धनगढी, १३ साउन । आफूलाई तेज स्मरण शक्तिको ‘मेमोरी किङ’ दावी गर्दै चर्चा बटुलेका युवा विजय शाही कालिकोटस्थित घरमै सकुशल भेटिएका छन् ।
उनको मृत्यूको खबरसहित शंकास्पद फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटले खोजी गर्दा शाही घरमै सकुशल भेटिएका हुन् ।
उनको गाउँमा सम्पर्क गर्दा विजय घरमै भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले जानकारी दिएका छन् । कालिकोटस्थित एक पत्रकार विष्ण न्यौपानेले पनि शाही सकुशल रहेको बताएका छन् । उनी कालिकोटको महावै गाउँपालिकास्थित आफ्नै घरमा रहेका न्यौपानेले बताए ।
प्रहरीका अनुसार शाही मंगलबार दिउँसो विरामी भएर बेहोस भएका थिए । उनको उपचारका लागि परिवारले अस्पताल लैजाँदै गर्दा बाटोमा होस खुलेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई बाटोबाटै घर फर्काएका थिए । अहिले उनी आफ्नो घरमा नै आराम गरिरहेका डिएसपी शाहीले बताएका छन् । पत्रकार न्यौपानेले पनि शाही जीवितै रहेकाले अफवाह नफैल्याउन आग्रह गरेका छन् ।




















