- भगवती अर्याल
विराटचोक — मोरङको सुन्दरहरैँचामा अवस्थित कृषि विकास बैंकको शाखा कार्यालय २१ वर्षपछि सुन्दरहरैंचा-९ मा रहेको आफ्नै भवनमा सार्ने तयारी गरिएको छ । द्वन्द्वकालिन समयमा माओवादी कार्यकर्ताबाट आगजनीबाट क्षति भएको बैक भवनको मर्मतकार्य पुरा भएपछि यहि जेठ २५ गते सार्ने तयारी गरिएको हो ।
विराटचोकमा रहेको भाडाको घरबाट आफ्नै भवनमा कार्यालय सार्ने तयारी गरिएको बैकका शाखा प्रवन्धक जयदेव ढकालले जानकारी दिए ।
साबिक इन्द्रपुर गाविस- ८ मा रहेको उक्त बैंकको कार्यालयमा २०६० साल भदौ ११ गते माओवादी कार्यकर्ताहरुले आगजनी गरेका थिए । आगजनीबाट भवनमा क्षतिको कारण र सुरक्षाको हिसावले सुनसरीको इटहरीमा कार्यालय सारेर सेवा ग्राहीलाई सेवा प्रदान गरिएको थियो ।
त्यसपछि माओवादी र सरकार बीच शान्ति सम्झौता भएको केही महिना पछि सुन्दरहरैँचा- १२ स्थित विराटचोकको एक भाडाको घरबाट कार्यालय संचालन गरिदै आएको थियो ।
उक्त भवन विभिन्न सुविधासहित मर्मत गरिएको बैकका कर्मचारी दिपेन्द्र लिम्बूले जानकारी दिए । करिव ५ कट्ठा जग्गा क्षेत्रफलमा रहेको बैकको दुई तले भवनमा ८ ओटा कोठाहरु रहेका छन् । बैकको आफनै सुविधा सम्पन्न भवनबाट कार्यालय संचालनपछि कर्मचारी र सेवाग्राहीलाई धेरै सुविधा हुने कर्मचारी लिम्बूले बाताए ।




















