✍️ आचार्य अमृत
शब्दको जाल थापेर आज मान्छे निदाउँछ
भोलि नै उसले धेरैलाई आफ्ना बनाउँछ
तर उद्देश्य अर्कै छ उसका शब्दजालमा
स्वार्थ पूरा गरी ठेल्ने सबैलाई किनारमा ।
शब्दको जाल जो बुझ्छ होसले दूर बस्छ त्यो
सोझो माछो परेजस्तो पर्दैन जालभित्र त्यो
वाच्यार्थ मात्र बुझ्दैमा पुग्दैन आज मित्र हो
लक्षणा व्यञ्जना खेल्छन् पहेली शब्दशास्त्रको ।
पूर्व लाग्यो भनी ठान्यो ऊ जाने गर्छ पश्चिम
गयो उत्तर भन्दै छन् ऊ ता ओर्लेछ दक्षिण
कुरा र काममा मेल देखिँदैन कतै पनि
शब्दका जालमा हुन्छन् नशाका पुरिया पनि ।
शब्द वाक्य पढेकै हो तिनको अर्थ जान्दछु -
भनेर कहिल्यै सेखी नगर्नू यो म भन्दछु
'हो हो' भन्दै गर्यो हुन्न त्यो 'हो' ता बन्छ ' होइन'
'नहोला त्यो' भनी ठान्यो तर त्यो हुन्छ 'हो' किन ?
शब्दजाल भए आज हाँकिन्छ विश्व स्वादले
भन्ने निष्कर्ष यो निस्क्यो सत्य दाब्ने हिसाबले
सत्यको पथमा चल्ने गए वैलाउँदै अब
शब्दजालीहरू मात्र भए निक्खर मानव !




















