कविता

✍️ प्रेमलकुमार खनाल

देशको सीमा मिचिएको बेला
गैरनेपालीको आगमनले
देशको जनसंख्यामा अतिक्रमण बढ्दै गएको बेला
विकास र सहयोगका नाममा
राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने
एमसीसी र आइपीसका गतिविधि हुन नदिन
राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउने
राष्ट्रियताको पहरेदार गर्ने
मलाई विचारको संगठन चाहिएको छ ।

सीपसहित फलदायीको रोजगारीका लागि
संघर्ष गर्न बाटो देखाउने
मलाई विचारको संगठन चाहिएको छ ।

लोकतन्त्रका नाममा सर्वसत्तावाद लाद्ने
ब्यक्तिबाद र अहंकारी प्रवृत्तिविरुद्ध
वैचारिक संघर्ष गर्न बाटो देखाउने
मलाई विचारको संगठन चाहिएको छ ।

लक्ष्य कता हो ?
थाहा पाउने, बाटो देखाउने
र, यात्रा गर्न अगुवाइ गर्ने
कुशल नेतृत्व भएको
मलाई विचारको संगठन चाहिएको छ ।

सबै खाले अवसरवाद
आत्मकेन्द्रीत सोचको अन्त्य गरी
सामुहिक हितका लागि
निरन्तर संघर्ष गर्न बाटो देखाउने
मलाई विचारको संगठन चाहिएको छ ।