योगेश राजभण्डारी
“साम्यवाद' शब्दको सम्बन्ध अंग्रेजीको 'कम्युनिज्म' र ल्याटिनको 'कम्युनिस (Communist )' सँग छ । यस शब्दको पहिलो प्रयोग जुलाई राजतन्त्र काल (फ्रान्स, ई स १८३०-४८) मा केही गोपनीयवादीहरूले गरे जसले आफूलाई कम्युनिटे (Communate) भन्ने गर्थे । ई.स १८४० तिर फ्रान्समा 'कम्युनिस्टे (Communiste)' शब्द प्रचलित थियो । यसै वर्ष फ्रान्सका जोन गुडवीन वारमवीले बेलायतबाट प्रकाशित हुने 'न्यू मोरल वर्ल्ड' लाई प्रकाशनार्थ लेखेको एउटा पत्रमा 'कम्युनिस्टे' शब्द उल्लेख गरेका थिए र यसैबाट 'कम्युनिस्टे' शब्द सर्वप्रथम इङ्गल्याण्डमा देखापर्यो । उक्त पत्रमा उनले इटिने क्यावेटका समर्थकहरूको सन्दर्भमा तिनीहरू ओवेनवादबाट प्रभावित रहेको उल्लेख गरेका थिए ।
'कम्युनिज्म' शब्द चाहिँ इङ्गलैण्डमा ई. १८४१पछि लगातार प्रयोग हुन थाल्यो । यस शब्दको प्रथम प्रयोग मार्क्सले ई. १८४२ मा 'कम्युनिज्म एण्ड द अगष्टवर्ग अल्जीमिन जेइटुङ्ग' भन्ने लेखमा गरेका थिए तर त्यसमा पनि उनले “कम्युनिज्म' एण्ड द अगष्टवर्ग जेइटुङ्ग” भन्ने लेखमा गरेका थिए तर त्यसमा पनि उनले “कम्युनिज्म' लाई सैद्धान्तिक विश्लेषणका निम्ति उपयुक्त विषय ठहर गर्दै आफ्नो त्यसमाथिको दृष्टिकोणले पूर्णता प्राप्त गरिनसकेको स्वीकार गरे । त्यसपछि “कम्युनिस्ट वा 'कम्युनिज्म' शब्द समाजवादी आन्दोलनको सर्वहारावादी क्रान्तिका तात्पर्यमा प्रचलित हुन थाल्यो ।
“कम्युनिस्ट' शब्दको सर्वव्यापक तथा ठोस प्रयोग भने मार्क्स-एंगेल्सद्वारा रचित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र (ई. स १८४५) मै देखापर्यो जुन घोषित रूपमा मजदूर वर्गको पहिलो संगठन 'कम्युनिस्ट लिग' को राजनैतिक कार्यक्रम थियो र पछिल्लो अवधिमा त्यो विश्व कम्युनिस्ट आन्दोलनकै कार्यक्रम बन्न पुग्यो । जहाँसम्म यसको परिभाषाको प्रश्न छ त्यसबारे के भनिएको छ भने साम्यवाद भनेको त्यस्तो समाज व्यवस्था हो जुन समाजको उत्पादन शक्तिमाथि सामूहिक स्वामित्व रहेको हुन्छा र उत्पादित वस्तुहरूको आवश्यकताअनुसार उपभोग गरिन्छ ।”नेपाली शब्दकोशमा 'साम्यवाद' को अर्थ यसप्रकार दिइएको छ- “मार्क्सद्वारा प्रतिष्ठित तथा लेनिनद्वारा क्रियान्वित सम्बन्धित सम्पत्तिको अधिकार व्यक्ति विशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन प्रबन्ध र उपभोगका सिद्धान्तमा समाज व्यवस्था स्थिर गर्ने एवं आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनैतिक विचारधारा नै साम्यवाद हो" ।
'इनसाइक्लोपेडिया' तथा अन्य राजनैतिक शब्दकोशहरूमा पनि 'साम्यवाद' को लगभग यस्तै परिभाषा दिइएको पाइन्छ । द न्यू इनसाइक्लोपेडिया ब्रिटानिकामा भनिएको छ "साम्यवाद एउटा प्राचीन शब्दावली हो जसको अर्थ हुन्छ त्यस्तो समाज प्रणाली जसको सम्पत्तिमाथि समुदायको साझा अधिकार रहेको हुन्छ र त्यसको उपयोग व्यक्तिको आवश्यकता अनुसार गरिन्छ ।” 'साम्यवाद' शब्दले सर्वव्यापकता एवं सैद्धान्तिक धरातल त्यसबेला मात्र ग्रहण गर्यो जब ई. स १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा रचित विश्वप्रसिद्ध कृति- “कम्युनिस्ट पार्टीको घोषणापत्र” को प्रकाशन भयो। यस घोषणापत्रले आज सम्मको समाज बिकाशको इतिहासलाई 'वर्गसंघर्षको इतिहास' भन्दै समाज बिकासको बैज्ञानिक एवम तथ्यमुलक चीरफार प्रस्तुत गर्यो । उक्त घोषणापत्र पश्चात् ' साम्यवाद ' एउटा शोषण , वर्गबिहिन तथा समतामुखी समाजको अङ्ग बन्न पुग्यो ।
घोषणापत्रमा निजी सम्पतिको उन्मुलन गर्नु नै साम्यवादको सैद्धान्तिक ध्येय हो भनिएको छ र वर्गको हैसियतले चाहिँ सर्वहारा वर्गको सङ्गठन गर्नु, पूँजीवादी शासनलाई उखेलेर फ्याँक्नु र सर्वहारा वर्गद्वारा राजनैतिक सत्ता प्राप्त गर्नु नै साम्यवादको उद्देश्य हो” भन्ने मार्क्स एङ्गेल्सको भनाइ रहेको देखिन्छ । कम्युनिस्ट घोषणापत्रको अर्को आव्हान के पनि थियो भने विश्वका मजदुर वर्गले एकजुट भएर संसारलाई बलपूर्वक बदल्नु पर्दछ। यसरी पूँजीवादी समाजलाई सर्वहारा वर्गको नेतृत्वमा बलपूर्वक बदलेर समतावादी शोषणविहीन समाजको स्थापना गर्ने शास्त्र वा त्यसरी स्थापित हुने समाज व्यवस्था नै 'साम्यवाद' हो यो अवधारणा घोषणापत्रको प्रकाशन पश्चात् धेरै स्पष्ट हुँदै आयो ।
मानव जातिको उद्भवकालमा पनि समाज, वर्ग व्यवस्था र शोषणबाट मुक्त थियो । त्यसैले मानव जातिको त्यस अवस्थालाई पनि कतिपय समाजशास्त्रीहरूले आदिम साम्यवादी युग भन्न रूचाएका छन् भन्ने चर्चा माथि नै गरियो । त्यसपश्चात् विचारधाराकै रूपमा पनि प्लेटोकै समयदेखि (४२७-३४७ ई.पू) समतावादी समाजको पक्षपोषण, परिभाषा तथा व्याख्या गर्ने प्रयास हुँदै आएको हो । उन्नाइसौं शताब्दीको युरोपमा दार्शनिक तथा विचारकहरूको केन्द्रविन्दुका रूपमा रहेको “काल्पनिक समाजवाद” नै साम्यवादलाई आधुनिक सन्दर्भमा विचारका रूपमा उभ्याउने प्रारम्भिक कदम थियो ।
इंग्लैण्डमा ओवेनवादीहरू र फ्रान्समा फु्रिएरवादीहरूले पनि स्वस्फूर्त साम्यवादी' चिन्तनलाई अघि बढाए । पछि गएर यिनै 'स्वस्फूर्तवादीहरू' नै 'काल्पनिक समाजवाद“ का जन्मदाता बन्न पुगे । कम्युनिस्ट पार्टीको घोषणापत्रमा नै ई. १८४७ पूर्व युरोपमा समाजवादी पूँजीवादी आन्दोलन र साम्यवाद मजदूर आन्दोलनका रूपमा विकसित भएको उल्लेख गरिएको छ ।“ तर मार्क्सवादको उदयपश्चात् भने काल्पनिक समाजवाद, पूँजीवादी आन्दोलन वक मजदूर आन्दोलन जस्ता कुनै पनि नाममा चलेका पूँजीवाद विरोधी आन्दोलन स्पष्टत: 'कम्युनिस्ट आन्दोलन कै रूपमा चलिरहेका छन् ।




















