पर्वत : निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीहरूले स्वतः स्थायी हुनुपर्ने माग गर्दै पर्वतमा निर्माणाधीन तल्लो मोदी जलविद्युत आयोजनाको काम ठप्प पारेका छन्।   उनीहरूले कुस्मा नगरपालिका–७ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै विद्युतगृह, हेडर्बक्स र सुरुङमा भइरहेको काम पनि ठप्प पारेका हुन्। २० मेगावाट क्षमताको आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो। 

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा कार्यरत कामदार र कर्मचारीहरूले स्वतः स्थायी गर्नुपर्ने मागसहित प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने तथा विद्युतगृह लगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग राखेका छन्। आयोजनामा कार्यरत ४० जना कर्मचारीहरूले जेठ २० देखि काम बन्द गरेपछि निर्माण कार्य प्रभावित भएको छ।

आयोजनामा सुरु भएदेखि नै काम गरिरहेका कर्मचारीहरूलाई थाहा नै नगरी बाहिरबाट अन्य कर्मचारी थप गरिएकोमा पनि विरोध गरिरहेका छनन्। उनीहरूले आपूmहरुलाई स्थायी गर्ने भनी पटक पटक सम्झौता भए पनि कार्यान्वयनमा बेवास्ता गरेको दाबी गरेका छन्।  कर्मचारीहरुले यसअघि जेठको ८ देखि १२ सम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए।

काम ठप्प भएपछि जेठ २० मा सहमति भएपछि काम सुरु गरे पनि फेरि बेवास्ता गरिएकाले आन्दोलन गर्नुपरेको कर्मचारी रमेश भण्डारीले बताए। यता आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि मात्र प्रक्रिया पूरा गरेर मात्र स्थायी गर्ने योजना रहेको बताएको छ। आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीहरूलाई सहयोगीको रूपमा राखेर काम गरिएको प्रष्टीकरण दिएका छन्। स्थायीको प्रक्रियामा जाँदा पहिलो प्राथमिकता काम गरिरहेका कामदार र कर्मचारीहरूलाई दिइने यादवको भनाइ छ। २०६९ साउनमा निर्माण प्रारम्भ गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असार थियो।

आयोजनाले विभिन्न कारण यसअघि धेरै पटक उत्पादन मिति सारिसकेको छ। अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो। लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजना प्रमुख यादवको दाबी छ।