बेलबारी,१८ असोज ।  मोरङको बेलबारी प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई चयन हुनुभएको छ । बेलबारी नगरपालिकामा भाषा, साहित्य, कला, सङ्गीत, नाटक, संस्कृति आदिको संरक्षण, संवद्र्धन र विकास गर्न / गराउन २०७९ असोज १५ गते शनिबार सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

नगरपालिकाको बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन–२०७८ को परिच्छेद २, धारा ३ (१) अनुसार बेलबारीकी साहित्यकार तथा साहित्यिक अभियन्ता राईको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति पनि सँगै गठन गरिएको छ । नगरपालिकाका प्रमुख दिलप्रसाद राई(डिपी)को अध्यक्षतामा साहित्य, कला, सङ्गीत क्षेत्रका सर्जक–स्रष्टाहरूको भेला गरी उक्त तदर्थ समिति गठन गरिएको थियो ।

IMG-20221004-WA0006 (1)तदर्थ समितिकी संयोजक रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा,नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य, नगर उपप्रमुख नितु थापा कोइरालाको विशिष्ट आतिथ्य, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाको आतिथ्यमा बसेको प्रथम बैठकले बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन–२०७८ को परिच्छेद २, धारा ५ (१)  अनुसार १० जना सदस्य थपेर कार्यविभाजन गरी प्रज्ञा समितिलाई पूर्णता दिइएको छ ।

नगर प्रमुख दिलप्रसाद राई प्रमुख संरक्षक, उपप्रमुख नितु थापा कोइराला संरक्षक रहेको उक्त समितिको अध्यक्षमा रेखा सुवेदी (राई), पाँच उपाध्यक्षमा धनजित पराजुली (भाषा / साहित्य),गणेश तामाङ लामा आँसु (ललितकला / साहित्य), हिमांशु राय (साहित्य), मनकुमार गुरुङ (सङ्गीत/संस्कृति) र अजितकुमार धिमाल (भाषा/अनुसन्धान), सचिवमा कुलप्रसाद बराल (साहित्य) र कोषाध्यक्षमा शेखर थापामगर (नृत्य/सङ्गीत) रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा टेकबहादुर मगर (साहित्य/सङ्गीत), उमा सिजापती (साहित्य), निर्मला गौतम (भाषा/साहित्य), उपेन्द्र राई (नृत्य/चलचित्र), राजु परियार (साहित्य), विकास बुढाथोकी (नाटक), सञ्जीव कटुवाल (साहित्य), प्रेम गुरुङ (साहित्य), लक्ष्मी रेग्मी सुवेदी (भाषा/साहित्य), मेखबहादुर कार्की (सङ्गीत/ललितकला), कलावती खवास (लोकनृत्य/अभिनय), महेन्द्र गिरी(साहित्य) र रिपुमर्दन खड्का (साहित्य) रहनु भएकोछ ।

सो अवसरमा नगर प्रमुख राईले बेलबारी नगरपालिकाको प्रथम प्रज्ञा समितिलाई बधाई तथा शुभकामना दिँदै यस समितिले बेलबारी नगरका भाषा, साहित्य, कला, सङ्गीतको खोज–अनुसन्धान गर्ने, लोकसंस्कृतिलाई पनि प्रकाशमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।