✍️ आचार्य अमृत 

दु:खको पोखरीभित्र पसेर सुख खोज्नु छ
आँसु भित्र लुकाएर हाँसो बाहिर जोख्नु छ ।
आफ्नो पीडा अरूलाई बखानी हुन्न क्यै भलो
यति मात्रै बुझे बन्दै जान्छ जीवन स्वादिलो ।।

संसार हुन्न पेवा यो कसैको पनि आखिर
यति बुझ्न नसक्नाले बन्यो मानिस दुच्छर ।
चाहे भौतिकवादी होस् वस्तु संसारमा छुने
चाहे अध्यात्मवादी होस् कल्पनामा रमाउने ।।

अजम्बरी कुनै हुन्न मूल मन्त्र यही न हो
उमेर ढल्कँदै जाँदा मात्र आउँछ चेत यो ।
बलबर्गतले युक्त हुँदासम्म यतातिर
सोच्नै सक्तैन मान्छेले पर्छ ऊ सामुका भर ।।

शरीर झोलिँदै जाँदा के कसो हो भनीकन
यसो बुझ्न भनी गर्न थाल्छ खोजी जसै जन -
तर केही नपुग्दैमा उसको म्याद पुग्दछ
यस्तै चाल चली मान्छे शून्यमा मिल्न पुग्दछ ।।

काल चक्र बनी घुम्छ ऋतु वर्ष हुँदै हुँदै
नजानिँदो गरी सारा सृष्टिशक्ति गलाउँदै ।
त्यही चक्र घुमी आयो फेरि आज रमाउँदै
रुन्चेहाँसो दबाएर म आएँ मुस्कुराउँदै ।।

मेरा जो जो हुनन् साथी साँचो आत्मीयता दिने
मेरा निम्ति सधैँ आफ्नो ऊर्जा खर्चन तम्सिने ।
वा बाहिर घसी तेल भित्र अर्कै कुरा हुने
जो जो हुन् सबमा मेरो छ शुभेच्छा खुसी दिने ।।

१ वैशाख २०७९ बिहीबार सुन्दरहरैँचा नपा- १२, मोरङ ।