो वर्ग समाजवादी क्रान्तिको प्रेरक शक्ति हुन्छ । यसले उत्पादनका साधनहरू माथिको निजी स्वामित्वको उन्मूलन गरेर मानिसमाथि मानिसको शोषणलाई उन्मूलन गर्दछ । समाजवादी क्रान्ति सम्पन्न गर्दा सर्वहारा वर्गले आफूसँगै सँगै अरू श्रमजीवी जनतामाथिको शोषण उन्मूलन गर्दछ । सम्पूर्ण श्रमजीवी वर्गको हितसँग सर्वहारा श्रमजीवी वर्गको हित पनि अभिन्न रूपले गाँसिएको हुँदा यो कुरा संभव हुन आउँछ । यस सम्बन्धमा लेनिनले भनेका छन्‌ - “मजदुर वर्ग र किसानहरूको क्रान्तिकारी सम्बन्धले पूँजीवादमाथि विजय प्राप्त गर्न सक्दछ ।” समाजवादी क्रान्ति भनेको सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा विराट जनसमुदायको सहभागितामा सम्पन्न हुने युगान्तकारी क्रान्ति हो र यसले नै वैज्ञानिक समाजवादको पूर्वाधार कायम गर्दछ ।

समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको पूर्वाधार तयार पार्ने अभिभारा समाजको सबभन्दा चेतनशील एवं राजनैतिक रूपले सबभन्दा संगठित सर्वहारा श्रमजीवी वर्गले मात्र गर्न सक्दछ । किनभने, उसँग मार्क्सवादी सिद्धान्त र वैज्ञानिक समाजवाद-सम्बन्धी विचारधाराहरूको क्रान्तिकारी हतियार रहेको छ । समाजवादी क्रान्तिका संरचनाहरूले पूँजीवादबाट समाजवादमा संक्रमण गर्ने आधारहरू सुनिश्चित पार्दछन्‌ । यो अवधिमा पुराना पूँजीवादी उत्पादनको सम्बन्धको पूरै उन्मूलन गरेर नयाँ किसिमको समाजवादीउत्पादन सम्बन्धहको स्थापना हुन्छ । यो उत्पादन सम्बन्धले गर्दा समाजवादी उत्पादक शक्तिहरूले विराट रुपमा मौलाउने अवसर पाउँछन्‌ । जसमा सम्पूर्ण उत्पादन साधनहरू राजकीय अधीनमा रहन्छन्‌ र तिनीहरूले समाजवादको आधारलाई झन्‌भन्‌ सुदृढ पार्दै अगाडि बढाउँछन्‌ । यो समाज विकासको अनिवार्य नियम हो । यसले नै वैज्ञानिक समाजवादको पूर्वाधार तयार पार्दछ।

समाजवादमा सम्पूर्ण उत्पादनको उद्देश्य र सार सम्पूर्ण समाजको हितमा अभिप्रेरित हुन्छ । पूँजीवादी व्यवस्थामा उत्पादनको सार भनेको नाफाद्वारा मानिसहरूको शोषण गर्ने जस्तो नभई समाजवादी व्यवस्थामा सम्पूर्ण जनताको हितप्रति लक्षित भएको हुन्छ । यसको उद्देश्य जनताको जीवनस्तर उकास्ने र भौतिक उत्पादनमा वृद्धि गर्नुका साथै समाजको सांस्कृतिक बौद्धिक स्तर पनि त्यही मात्रामा उन्नत पार्नुरहेको हुन्छ ।

समाजवादी समाजको उत्पादनपद्धतिमा उत्पादनका साधनहरूको सार्वजनिक स्वामित्वद्वारा एकाबद्ध भएको हुँदा त्यसको मालिक पनि एउटै हुन्छ र त्यसका लक्ष्य र ध्येयहरू पनि एउटै हुन्छन्‌ । सिंगो समाज मानव कल्याणका निम्ति अभिप्रेरित रहन्छ । यही ध्येयका निम्ति बिभिन्न उत्पादक समूह र एकाइहरूमा श्रेष्ठताको निम्ति प्रतिस्पर्धा हुदा विकासको दिशा अझै उन्नत हुन नजान्छ । यस्तो उत्पादन पद्धितबाट नै बिकासको वैज्ञानिक समाजवादको पूर्बाधार तयार हुन सक्छ । त्यस कारण निष्कर्षका रूपमा भन्न सकिन्छ कि समाजबादी क्रान्ति सम्पन्न नगरी बैज्ञानिक समाजवादका धरातल कायम हुन सक्दैन र यसको धरातलको निर्माण गर्ने काम समाजवादी क्रान्तिले मात्र गर्न सक्दछ ।
( मुल आधार :मार्क्सवादको आधारभूत सिद्धान्त : गोपिरमण उपाध्याय)