बेलबारी, ६ चैत्र । बेलबारी नगरपालिकाले नागरिकहरुलाई न्यायको वास्तविक प्रत्याभूति दिलाउँन नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना गर्ने भएको छ।नगरपालिकाले उक्त कार्य सम्पादनका लागि पालिकाभित्रका एघार वटै वडाहरुमा एकसाथ काम गर्ने गरि मेलमिलापकर्ताहरुलाई तालिम दिने काम थालेको छ।

नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि मेलमिलापको तालिम सुरु गरेको छ।कार्यक्रमकी अध्यक्ष एवम् न्यायिक समिति संयोजक समेत रहेकी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेकी थिइन्।कार्यक्रममा बोल्दै वडा नं २ का वडाध्यक्ष घनश्याम गौतमले न्यायिक क्षेत्रमा जिल्लामै उत्कृष्ट काम काम गरिरहेको बेलबारी नगरपालिका न्यायिक समितिले अब वडा वडा टोल टोलमा पुगेर न्याय दिने कुराले आफू लगायत नागरिकहरु उत्साहित भएको बताए। कार्यक्रममा बोल्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले न्याय भन्ने कुरा दिनेले दिएजस्तो भन्दा पनि पाउनेले पाएजस्तो महशुस हुनेगरी दिनुपर्ने भएकोले न्यायिक संयन्त्रहरु अत्यन्तै सचेत र सावधानी अपनाएर मात्र न्यायमा पहुँच विस्तार गर्न सकिने बताइन्।

`एघार वटा वडाहरु रहेको बेलबारी नगरपालिकाका प्रत्येक वडाहरुबाट तीन जना गरि जम्मा ३३ जना सहभागीहरुले तालिम लिए पश्चात् वडा वडामै मेलमिलापकर्ताहरु रहनेगरी केन्द्रहरु स्थापना र संचालन हुनेछन्।त्यसपछि टोलका मुद्दा टोलमै गाउँका मुद्दा गाउँमै मिलाउँछौ र नागरिकलाई सहज न्यायको प्रत्याभूति दिलाउँछौ-उपप्रमुख पराजुलीले भनिन्। न्यायिक समितिकी उजुरी प्रशासक तारा भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा न्यायिक समितीका सदस्यहरु,जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो।तालिमको सहजकर्ताको रुपमा मानव अधिकार मन्च इलाम रहेको छ।