✍️  राधाकृष्ण देउजा

एउटा अलग विम्ब र चित्र सहितको परिचय विद्धमान भएको बेला कार्यकर्ताले गरेको विश्वास, ‘केहि प्राविधिक समस्या बाट मिलेको फाइदा र केहि ब्ल्यांक भोट परेकोले रद्द भएको मतको समिश्रणमा नेकपा एमालेको अध्यक्ष बन्नु भएका केपी ओलीमा रहेको दम्भ, सर्वसत्तावाद र अधिनायकवादको चपेटामा परेर नेकपा एमाले विगठनको अवस्थामा पुगेको छ ।

आज केपी ओलीको वोली अर्थात एमालेको निर्णय भन्ने मान्नेहरु, संविधान र लोकतन्त्र विरोधी प्रतिगामी ओली कदम सहि भन्नेहरु एमालेमा छन भने कोहि व्यक्तिको बोलि पार्टी निर्णय हुन सक्दैन र हुनुहुदैन भन्नेहरु , कोहि व्यक्तिको लहडमा लोकतन्त्र र संविधानको मर्ममा प्रहार गर्न हुदैन भन्नेहरु अनि राजनीतिलाइ कमाउ धन्दा हैन जनताको सेवाको माध्यम बनाउन पर्छ भन्नेहरु चाहिं केपी ओलीको अधिनायकीले ग्रस्त एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टीमा गोलवन्द भएका छन ।

11698706_10204670129819876_2791559193839376228_n (2)

✍️ लेखक : राधाकृष्ण देउजा

समग्रमा भन्दा राजनीतिमा एउटा अध्यायको समाप्ति भएर एउटा नया अध्यायको आरम्भ भएको छ । अव एमाले एकता यसो एमाले एकता त्यसो भन्नु पर्ने वा सुन्नु पर्ने दिन सकिएको छ । हुन त कतिपय संचार माध्यमहरुले आज मात्रै पनि एमाले एकताको निम्ती त्यस पार्टीका अध्यक्ष र अन्य नेताहरुको विचमा छलफल भएको भन्दै समाचारहरु छापेका छन । भलै एमाले पार्टी संग सम्वन्धित त्यो समाचारहरुको खासै अर्थ छैन किनकि अहिले रहेको एमाले एकतावद्ध नै छ । अव कथित एकताको जे जस्ता गफ गरेर , जतिसुकै वा जस्तोसुकै बुँदे नया सहमति वा भएको कथित दस बुँदे सहमति कार्यान्वयन गर्ने भनिए पनि अव बाँकी रहेको एमालेमा केपी ओलीको बोलि नै निर्णय हुने हो ।

अव त्याहाँ रहेका वा त्यहाँ मिसिने कोहि कसैको पनि निर्णय प्रक्रियामा कुनै अँश नहुने कुरा त समयक्रममा प्रमाणित हुने नै छ । तर अहिलेलाइ केपी ओली सर्वेसर्वा रहेको एमालेमा रहने सबैलाइ कमसेकम आत्मसम्मान जोगाउन सफलता मिलोस भन्ने शुभकामना दिनु नै उचित हुन्छ । तर वर्तमानमा एमाले रहेकाहरु मध्य कतिपयको गौरवपूर्ण विगत छ , त्यसको सम्मान र संरक्षण हुनसक्दा चाहिं सम्वन्धित नेताहरुको मात्रै नभएर समग्र आन्दोलनको हित हुने थियो भन्ने लाग्नु अनुचित पक्कै हुदैन । त्यही आधारमा भन्नु पर्दा हिजो नेकपा एमाले एकै रहेको समयमा विधि पद्दति पक्ष र विपक्षमा चलेको संघर्षको निदानको लागि गठित कार्यदलमा विधि पद्दतिको पक्षधरहरुको तर्फ बाट रहनु भएका भिम रावल , सुरेन्द्र पाण्डे , घनश्याम भुषाल , गोकर्ण विष्ट रघुजी पन्त सहितका नेताहरुले आफ्ना विगत मान्यतको खिलाफमा गएर आज अनौठो ढंगले केपी ओलीको दम्भमा चल्ने एमालेमै रहने निष्कर्ष निकालेको हो कि जस्तो देख्दा धेरैलाइ अनौठो लागेको छ ।

तर लामो इतिहास भएको , पार्टी निर्माण देखि विकाससम्म अग्रणी भूमिका खेलेका नेताहरुलाइ पार्टी एकतावद्ध रहोस भन्ने चाहना हुनु सम्म त ठिकै मान्न सकिएला तर आफु जे लक्ष्य उद्धष्यको खातिर राजनीतिमा लागिएको हो त्यसैलाइ दाउमा लगाउनु चाहिं उचित भएन कि भन्ने लाग्छ । नलागोस पनि किन केपी ओलीको असंवैधानिक , अलोकतान्त्रिक कदमको विरुद्ध राजनीतिक आन्दोलन देखि संवैधानिक लडाईसम्मको नेतृत्व गर्दै आउनु भएका भिम रावल लगायतका नेताहरुले अलोकतान्त्रिक असंवैधानिक रुपमा गरिएको संसद विगठनलाइ महान काम भन्ने केपी ओली र वहाँका आसेपासेसंग के कसरि सहकार्य गर्नु होला ?

के कति आधारमा २०७५ जेठ २ सम्म एमाले विरोधी रहेकाहरु राम बाहादुर थापा र टोप बहादुर रायमाझीहरुलाइ एमालेको नवौं महाधिवेशन बाट निर्वाचित कमिटिकै वा सो भन्दा माथी मानेको कसरि हेर्नु होला ? यी र यस्तै सवालहरु हाम्रो मनमा छन भने अरु धेरैको मनमा पनि छन । वहाँहरुको इतिहास र त्यसको जगमा बनेको व्यक्तित्वको सम्मानले हामिले त यस्ता सवला मनमै राखौंला पनि तर जनताले त जरुर सोधिरहने छन । अनि जनता टालटुले र प्राविधिक उत्तरले चित्त बुझाउने वाला छैनन ।

अलोकतान्त्रिक , असंवैधानिक र प्रतिगामी ओली कदमको साक्षि बसेर धरातल गुमाएको एमाले त अलिक समय जोगिएला तर ओली कर्तुतको कारण एमाले समाप्त हुँदै गर्दा यहाँहरुको परिचय गुम हुनेछ । आशा गरौँ त्यस्तो नहोस , वहाँहरुले आफ्नो विगत देखि वर्तमानसम्मको कदर गर्दै भविष्य पनि उज्यालो हुने ढंगको निर्णय लिनु हुनेछ । अहिलेलाइ धृष्टता गरेर नै भए पनि यति जरुर सोधौं होला “ कमरेडहरु प्रतिगमनलाइ सहि मान्दा छायाँले पनि तर्साउला की ?”