सप्तरी, १८ साउन । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट फेला परेको छ ।चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ७:०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

मन्दिरबाट भगवतीको मुकुट चोरी भएपछि खोज तलासका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरिएको मुकुट भारत लैजान नपाउन भनेर प्रहरीले सप्तरीका भारत प्रवेश गर्ने नाका गए रातिदेखि नै बन्द गरेको थियो ।