भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईंलाई उहाँको कार्यकक्षमा पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको पथरी शनिश्चरे नगर कमिटीले कोभिड –१९ को प्रभावको रोकथाम र यससम्बन्धी अपनाउन सकिने सम्भावित उपायबारे ध्यानाकर्षणपत्र बुझाएको छ ।
आधारभूत रूपमा दैनिक प्रयोगमा ल्याउन सकिने १५ वटा विषय शीर्षकका मुद्धामाथि नगर प्रमुखमार्फत स्थानीय प्रशासन व्यवस्थापनको समेत ध्यानाकर्षण गराइएको उक्त प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय युवा संघ नेपालका मोरङ जिल्लाका अध्यक्ष नवीन पौडेलले गरेका थिए । नगर अध्यक्ष किशन चाम्लिङ राईं र सचिव रोशन गुरूङद्वारा हस्ताक्षरित तीन पृष्ठ लामो ध्यानाकर्षणपत्रले विगतका कतिपय असावधानीका कारण व्यहोर्नुपरेको तितो यथार्थलाई शिक्षाको रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएको छ ।
देश दुनियाँको सचेत मानव अहिले यतिबेला कोभिडविरूद्ध युद्धस्तरमा लडेको छ । हामीले यहाँ भने अलिक बढी हेलचेक्र्याईं गरेको हो कि भन्ने अनुभूति भइरहेकोले युवा संघको तर्फबाट आवश्यक मात्रामा ध्यानाकर्षण गराएका हौं पत्र बुझाउँदै गर्दा अध्यक्ष किशन चाम्लिङ राईं बताए ।
‘यतिबेला यत्रतत्र सर्वत्र उभिएको मानव जनमत, मानवबस्ती र विश्वबजार तीब्रत्तर ढंगले फैलिँदो कोभिड –१९ को संक्रमण, लहर र प्रभावले आक्रान्त बनेको छ । कतिपय देश–देशान्तरका ठाउँहरूमा स्वास्थ्यकर दिनचर्याका लागि अपनाइने सावधानीका कैयौं उपायहरू अवलम्बनमा ध्यान पुर्याउन नसक्दा सामान्य लक्षण मात्र होइन, कोभिडले जबरजस्ती हस्तक्षेप गरेको छ र मानवबस्ती उजाड बन्ने गरेका खबरहरू आइरहेका छन् । यसबेला विकसित प्रविधि, औषधी विज्ञान र खोपका उपायहरू समेत फेल खाइरहेका छन् । यो वास्तवमै अत्यन्तै ठूलो महामारी हो, गम्भीर प्रकृतिको मानवविरोधी भाइरस हो । हात मिलाउँदा, अंकमाल गर्दा, सँगै उठबस गर्दा, जुठो खाँदा, एउटै रूमाल प्रयोग गर्दा, नजिकै श्वासप्रश्वास गर्दा, खोक्दा, हाछ्युँ गर्दा, सँगै सुत्दा वा सहयात्रा गर्दा आदि यो रोग सर्ने गरेको छ । यसबाट बच्न सक्ने भनेको पूर्णतः सावधानी अपनाएर मात्र हो भन्ने कुरा स्वसिद्ध भएको छ ।’ ध्यानाकर्षणपत्रको प्रारम्भमै भनिएको छ ।
पथरीको भौगोलिक अवस्थिति र बजार क्षेत्रलाई मोरङमा पूर्वकै एउटा आकर्षक व्यापारिक–व्यावसायिक र शैक्षिक केन्द्रको रूपमा चित्रित गरेको ध्यानाकर्षणपत्रले मूलतः ‘यत्रतत्र ठूलो संख्यामा भीडभाड हुन नदिने, यसलाई न्युनीकरण गर्ने, आवागमनलाई नियन्त्रणमा लिने, आवश्यकतानुसारका कार्यस्थलहरूलाई अपनाउनुपर्ने सावधानी अपनाएर मात्र सञ्चालनमा ल्याउन अनिवार्य गर्नेजस्ता कुरामा विधि अविलम्बनका सन्दर्भमा विगतमा पनि बेलाछँदै ध्यान पुर्याउन नसक्दा हाम्रै पालिकामा पनि ठूलो जनधनको क्षति भएको’ विषयलाई एकदमै जोड दिएको छ ।
व्यवस्थापनका विषयमा एकद्वार प्रणाली र यसको पारदर्शिताको पक्ष कमजोर हुँदा कतिपय विषयमा हामी आलोचित समेत बनेको विगतलाई स्मरण गर्दै उक्त ध्यानाकर्षणपत्रले समय र परिस्थितिअनुरुप अविलम्ब लक डाउन कार्यान्वयनमा ल्याउन जोड दिएको छ भने नागरिकको स्वास्थ्यप्रति गम्भीर संघीय सरकार र प्रदेश सरकारले नागरिक सचेतना, स्वास्थ्य सावधानी र रोकथामबारे कोभिड संक्रमणविरूद्ध पटकपटक आह्वानलाई तल–तलसम्म कार्यान्वयनमा नल्याइनुमा शंसय समेत व्यक्त गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालको झण्डामुनि उभिएको देशव्यापी युवाशक्ति यस भयावह महामारीका बेलामा नागरिक स्वास्थ्य अवस्था चुस्तदुरुस्त कायम राख्न देशव्यापी रूपमै तहगत विभिन्न सरकारसँग सहयात्रा र सहकार्य गर्दै आएको सन्दर्भमा यस मातहतको पथरी शनिश्चरे नगर कमिटीले ध्यानाकर्षणका लागि आवश्यक विषयवस्तुहरू अघि बढाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पत्रमा मूलभूतमा सार्वजनिक स्थलमा भीडभाड हुन नदिने नियम बनाउनुपर्ने, भीडभाड हुनुपर्ने अवस्था भए शारीरिक दूरी कायम गर्नुपर्ने कुरामा अनिवार्य नियमन गर्नुपर्ने, अस्पताल, फार्सेसी, सरकारी कार्यालयको प्रशासनिक कक्षलगायत अनिवार्य भीडभाड हुने स्थलहरूको प्राथामिकता निर्धारण गर्नुपर्ने, सर्जरी मास्कलाई सही तरिकाले अनिवार्य प्रयोगमा ल्याउन चौतर्फी माइकिङ गर्नुपर्ने, ह्याण्ड वास र सफा पानीको प्रयोगमा ध्यान दिन जोड गनुपर्ने, अनुमति बिना कुनै पनि खालको यातायात र आवागमनलाई पूर्णतः निषेध गर्नुपर्ने, समुहमा खेलिने लुडो, तास, डाइस, केरेमबोर्डजस्ता खेल र खेलस्थलहरूमा अनिवार्य निगरानी गर्नुपर्ने, संक्रमित छ भने उसको मनोवल बढाउने व्यवहार गर्नुपर्ने, अनावश्यक डर, त्रास र भय सिर्जना गर्ने माध्यमहरूमाथि निगरानी गर्नुपर्ने, मर्निङ वाकको सट्टामा घरमै दैनन्दिन योगा, प्रणायम आदि गर्न प्रोत्साहन गर्नुपर्ने, विवाहलगायतका उत्सवहरू आयोजनबाट हुने संक्रमणलाई ध्यानमा राख्दै ठूला र भड्किला आयोजनलाई नियन्त्रणमा लिनुपर्ने, नगरले आवश्यक मात्रामा औषधी र अक्सिजनको जोहो गर्नुपर्ने, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ अभियान चलाउनुपर्ने, बिना कुनै खास प्रयोजन आफन्त, चिनेजानेको, साथीभाइ आदि भनेर अनावश्यक भेटघाट नगर्ने कुरामा सचेतना फैलाउनुपर्ने, पशुपङ्क्षीबाट पनि यो रोग सर्ने भएकाले यिनको स्याहारसम्भारमा समेत ध्यान दिन सचेतना ल्याउनुपर्ने, हाम्रो दैनन्दिनको जीवनशैली निर्धारणमा सफा र ताजा पौष्टिक भोजनमा ध्यान दिनुका साथै वनौषधिलगायत घरमा उपलब्ध जडिबुटिजन्य वस्तुको प्रयोगमा जोड दिन सचेतना अभिबृद्धि गर्नुपर्ने, संक्रमणका लक्षणहरू देखिना साथ सम्पर्क प्रभावकारी सम्पर्कका लागि निश्चित जिम्मेवार व्यक्तिको नाम र सोझै सम्पर्क नम्बर सार्वजनिक गरिनुपर्ने र यथासमयमा सहजै एक्बुलेन्स उपलब्ध गराउनुपर्ने विषयहरू उल्लेख भएका छन् ।
जनस्वास्थ्यका लागि जनसचेतना अभिबृद्धिको पक्षमा अहोरात्र खटिँदै आएका राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव विजय डाँगीले युवा संघको पथरी शनिश्चरे नगरले आफ्नो ध्यानाकर्षणपत्र बुझाएको बताए ।



















