काठमाडौं/ललितपुरको महाँकाल गाउँपालिकामा एक महिलाले अनौठो र रहस्यमय रुपमा आत्महत्या गरेकी छन् ।

महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई पहिला झुण्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन् । आत्महत्या गर्ने महिला मुगुकी २६ वर्षे जानु शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ ६ः३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो । जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन् । ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्षसहितको टोली कोठाभित्र पसेको थियो । त्यहाँ जानु झुण्डिएको अवस्थामा फेला पारेकी थिइन् ।

महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानुले कोठामा आत्महत्या गरेको पुष्टि भएको छ । उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झुण्ड्याएरपछि आफू पनि त्यहीं झुण्डिएको प्रहरीले जनाएको छ ।

घटनास्थल महानगरीय प्रहरी वृत्त चापागाउँबाट करिब ६० किलोमिटरको दूरीमा पर्छ । घटनास्थलमा पुगेका चापागाउँ वृत्तका प्रमुख राजकुमार खिउजुका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी कामको सिलसिलामा मुगुबाट महाँकाल आएकी थिइन् । श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन् ।