चितवन,३२ असार । चितवनका एक पत्रकारमाथि कुटपिटमा संलग्न सात जना विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्यलार्ई केन्द्रका कर्मचारीले कुटेका थिए।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए। उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।

कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए। शनिबार बिहान चितवन जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमति भएको हो।

आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्।आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक, सञ्चारपत्र दैनिका प्रकाशक र राष्ट्रिय समाचार समितिका चितवन संवाददाता हुन्।