काठमाडौं,१४ साउन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले एकतावद्ध भइसकेपछि अरु वामपन्थी पार्टीसँग एकता हुने बताएका छन् । एमाले मिलिसकेपछि आगामी चुनावसम्म एमाले र माओवादीका बीचमा एकता हुन सक्ने ज्ञवालीको विश्वास छ । रातोपाटीसँगको भिडियो अन्तरवार्तामा हामीले ज्ञवालीलाई सोध्यौं –एमालेसँग विगतमा एक भएको माओवादी अहिले काँग्रेससँग गएको छ । आगामी चुनावसम्म फेरि माओवादीसँग एकताको सम्भावना कति छ ?
जवाफमा एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘संसारमा असम्भव भन्ने कुनै चिज छैन । बाटो एउटै, उद्देश्य एउटै भएपछि तपाई अलग पार्टी र चुलाचौका गरेर किन बस्नुहुन्छ ? परिस्थितिले मिलाउनेतिर लान्छ । चुनावमा प्रतिस्पर्धा हुन्छ भने फेरि वामपन्थीहरु किन मिलेर जान सकिँदैन ? त्यो सम्भावना देख्छु ।’
एमाले एक हुँदा अरु पार्टीले डराउन आवश्यक नरहेको ज्ञवालीले बताए । उनले भने, ‘नेकपा एमाले एकतावद्ध भयो भने अरु पार्टीहरू डराउनुपर्ने आवश्यकता छैन । नेपाली काँग्रेसलाई म के भन्छु भने वामपन्थी पार्टीहरू आफ्नै कमजोरीले फुटिरहेका छन्, अनि योभन्दा बढी एमाले पनि फुट्नैपर्छ भनेर तपाईहरु नठान्नोस् ।’
माधव नेपाल समूहका नेता ज्ञवालीसँग हामीले एमाले विवादको अन्तर्यमा प्रवेश गरेर लामो कुराकानी गरेका छौं । एमाले विवादको मिलनबिन्दु के हो र आगामी महाधिवेशनमा को अध्यक्ष बन्ला भन्ने प्रश्नमा समेत हामीले ज्ञवालीको विश्लेषण सुन्यौं । आगामी महाधिवेशनमा केपी ओली र माधव नेपालकै बीचमा पनि प्रतिस्पर्धा हुने सम्भावनालाई ज्ञवालीले अस्वीकार गरेनन् । प्रस्तुत छ, एमाले नेता ज्ञवालीसँग रातोपाटीले गरेको भिडियो वार्ताको सम्पादित अंश :
पूरा अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस् :



















