सुनसरी,९ भदौ । पत्नी (श्रीमती)को हत्या गरेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका सुनसरीका एक युवा नेपाल फर्किएपछि पक्राउ परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका–४ का ३५ वर्षीय विनोदकुमार खत्वेलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ५ वर्षअघि अर्थात २०७४ साल जेठ ४ गते राति कुटपिट गरेर विनोदले पत्नी २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरेको खुलेको छ ।
कुटपिटबाट बेहोस भएको अवस्थामा उद्धार गरेर अनितालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका लागि पुर्याउनसाथ उनको मृत्यु भएको हो । तर विनोदले भने पत्नीले विष सेवन गरेको बताएका थिए ।
पोस्टमार्टम रिपोर्टबाट कुटपिटका कारण मृत्यु भएको पुष्टि भयो । फरार भएका कारण हत्यामा संलग्न विनोद पक्राउ परेनन् । लुकिछिपी वैदेशिक रोजगारीका लागि मलेसिया गएको पाइएको छ । मलेसियाबाट केहीदिनअघि मात्रै घर फर्किएका उनलाई प्रहरीले गत सोमबार साँझ पक्राउ गरेको हो । घटनाको ५ वर्षपछि पक्राउ गरेर विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी ढकालले दिए ।
उनका अनुसार घरयासी विवादमा विनोदले निर्घात कुटपिट गरेका कारण अनिताको मृत्यु भएको पाइएको छ । हत्याको प्रमाण जुटे पनि गाउँघरमा नभेटिएका कारण तत्काल उनी पक्राउ परेका थिएनन् । ‘पत्नीको हत्या गरेपछि कारबाहीबाट जोगिन लुकिछिपी वैदेशिक रोजगारीको बहानामा मलेसिया गएको पाइयो,’ एसपी ढकालले भने, ‘त्यसअघि पनि उनी मलेसिया पुगेर फर्किएको खुलेको छ ।’ पहिलोपटक मलेसियामा ३ वर्ष बसेर नेपाल फर्किएको प्रहरीले जनाएको छ ।
विनोद र अनिताबीच २०६५ सालमा प्रेम विवाह भएको थियो । उनीहरुका १ छोरा र २ छोरी छन् । प्रहरीका अनुसार बिहे गरेदेखि नै विनोद र उनका परिवारका सदस्यले अनितलाई शारीरिक तथा मानसिक यातना दिने गरेको खुलेको छ ।