- बिक्रम लुइँटेल
विनोद ढकाल झण्डै ४० वर्षदेखि विराटनगरको राजनीतिमा छन् । अनेरास्ववियूदेखि पार्टीको नेतृत्वसम्म पुग्दा उनी मोरङमा निर्विकल्प एमाले नेताका रुपमा स्थापित भएका छन् । भलै उनीभन्दा धेरै जना पदीय दायित्वले माथि छन् । विराटनगर नेपालको पुरानो सहर हो । यहाँबाट थुप्रै प्रधानमन्त्री र मन्त्रीहरु भएपनि विराटनगरले विकासमा कोल्टे फेर्न सकेन । सांसद र मन्त्री नभएका नेता छैनन् । एमालेबाट पनि कैयौं मन्त्री भए । काँग्रेसबाट अहिलेका स्थापित नेता डा. शेखर कोइराला बाहेक सबैजसो मन्त्री भइसके । हुँदाहुँदा माओवादीका नेताहरुपनि मन्त्री भइसके । निर्वाचन क्षेत्र विराटनगर आसपास भएपनि ती नेताहरुले विराटनगरको विकासमा कुनै योगदान दिएको देखिदैन ।
त्यसैले विराटनगर अहिले नेपालको सहरहरुमा पछिल्लो स्थानमा झर्दैछ । यी सबै विषयहरुलाई हेर्दा अब एकपल्ट विराटनगरले टेस्ट नगरेको नेताको रुपमा विनोद ढकाल मात्र छन् । आज विराटनगरका सबै समुदायले अप्ठ्यारो पर्दा ढकाललाई खोज्ने गर्छन् । एमालेका कैयौं कार्यक्रमहरु ढकाल बिना हुनै सक्दैनन् । गएको अधिवेशनमा मोरङमा सर्वसम्मत नेतृत्व चयन गर्न र अधिवेशन प्रतिनिधिहरु छनौट गर्न पनि उनको महत्वपूर्ण भूमिका रह्यो ।
पञ्चायती कालमा राजनीति सुरु गरेका ढकालले यहींबाट हरेक आन्दोलनको नेतृत्व गरे । एउटा समन्वयकारी नेताका रुपमा उनी स्थापित भए । तर, जनप्रतिनिधिका रुपमा उनी स्थापित छैनन् । र उनलाई जनताले टेस्ट गर्न पाएका छैनन् । उनी विराटनगरका हरेक विषयमा चासो राख्छन् र बजेटका लागि पनि पहल गर्छन् । तर उनी आफूले गरेको काम प्रचार गर्दैनन् । जसका कारण उनले गरेका कयौं जनमुखी काम ओझेलमा पर्ने गरेका छन् ।
विराटनगर टेकेर उपेन्द्र यादवदेखि अन्य मधेशवादी दलका नेताहरुले पनि चुनाव जिते । तर, ढकालले जितेनन् । यसपटक उनको नाम मोरङ क्षेत्र नम्बर ४ बाट एमालेले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । अरु पार्टीका नामहरु सिफारिसका चरणमा छन् । उनलाई सिंगो एमालेले एकमुख भएर सिफारिस गरेको छ । यसर्थ यसपटक उनी संघीय सांसदको उम्मेदवारको रुपमा खडा भएका छन् । विराटनगरसँग जोडिएका ग्रामथान, कटहरी र बेलबारीसहितको क्षेत्र उनको निर्वाचन क्षेत्र पर्छ । र विराटनगरले यसपटक उनलाई जिताएर उनको योग्यता, क्षमता हेर्नुपर्ने अवस्था छ ।
लामो समयको राजनीतिमा टेस्ट गर्न बाँकी रहेका ढकाललाई यसपटक टेस्ट गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यहाँको विकास र संमृद्धिलाई उनले जोड्न सक्छन् । किनकी विद्यार्थी राजनीतिका धेरै समकालीनहरु नेपालको कर्मचारीतन्त्रमा छन् । उनीहरुको सहयोग उनले धेरै लिनसक्छन् । त्यसमाथि धेरै राजनीतिज्ञहरुले उनलाई विश्वास पनि गर्छन् । यस अर्थमा उनको आवश्यकता देखिन्छ । त्यसैले एकपटक विनोद ढकालका नाममा आचारसंहिता लाग्नुभन्दा अगाडिको यो अपिल हो ।



















