प्रहरीले अवैध युरोसहित त्रिभुवन विमानस्थलबाट पाँच नेपाली युवा–युवतीलाई पक्राउ गरेको छ।
कामदार भिसामा साइप्रस जान लागेका पाँच युवायुवतीसँग अवैध युरो १२ हजार ३ सय भेटिएपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–१० का २९ वर्षीय सन्तबहादुर तामाङ, रसुवा पार्वतीकुण्ड गाँउपालिका–४ कि २६ वर्षीया शोभा घले , सिन्धुली कमलामाई नगरपालिका–१० कि क्रिष्टिना मगर, नवलपरासी हुप्सेकोट गाँउपालिका–३ बस्ने २६ वर्षीय रिसिप फाल र सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका–१ बस्ने २३ वर्षीया लाक्पा डोल्मा शेर्पा रहेका छन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा तामाङका साथबाट ३ हजार ५ सय, घलेका साथबाट २ हजार २ सय, मगरको साथबाट १ हजार ५ सय, फालको साथबाट ३ हजार ६ सय र लाक्पा डोल्मा शेर्पाको साथबाट १ हजार ५ सय युरो फेला परेको र उक्त रकमको सेत नखुलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनालाई रकमसहित आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले रोजगार भिसामा साइप्रस जान लागेका उनीहरूका साथबाट रकम फेला परेको बताए।
उनले बिहीबार साँझमात्र प्रहरीले विभागमा बुझाएको बताए।
‘प्रहरीले राति मात्र बुझाउन ल्याए, कामदारका रूपमा जान लागेको भन्ने बुझेको छु’, महानिर्देशक मैनालीले ‘हामी थप अनुसन्धान गर्नेछौं।’


