- मणिराम दाहाल
सुनसरी,७ साउन । इटहरी चोकको व्यस्त सडकमा स्मार्ट ट्राफिक लाइट जडान भएर संचालनमा आए पछि सवारी चालकलाई सुविधा हुनुका साथै इटहरीको आकर्षण समेत बढेको छ ।
इटहरीचोकमा स्मार्ट ट्राफिक लाइट जडान भए पछि दुर्घटनाको भय समेत कम हुने अपेक्षा गरिएको छ । पूर्वपश्चिम तथा उत्तरदक्षिण राजमार्गको केन्द्र विन्दु तथा बढी नै चहलपहल हुने व्यापारिक प्रतिष्ठान अन्तर्गत इटहरी पर्दछ । इटहरीमा सवारी साधन साथै पैदलयात्रीको चाप पनि बढी हुने गरेको छ ।

पछिल्लो समय इटहरीको व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट साथै सडकमा क्यामरा समेत जडान भएर संचालनमा आउँनु सकारात्मक पक्ष भएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले बताए। उनले प्रमुख शहरहरुमा सबै तिर स्मार्ट ट्राफिक लाइट जडान भएकोले यसबाट दुर्घटनाको भय कम हुने तथा इटहरीमा जडान गरिएको क्यामरा सहितको लाइटले विकासको गतिमा एक ईटा समेत थपेको उल्लेख गरे।

सडकमा स्मार्ट ट्राफिक लाइट जडानबाट इटहरीलाई प्रविधिसँग जोड्ने काम गरेको साथै इटहरीको ट्राफिक अस्तव्यस्तता र सडक दुर्घटना केही हद सम्म हट्ने विश्वास आफुले लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक बासुदेव खतिवडाले बताए । उनले इटहरी प्रदेश १ को महत्त्वपूर्ण शहर भएकोले सडकमा ट्राफिकलाई सहयोग पुर्याउँन जरुरी रहेको हुँदा व्यावस्थित ढंगबाट सवारी पास गरि जेब्रा क्रस पनि सडकमा निर्माण गरेर पैदलयात्रीलाई समेत सहज बनाएको जानकारी दिए ।
इटहरी चोकको स्मार्ट ट्राफिक लाइटको मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन् । प्रदेश नम्बर १ सरकारको सहयोगमा ट्राफिक लाइट निर्माण गरि सञ्चालनमा आएको हो । बेतना दैनिक पेजबाट




















