बैतडी। बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले यसअघिको बयान फेरेका छन्। आफन्तसँगको सम्पर्कमा दिनेशले जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरु समक्ष बयान फेरेका हुन्।

दिनेशका बुबा दिपकप्रकाश भट्टले शनिबार छोरालाई भेटेर आएको बताउदै भने, ‘बाबुले हत्या गर्ने एक जनालाई आफूले चिनेको र अर्कोलाई नचिन्ने बताएको छ। चिनेको एकजना वडा कार्यालयकै कर्मचारी हो भन्छ।’

अहिले यस्तो किन भन्छस्, पहिले आफ्नै अगाडि स्वीकार गरेको होस् भन्ने बुबाको प्रश्नमा दिनेशले भने, ‘पहिला तपाईं (बुबा) गाउँमै हुनुहुन्थ्यो। मेरो घाँटीमा चक्कु लगाएर तपाईं र भाइलाई मारिदिने धम्की दिएको हो । तपाईं गाउँमै हुनुहुन्थ्यो। तपाईंलाई गाउँमा मारिदियो भने म कहाँ जाउँला भनेर स्वीकार गरेको हुँ। अहिले तपाईं गाउँबाट बाहिर हुनुहुन्छ। त्यही भएर मैले साँचो कुरा भनेको हुँ।’ हाल दिनेशका बुबा कञ्चनपुरको महेन्द्रनगरमा भाइको घरमा रहेका छन्।

तर, यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो। सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दिपकराज भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी बताएको थियो। भागरथी हत्या प्रकरणमा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन्।

घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी हत्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ। तर, घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन्। केहीको बढुवा समेत भएको छ। यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएका थिए।

भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएका थिए। गत २१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो। उनको शव २२ माघमा फेला परेको थियो।लोकपाटी बाट