मोरङ,२१ असार । जिल्ला प्रहरी कार्यालय मोरङले गुन्डागर्दी नियन्त्रण गर्नका लागि विशेष ‘अप्रेशन’ सञ्चालन गरेको छ ।

लागुऔषध सेवन गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई धम्क्याउने, महिला तथा बालबालिकामाथि दुव्र्यवहारको प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोसँगै प्रहरीले कारबाही सुरु गरेको हो । प्रहरीले विशेष ‘अप्रेशन’ चलाएर मोरङको मिक्लाजुङबाट गुन्डागर्दीमा संलग्न १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मिक्लाजुङ–९ बाट २० वर्षीय क्रितेश मगर, रमेश चौलागाईं, १९ वर्षीय आदित्य चौधरी, पुकार कार्की, कुनाल कटुवाल, विकास नेपाली, सरोज चौधरी, आयुष बोहोरा, १८ वर्षीय प्रदीप पौडेल, निमेष खड्का लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

गुन्डागर्दी गर्दै समाजमा आतङ्क फैल्याउने क्रम बढेसँगै नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत शनिबारबाट ‘अप्रेशन’ सुरु गरिएको हो । ‘लागुऔषध सेवन गर्दै गुन्डागर्दीका माध्यमबाट समाजमा आतङ्क फैल्याउने समूहविरुद्धको कारबाही तीव्र पारिएको छ,’ श्रेष्ठले भने, ‘गुन्डागर्दी नियन्त्रणका लागि प्रहरीलाई सबै पक्षको सहयोग आवश्यक छ ।’ उनले कुनै पनि ठाउँमा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु भएमा प्रहरीलाई तत्काल जानकारी गराउन पनि सबैमा अनुरोध गरेका छन् ।