• भीमज्वाला राई

धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग सम्बन्धीत समस्यालाई लिएर त्यसका बचतकर्ता शेयर सदस्यहरुले आफ्ना शेयर लगानी फिर्ता हुनु पर्ने माग राख्दै केही महिनादेखि आन्दोलन गरिरहनु भएको छ ।

अहिलेको संवैधानिक व्यवस्था अनुसार यस प्रकारका विवादहरुमा प्रारम्भिक न्यायिक निरुपणको निकाय स्थानीय सरकार अर्थात धरान उपमहानगरपालिकाको हुने व्यवस्था छ । सबै थनीय तहमा जस्तै धरानमा पनि न्यायिक समिति छ । धरानको न्यायिक समितिले पनि समाधानको बाटो खोजेर पीडित पक्षहरुलाई न्याय दिने प्रयास प्रारम्भिक कालमा गरेको देखिन्छ । स्वयम् सहकारी संस्थाका सञ्चालकहरुले पनि आज विज्ञप्ती सार्वजनिक गर्दै यस समस्यालाई समाधानको प्रयास गरिरहेको जनाएको छ ।

यस समस्यालाई धरान उपमहानगरपालिका, सहकारी, पीडितहरु र स्थानीय राजनीतिक दलहरुकै संयुक्त पहलकदमीबाट मात्रै समाधान गर्न सकिन्छ । अभिभावकका नाताले पीडितहरुको आशा, अपेक्षा र विश्वास धरान उपमहानगरपालिका र नगरप्रमुखका हैसियतमा हर्क साम्पाङप्रति हुनु स्वभाविक हो । नगर प्रमुख हर्क साम्पाङले तिमीहरुले मलाई सोधेर सहकारीमा पैसा राख्न दिएका थियौ ? भन्ने जवाफले पीडितहरुलाई पीडा थपिएको देखिन्छ ।

पीडितहरुको कुनै राजनीतिक स्वार्थ हुँदैन, जातीय रंङ हुँदैन, धर्म हुँदैन । न्यायका लागि उनिहरुले विद्रोह ओकल्नसक्छ । हर्क साम्पाङको उदयपनि धरानमा त्यही प्रकृयाबाट भएको हो । तर नगरपालिका जाने सबै पीडितहरुलाई राजनीतिक दलका झोले देख्ने र राजनीतिक दलका भिजिलान्ते भन्ने नगर प्रमुख हर्क साम्पाङको सोचाईमा परिवर्तन आउनु पर्दछ । राजनीति र राजनीतिक दलहरुप्रति यतिविघ्न वितृष्णाराम्रो होईन
अभिभावक संयम् हुनु पर्दछ । अभिभावक अराजक र उत्तेजित भयो भने विग्रह ल्याउछ । अहिले धरानमा यही भईरहेको छ । नगर प्रमुख हर्क साम्पाङको आधिकारिक सामाजिक सञ्जालमा त्यही प्रकारको विद्धेष फैलाउने, नागरिकलाई उत्तेजित बनाउने, जातीय द्धेष फैलाउने कामहरु भईरहेको छ । अरुका नाममा अवैध आईडि सृजना गरेर गलत सामग्रीहरु पोष्ट गर्ने जस्ता कामहरु भईरहेकाछन् । मुलतः नेकपा एमालेप्रति लक्षित हर्क साम्पाङ र समुहबाट नियोजित आक्रमण भईरहेका छन् । यसखालका गलत गतिविधि नगरप्रमुख हर्क साम्पाङले तत्काल रोक्नु पर्छ ।

जातका कुरा उछालेर समाजको सद्भाव भत्काउने, विद्धेष फैलाउने, नेकपा एमाले र यसका नेता कार्यकर्ताहरुलाई बद्नाम गराउने काम कसैका लागि पनि उपयुक्त होईन
हर्क साम्पाङको लागि त झन उपयुक्त हुँदैहोईन ।