काठमाडौं,१० चैत । कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन्। एक नावालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार शाह जेल चलान भएका हुन । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई बिहिबार जेल चलान गर्ने आदेश दिएको हो।
बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो। यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ। नवलपुरको घटनामा भने थुनछेक बहस हुनै बाँकी छ।
यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख धरौटी मागेको छ। जोशीले बलात्कार भएको थाहा पाउँदासमेत मिलाउन खोजेको भन्दै मतियार बनाएर मुद्दा दायर गरिएको थियो। तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग १ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ।
दुवै घटनाको पीडित एउटै नावालिग थिइन्। १६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म र मतियारको भूमिका निभाएको भन्दै जोशीलाई शाहको आधा सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो।




















