पथरी, असार १० गते । आज प्रायशः पालिका सरकारले सभा आयोजना गरेका छन् । कतिपय पालिकाले आफ्नो सभा आयोजनको तामझामलाई महत्त्व दिएका छन् भने कतिपयले दीर्घकालीन प्रभाव पार्ने रणनीतिक महत्त्वका कार्यक्रमलाई । कतिपयले रौस, नाचगान, खानपिन र रमाइलोलाई महत्त्व दिएका छन् भने कतिपयले लक्षित वर्ग र समुदायलाई तिनको पहुँच विकासमा योजनाहरू अघि सार्दै प्रत्यक्ष परोक्ष सेवा सुविधा अभिबृद्धि गर्ने कुरामा जोड दिएका छन् ।

आठौँ नगरसभाको रूपमा आज सम्पन्न मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रूपैयाँको बजेट प्रस्तुत र पारित गर्दै नगरको समृद्धिका लागि बृहत्तर योजना सहित आठौँ नगरसभा सम्पन्न गरेको छ । बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालु आ.व.को संशोधित बजेटको तुलनामा आगामी आ.व.को लागि २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशतले बढि हो । स्रष्टा समेत रहेकी उपप्रमुख पराजुलीद्वारा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित बजेट प्राप्तिका स्रोतहरूमा कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ । संघीय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रममार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरिएको छ ।

प्रस्तुत कुल बजेटको विनियोजन प्रशासनिक खर्च र चालू कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पूँजिगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ । सामाजिक विकास कार्यक्रम तर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रम तर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रम तर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यवस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।

चालु आ.व.को जेष्ठ मसान्तसम्मको वजेट खर्च चालूतर्फ ६७ प्रतिशत र पूँजिगत तर्फ ३४ प्रतिशत गरी कुल बजेटको ५२ प्रतिशत खर्च भएको उपमेयर पराजुलीले बताइन् । समृद्ध कृषि कार्यक्रम, युवा उद्यमशीलता, निःशुल्क थेरापी सेन्टर, एकवडा एक ज्येष्ठ नागरिक चौतारी, एकवडा एक उत्पादन, बेलबारी कला साहित्य प्रतिष्ठानको भवन निर्माण, सञ्चारगृह निर्माण, गरिबसँग नगरपालिका, स्मार्ट कृषि कार्यक्रम, नगर कोभिड अस्पताल निर्माण सञ्चालन, नागरिक दन्त उपहार कार्यक्रम, नेत्रज्योति उपहार कार्यक्रम, प्राविधिक शिक्षामा लगानी, छात्रावृत्ति, एक शिक्षक एक ल्यापटप अनुदान कार्यक्रमलगायत नेकपा एमालेको घोषणपत्र निर्देशित विभिन्न जनमुखी कार्यक्रमहरू यही आउने आर्थिक बर्षमा सम्पन्न गर्ने गरि बजेट विनियोजन गरेको उपमेयर पराजुलीले बताइन् ।




















