पथरी ,१० असोज । पथरी शनिश्चरे नगरपालिका -२ स्थित लर्डबुद्ध बचत तथा सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न भएको छ।
संविधान सभाको सभा सदस्य समेत रहनुभएका संस्थाका शेयर सदस्य चण्डीप्रसाद राईले पानसमा बत्ती बालेर उक्त साधारण सभाको उद्घाटन गर्नुभएको थियो।

संस्थाका अध्यक्ष धनराज राई 'अमीर 'को अध्यक्षता तथा विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख दिलीपकुमार राई, वडा नं २ का वडाध्यक्ष नैना राई, वडा नं ३ का विजय लिम्बू , वडा नंं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत समेतको आतिथ्यतामा सम्पन्न भएको सभामा कोषाध्यक्ष दोर्णबहादुर खड्काले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७९/२०८० को प्रस्तावित बजेट समेत प्रस्तुत गर्नुभएको थियो।

सोही सभामा संस्थाका सचिव महेन्द्र ढुंगानाले प्रविधिको प्रयोग गरि डिजिटल पावर पोइन्ट मार्फत चालु आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण तथा आगामी आर्थिक वर्ष२०७९/०८० को प्रस्तावित वार्षिक कार्य योजना पेश गर्नुभएको थियो। उहाँले हाल संस्थाले १८ -१८ प्रकारका बचत तथा ऋण कार्यक्रमहरू संचालन भैरहेको जानकारी दिनुभयो।

हाल पथरी शनिश्चरे नगरपालिकाभरि मात्रै कार्यक्षेत्र रहेको लर्ड बुद्ध साकोसलाई उत्कृष्ट संस्थाको रूपमा स्थापित गराउने सिलसिलामा २ हजार ७ सय ५१ जना सेयर सदस्यहरूको विश्वासका कारण करिव २० करोडको वासलात भएको संस्थाको रूपमा विकास गरिएको भन्दै उहाँले यसै आर्थिक वर्षमा पथरी शनिश्चरे न.पा.. वडा नं.- ९ पुलचौकमा रहेको संस्करण साकोससँग एकीकरण गर्न सफल भएको बताउनु भयो। संस्थालाई नीतिगत रूपमा सञ्चालन गर्नु पर्छ भन्ने अभिप्रायले १६ वटा नीतिहरू र ५ वटा कार्यविधीहरू कार्यान्वयनमा ल्याईएको छ भने आवश्कता अनुसार अन्य नीति तथा कार्यविधिहरू तर्जुमा गरी लागू गरिने जनाउनुभयो ।
बुद्ध चोक चोकमा प्रधान कार्यालय रहेको यस सहकारी संस्थाले हाल आफ्ना ७० वर्ष माथिका ज्येष्ठ शेयरहरूलाई २०७४ सालदेखि मासिक ८ सय ५० का दरले आजीवन भत्ता ( पेन्सन) उपलब्ध गराउदै आएको उल्लेख गर्दै संस्थाबाट मनी ट्रान्सफर कारोबार , खुला रक्तदान कार्यक्रम, शेयर लाभांश वितरण, लगायतका विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो।
उक्त अवसरमा संस्थाका पूर्व संचालकद्वय अर्जुन जम्नेली राई , प्रतिमान राईलाई सम्मान गरिएको थियो। संस्थाको तर्फबाट उत्कृष्ट बचतकर्ताको पुरस्कार भद्रिका राईले प्राप्त गरिन् भने उत्कृष्ट ऋण कारोवारकर्ताको पुरस्कार प्रेम लाल लिम्बु र रिसव गिरीलाई प्रदान गरिएको थियो।
संस्थाले आफ्नो शेयर सदस्यहरुको सुविधाको लागि १५ दिन अगाडि नै ३ घण्टा १ मिनेटको २० औं वार्षिक साधारण सभाको बारेमा संक्षिप्त वार्षिक आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना समेत युट्युबमा प्रकाशित गरिएको संस्थाका व्यवस्थापक गणेश कुमार राईले जानकारी दिनुभयो।



















