धनकुटा । धनकुटामा ८ सय ३ जनाले कोरोनाभाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लामा गत माघ १४ गतेबाट शुरु भएको पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान आजसम्म आइपुग्दा जम्मा ८ सय ३ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार खोप लगाउनेमा ४ सय १७ जना पुरुष रहेका छन् भने ३ सय ८६ जना महिला रहेका छन् । जसअन्र्तगत २ सय ९० जना स्वास्थ्यकर्मी,१ सय २१ जना स्वास्थ्य कार्यलयका कर्मचारीहरु,महिला स्वंयम्सेवक २ सय ३३ जनाले खोप लगाएका छन् । यस्तै गरी २३ जना सुरक्षाकर्मी ,सवारी चालक तथा सफाइकर्मी ८ जना,विश्रान्तीमन्दिरका ५५ जना वृद्धवृद्धाहरु,र ७४ जना कैदिबन्दिहरुले खोप लगाएका छन् ।
यस अवधीमा छुटेकाहरुलाई आज विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसंगै मात्रा पुरा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिसिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायीक स्वास्थ्य स्वयंसेविका, सरफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइदै गरेको स्वास्थ्य कार्यलय प्रमुख गुरागाईले बताउनु भयो ।देशभर झन्डै ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ ।




















