हेटौडा,७ भदौ । हेटौंडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नविन सिग्देल मंगलबार आफ्नै कार्यकक्षमा कुटिएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष रहेका सानू लामाले वडाध्यक्षको कार्यकक्षमा नै कुटपिट गरेका हुन ।
सिग्देलले आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिग्देलमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाले घटनामा संलग्न व्यक्तिहरुको जानकारी दिन नमिल्ने उनले बताए ।
वडाअध्यक्ष सिग्देलले भने आफुमाथि नेकपा एमालेकै जिल्ला सदस्य सानु लामाले हातपात गरेको बताए । उनले भने, ‘जे भयो गलत भयो, यत्ति हो मेरो कुरा अहिले ।’ वडाअध्यक्ष सिग्देल नेकपा एमाले मकवानपुरका जिल्ला सचिव हुन् ।




















