इलाम, २९ असार । उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्या नेपाल प्रहरीका असई युवराज बानियाँबाट भएको खुलेको छ ।
त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षागार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर ती महिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला (पराजुली) को शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे भेटिएको थियो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएको थियो । घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘पक्राउ आरोपीले महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘आरोपी बलात्कार गरेको चाहिँ स्वीकारेका छैनन् तर हामीलाई उनको कुरामा विश्वास छैन, थप अनुसन्धानमै छौं ।’
एसपी श्रेष्ठले आरोपी प्रहरी कुन दर्जाका हुन् भन्ने खुलाउन चाहेनन् । ‘पहिला ऊ (आरोपी) प्रहरी थियो,’ एसपी श्रेष्ठले भने, ‘घटनापछि अब उसको दर्जा खुलाइरहनु आवश्यक भएन । म अहिले भन्दिनँ ।’ हत्याअघि ती महिलामाथि बलात्कार भए÷नभएकोबारे अस्पतालको रिपोर्ट आउन बाँकी छ ।
अदालतको बलेंसीमा घोप्टो परेको, लगाएको कपडा करिब घुँडासम्म पुगेको र केही चोटपटक समेत रहेको अवस्थामा महिलाको शव फेला परेको थियो । सोधपुछपछि प्रहरीले सोमबार बिहान १० बजेतिरै आरोपीलाई पक्राउ गरेको जानकारी दिएको छ । दुवै जनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि सार्वजनिक गरिएको थिएन ।
दिउँसो धरानस्थित संघीय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत झिकाएर घटना अनुसन्धान गरिएको थियो । चौबीसै घण्टा प्रहरीको सुरक्षा पहरा रहने अदालत छेउमा नेपाली सेनाको टोली पनि बस्छ । घटनास्थलबाट करिब सय मिटरको दूरीमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय छन् । शव सोमबार नै पोस्टमार्टमका लागि धरान पठाएको प्रहरीले जनाएको छ । पक्राउ बानियाँलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको छ ।
यसरी भयो हत्या
पत्रकार सम्मेलनमा प्रहरीले घटनाको पूर्ण जानकारी दिएको छैन । ‘सबै कुरा अनुसन्धान क्रममा छ,’ एसपी श्रेष्ठले पत्रकार भने । धनकुटाको होलीखर्क–५, घर भएका असई बानियाँको दरबन्दी माइजोगमाई गाउँपालिकास्थित नामसालिङ प्रहरी चौकीमा छ । तर, २ वर्षयता उनी अदालतमा कार्यरत थिए ।

प्रहरीका अनुसार पराजुली पाँच वर्षदेखि अदालतमा काम गर्दै आएकी थिइन् । प्रहरीका अनुसार बानियाँ र पराजुलीको ‘सम्बन्ध’ थियो । ‘पराजुली र बानियाँबीच लामो समयदेखिको सम्बन्ध देखियो,’ एसपी श्रेष्ठले भने, ‘आइतबार साँझ चाहिँ महिलाले मोटो रकम बानियाँसँग मागेपछि हत्याको अवस्था आएको बयान आरोपीले दिएका छन् ।’
प्रहरीका अनुसार आइतबार साँझ कार्यालय सहयोगी महिला कार्यालयबाट निस्केर पछाडिपट्टि रहेको तरकारी बारीमा गइन् । साँझमा निवासभित्र रहेकी पराजुली भएको स्थानमा पछाडिपट्टिको कम्पाउण्ड वालबाट बानियाँ छिरेको पाइएको छ । त्यसपछि रकम लेनदेनको विषयमा झगडा भएपछि आफूले घाँटी थिचेर महिलाको हत्या गरी घिसारेर बाहिर लगी शव फ्याँकेको बयान आरोपीले दिएका छन् ।
‘महिलाले लगाएको २ तोलाको सिक्री आरोपी पुरुषकै कोठामा फेला परेको छ,’ एसपी श्रेष्ठले भने, ‘डग स्न्यापिङले पनि यस्तै संकेत गरेको छ ।’ आरोपीले आइतबार साँझ नै महिलाको हत्या गरी मुख्य न्यायाधीशको निवासभित्रै शव छाडेको, घटनापछि पुनः फर्केर आई मृत्यु भए /नभएको यकिन गरेर खुट्टामा घिसारेर बाहिर पु¥याएको अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ ।
‘महिलाले नै निवासमा पसेर पुरुषलाई बोलाएपछि उनी आएको देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘त्यहाँ आएपछि महिलाले पैसा मागेको र नदिए बलात्कारको आरोपमा प्रहरीलाई खबर गर्छु भनेपछि पुरुष तनावमा आएर हत्या गरेको बयान छ ।’ हत्या गरिएकी महिलाका एक छोरा, एक छोरी र पति छन् । आरोपी बानियाँ परिवारसँगै इलाममा बस्छन् ।




















